नेपाल एयरलाइन्सले पाइलटसहित ५ जनालाई बर्खास्त गर्दै
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाइलटसहित ५ जना कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि बिनाअनुमति कार्यालयमा अनुपस्थित रहेका कर्मचारीविरुद्ध निगमले कारबाही प्रक्रिया सुरु गरेको हो । निगम सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले लगातार लामो समयसम्म गैरहाजिर रहेका कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निगमले अन्तिम पटक स्पष्टीकरण पेश गर्न मौका दिएको हो । नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को विनियम ९३ (१) (क) अनुसार विदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई भविष्यमा निगमको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ । निगमको मानव संसाधन विभागले जारी गरेको सूचनाअनुसार बाटोको म्यादबाहेक सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे सेवाबाट हटाउने कारबाही अघि बढाइनेछ । कारबाही प्रक्रियामा परेका कर्मचारीमा प्रशासन अधिकृत उमेश कुमार साह, क्याप्टेन सञ्जय यांदे श्रेष्ठ, को-पाइलट विवेक प्याकुरेल, अटोमोबाइल इन्जिनियर सरोज कार्की र अटोमोबाइल इन्जिनियर विदित देवकोटा रहेका छन् ।
कुवेत एयरवेजले काठमाडौं उडान पुन : सुरु गर्ने
काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । मध्यपूर्व युद्धका कारण कुवेत–काठमाडौं रोकिएको उडान पुनः सुरु गर्न लागेको कुवेत एयरवेजले जनाएको छ । एयरवेजका अनुसार कुवेत–काठमाडौं–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्ने भएको छ । एयरवेजले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ ।
३२ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता
काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। ५५ वर्षीय कामिरिताले आज विहान १० बजेर १२ मिनेटमा सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान बनाएका शेर्पाले यसअघि कामिरिताले सन् २०२५ मा ३१ औं पटक सगरमाथा आरोहण गरेका थिए । उनी सन् १९९४ देखि निरन्तर रूपमा सगरमाथा आरोहणमा सक्रिय छन् ।