दुबई उडानबाट वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य
काठमाडौ, २० साउन । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । विसं २०४१ माघदेखि काठमाडौं–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौं–दुबई उडानबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए । उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौं चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ । रासस
वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै
काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ । दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ । उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ । जहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए । निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ । तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए । निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’
१५ सुत्रिय माग राख्दै पर्यटन श्रमिकहरु टानमा
काठमाडौं, १९ साउन । बढ्दो महंगी अनुसार हरेक दुई वर्षका पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, अखिल नेपाल क्रान्तीकारी पर्यटन मजदुर संघ गरि चार मजदुर संगठनले टानका अध्यक्ष चन्द्र रिजाल समक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र अनुसार श्रमिक संगठनहरुले निम्न बुँदाहरुलाई प्राथमिकताका साथ उठान गरेका छन् । १. पर्वतीय तथा पदयात्रा क्षेत्रका मजदुरको खाइ पाई आएको ज्याला र तलबमा २५ प्रतिशत वृद्धि गरिनुपर्ने । २. विगतको टान कार्यसमिति र श्रमिक युनियन बिच भएको सहमति अनुसार एक करोड पचास लाखको कल्याणकारि कोष स्थापना गरिनुपर्ने । ३. कम्पनीको नाम खुलाएर पर्यटन श्रमिकको स्थाइ÷अस्थाइ परिचयपत्रको ब्यवस्थापन गरिनुपर्ने । ४. श्रमिकको रोजीरोटी एवं बिदेशीको सुरक्षाका लागि कुनै पनि बिदेशी नागरिक ट्रेकिङ जाँदा अनिवार्यरुपमा श्रमिकको प्रतिनिधित्व गराईनुपर्ने । ५. श्रमिकको दुर्घटना बिमाबापत १५ लाख र मेडिकल बिमाबापत ७ लाखको व्यवस्था गराईनुपर्ने । ६. ट्रेकिङ मजदुरलाई चार्डपर्व खर्चबापत प्रतिव्यक्ति १० हजार प्रदान गर्ने व्यवस्था मिलाईनुपर्ने । ७. अनुभवी, दक्ष र अनुमतिपत्र प्राप्त गाइडलाई मात्र ट्रेकिङमा पठाइनुपर्ने । ८. माउण्टेन गाइडको सेवा सुबिधामा ४० प्रतिशत वृद्धि गरिनुपर्ने । श्रमिक संगठनहरुले २१ दिन भित्र आफ्ना जाहेज मागहरुलाई सम्बोधन नगरिए ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी समेत दिएका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष चन्द्र रिजालले टान बाट गर्न सकिने सबै माग पुरा गराउने प्रतिबद्धता व्यक्त गरे । मजदुरको कल्याणकारी कोष स्थापना गराउनुपर्नेतर्फ आफुले पनि विशेष ध्यान दिएको बताउँदै उनले श्रमिकहरुका बारेमा राज्यले सम्बोधन गर्नुपर्ने विषयहरुलाई पुरा गराउनेतर्फ पनि सहयोग गर्ने बताए ।