पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ उच्च जोखिममा
पाल्पा, ३२ साउन । बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ । एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ । धीरशम्शेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको विसं १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ । महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउछन्। भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् । “रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्ने छ । पहिरो पहिला झैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ” उनको अनुमान छ । सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्न सक्ने देखिन्छ । सडक विस्तारका क्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए । करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ । विश्वमै विरलै बहने उत्तर बाहिनी नदीका रुपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महत्व अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ । ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् । खड्गशम्शेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ । ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुनाको प्रस्तुत गर्छन् । दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् । तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् । युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताए । रासस
पर्यटकबाट ३५ करोड रुपैयाँ राजस्व उठ्यो
काठमाडौं, ३० साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आवमा स्वदेशी तथा विदेशी पर्यटकबाट ३५ करोड ११ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले दुई लाख ९६ हजार ४११ स्वदेशी तथा विदेशी पर्यटकबाट सो रकम सङ्कलन गरेको प्रवक्ता किशोरकुमार मेहताले जानकारी दिए। अघिल्लो आवमा पाँच लाख १७ हजार ९५ पर्यटक भित्रिएका थिए । भूकम्प र नाकाबन्दीका कारण नेपाल भित्रिने पर्यटक घटेसँगै त्यसको प्रत्यक्ष असर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा परेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज तथा सबैभन्दा कम कोसीटप्पु वन्यजन्तुु आरक्ष क्षेत्रमा पर्यटक भित्रिएका मेहताले बताए। चितवन राष्ट्रिय निकुञ्जमा ५६ हजार ७९९ पर्यटक तथा कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई विदेशी पर्यटक भित्रिएका थिए । यस्तै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा नेपालीसहित एक लाख ४७ हजार ९ पर्यटक भित्रिएका बताइएको छ । रासस
नेपाल एयरलाइन्सको ७ जहाजमार्फत अन्तरराष्ट्रिय उडान भर्ने लक्ष्य
काठमाडौं, २६ साउन। नेपाल वायुसेवा निगमले सन् २०२० सम्ममा ७ वटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ८ वटा जहाजमार्फत अन्तरराष्ट्रिय घोषणा गर्दै उनले डेढ वर्षभित्र दुइटा वाइड बडी जहाज खरिद गरिसक्ने दाबी गरेका छन्। निगमको दुबई उडान गर्ने औपचारिक घोषणा गर्दै कंसाकारले जहाज खदिर प्रक्रियामा सरकारले सहमति दिइसकेको जानकारी दिए। “हामीले १२ देखि १८ महिनामा २ वटा वाइड बडी जहाज खरिद गरिसक्छौं,” कंसाकारले भने । सन् २०२० सम्ममा ४ वटा नयाँ जहाज खरिद गरिसक्ने र हाल उडान भरिरहेका ३ वटा न्यारोबडी सहित ७ वटा जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्ने लक्ष्य रहेको उनले बताए । निगमले आगामी तीन वर्षभित्रमा २१ वटा अन्तरराष्ट्रिय र ३९ वटा आन्तरिक गन्तव्यमा उडान गर्ने लक्ष्यसमेत राखेको दाबी कंसाकारले गरे । हाल निगमले ३ वटा न्यारोबडी जहाजमार्फत ७ वटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । भने आन्तरिकतर्फ २६ वटा गन्तव्यमा उडान गरिरहेको छ । निगमले हाल नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, कतार, हङकङ र बैंकक उडान गरिरहेको छ । निगमले हाल बोइङ ७५७ जहाज र एयरबस ३२० गरी ३ जहाजमार्फत ७ गन्तव्यमा उडान गरिरहेको छ । निगमले दुई वाइड बडी खरिद गरेर उडान सुरु गरेको पहिलो वर्षमा १ सय मिलियन डलर आम्दानी हुने प्रक्षेपणसमेत गरेको छ भने दोस्रो वर्षमा १५८ मिलियन डलर आम्दानी हुने प्रक्षेपण निगमको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नेपालले भारतका २४ वटा गन्तव्यमा उडान गर्न सक्ने भए पनि हाल ३ वटा गन्तव्यमा मात्र उडान गरिरहेको छ । त्यस्तै नेपालले चीनका ६ वटा गन्तव्यमा उडान गर्न पाउने सम्झौता रहेकाले जहाज खरिद गर्ने र उडान गरेमा मात्र नेपालमा पर्यटक आगमनदर बढाउन सकिने दाबी कंसाकारले गरे ।