होटल संघ नेपाल र भारतीय पर्यटन व्यवसायीबीच २५ भन्दा बढी सेवा सम्झौता

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्न भारत गएको होटल संघ नेपाल (हान) को प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको संघले जनाएको छ ।
 
संघका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा यही वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष आकर्षक योजनाहरू प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठकहरूको आयोजना गरिएको थियो । 

कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ ।

नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँ दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीहरूले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यवसायिक भेटघाट गरेका थिए । 

गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालीको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधा प्रति भारतीय पर्यटकहरुको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टूर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।

Share News