हवाई इन्धन महंगिँदा निजी वायुसेवा संकटमा, सरकारसँग मागे राहत

काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेसँगै सेवा सञ्चालन गर्न समस्या हुन थालेको बताएका छन् । वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै संकटमा सहुलियत दिनुपर्ने माग गरेका हुन् । संघका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार कोभिड–१९ पछि विस्तारै माथि उठेको पर्यटन क्षेत्र गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्व मा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्याधिक बढेको छ । एकातिर आन्तारिक तथा बाह्य पर्यटकको संख्यामा कमी अर्कोतिर अत्यधिक इन्धन मूल्यवृद्धिले व्यवसाय सञ्चालन गर्न धौधौ भएको अध्यक्ष पाण्डेले बताए ।  ‘इन्धनको मूल्यवृद्धिले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा आवश्यक सहुलियतको व्यवस्था मिलाइदिन हामीले सम्बन्धित सरोकारवालासँग माग गरेका हौं,’ उनले भने । संघका अनुसार वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलको हिस्सा ५५–६० प्रतिशत पुगेको छ । 

होटल संघ नेपाल र भारतीय पर्यटन व्यवसायीबीच २५ भन्दा बढी सेवा सम्झौता

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भारत गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको संघले जनाएको छ ।   संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा यही वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरू प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठकहरूको आयोजना गरिएको थियो ।  कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ । नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यवसायिक भेटघाट गरेका थिए ।  गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टूर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी । पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा शुक्रबारदेखि मार्ट सुरु भएको थियो ।      ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित १० बुँदे घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए । घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको उनले बताए । आगामी वर्ष पाँचौँ गाउँ पर्यटन मार्ट गोरखा नगरपालिकामा आयोजना गर्ने घोषणा गर्दै यस कार्यले ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । मार्टले देशभर सरोकार भएकाहरूबीच सशक्त नेटवर्किङ र सहकार्यको आधार निर्माण भएको र यसले गाउँ पर्यटनको दिगो विकासमा नयाँ ऊर्जा थपेको उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।       यस्तै, मार्टमा गण्डकी प्रदेशका ३० वटा होमस्टेहरूले आफ्नो विशेषता, संस्कृति र आतिथ्य प्रदर्शन गरी स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको र यसबाट होमस्टेहरूको पहिचान अझ सुदृढ भएको जनाइएको छ ।      प्रत्येक होमस्टेमा स्थानीय उत्पादन, हस्तकला र परिकारहरूको प्रवर्द्धनका लागि स्थानीय तहसँग सहकार्य गरेर ‘कोसेली घर’ स्थापना गर्न पहल गर्ने उल्लेख छ । यसैगरी प्रत्येक वर्ष आयोजना हुने मार्टमा ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कारको गरिने र यसबाट गुणस्तरीय सेवा र प्रतिस्पर्धात्मक विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।      'होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ । स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने छ', घोषणापत्रमा भनिएको छ ।      गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवर्द्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने घोषणापत्रमा उल्लेख छ । रासस