हिमालय एअरलाइन्सको ग्लोबल डिस्ट्रिव्यूटर पार्टनरमा अमेडियस
काठमाडौं, ११ साउन । हिमालय एअरलाइन्सले स्तरीय बुकिंङ सेवा प्रदान गर्नको लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक सँस्था हो । ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी दिनको लागि एअरलाइन्स्ले पहिलो पटक ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको हो । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित एअरलाइन्सले २०७३ जेठ १८ देखि कतारको दोहामा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बैंकक, हंगकंग र दामाममा पनि उडान गर्ने एयरलाइन्सको योजना रहेको छ । हिमालय एअरलाइन्स र अमेडियस बिच टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्बद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सिजहरुमा एअरलाइन्स्को टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो । सम्झौता बारे टिप्पणी गर्दै एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ, भन्छन्,“ हिमालय एअरलाइन्स भर्खरै मात्र आफ्नो यात्रा शुरु गर्दैछ र यसको उज्वल भविश्यलाई लिएर हामी सकारात्मक छौँ । हामी आफ्नो उडान र नेटवर्क विस्तार गर्दै एअरलाइन्सको विकास गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ । विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरीहार्य छ । हामी विश्वस्त छौँ कि अमेडियसलाई ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौँ । अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हुँदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौँ । ” अमेडियस एअरलाइन्स् एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेन, भन्छन् “ यस क्षेत्रमा एक नयाँ एअरलाइन्स्लाई आफ्नो पार्टनर बनाउन पउँदा हामी निकै उत्साहित छौ र यसको प्रगतिको कामना गर्दै हामी उनीहरुको सेवा लाई विश्वका यात्रुहरुमा पु¥याएर उनीहरु सँग कार्य गर्न निकै उत्साहित छौँ ।” अमेडियस सिस्टमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढि एअरलाइन्सको सूचिमा हिमालय एअरलाइन्स् पनि सामेल भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ५१ प्रतिशतले कमी
चितवन, ९ साउन । भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा गत वर्षभन्दा ५१ प्रतिशतले कमी आएको छ । गत आवमा ८७ हजार ३९१ पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका छन् । नेपाली पर्यटक ३० हजार ५९२, दक्षिण एसियाली मुलुकका ६ हजार ६०६ र अन्य मुलुकका ५० हजार १९३ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । अघिल्लो आव २०७१/७२ मा एक लाख ७८ हजार २५७ पर्यटक निकुञ्ज भित्रिएका थिए । अघिल्लो आवमा नेपाली ३५ हजार ९२९, दक्षिण एसियाली मुलुकका १४ हजार ६८९ र अन्य मुलुकका एक लाख २७ हजार ६३९ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७१/७२ मा भन्दा आव २०७२/७३ मा ९० हजार १६६ कम पर्यटक भित्रिएका निकुञ्जका रेञ्जर ऋषि ढकालले जानकारी दिए। पर्यटक घटेसँगै राजस्वमा समेत गिरावट आएको छ । गत आवमा रु ११ करोड ६७ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो भने अघिल्लो आवमा रु २४ करोड ६२ लाख ३७ हजार राजश्व सङ्कलन भएको थियो । पर्यटकले हात्ती चढ्ने, जिप सफारी, पैदल यात्रा, डुङ्गा यात्रालगायतबाट निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गर्ने गर्दछन् । यस्तै निकुञ्जको सुनाचुरी, खगेन्द्रमल्ली, सौराहा, घडगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी र खुजौलीबाट पर्यटकले निकुञ्ज प्रवेश गर्ने गरेका छन् । निकुञ्जमा हात्ती चढेर गैंडा, बाघलगायतका दुर्लभ जनावर हेर्न, सङ्कटापन्न घडीयाल गोहीको अवलोकन गर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । रासस
एक सातापछि खुल्यो जुफाल विमानस्थल
डोल्पा, ९ साउन । जुफाल विमानस्थल आजदेखि पुनःसञ्चालन भएको छ । एक हप्तादेखिको निरन्तर वर्षात्का कारण अवरुद्ध विमानस्थल आज मौसम सफा भएपछि एक सातापछि विमानस्थल खुलेको नागरिक उडड्यन प्राधिकरण डोल्पाले जनाएको छ । विमानस्थल सञ्चालन भएपछि सर्वसाधारण, पर्यटक, विद्यार्थी र बिरामीले यात्रा गर्न पाएकामा उनीहरुमा खुसियाली छाएको छ । आज तारा, गोमा, मकालु लगायत एअरलाइन्सले नेपालगन्जदेखि उडान भरेको उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल पुनःसंरचना भएपछि यहाँ दैनिक उपभोग्य सामानको समेत सहज आपूर्ति सुरु भएको छ । रासस