पहरोमा खोपेर आकृति दिँदै अगाडि पार्क बनाइने
खोटाङ, ३१ असार । पर्यटन प्रवद्र्धनका लागि खोटाङको दोर्पाचिउरीडाँडा गाविस–६ छहरेमा ढुङ्गे पहरालाई कलात्मक स्वरुप दिने काम सुरु गरिएको छ । दायाँबायाँ र माथिदेखि तलसम्म समतल सतह रहेको विशाल ढुङ्गे भिरलाई खोपेर ‘किरात स्मृति पार्क’को नाममा कलात्मक आकृति दिने काम सुरु गरिएको हो । परापूर्वकालमा महादेवले टेकेको किंवदन्ती रहेको तथा किरात राईको ऐतिहासिक थलोका रुपमा रहेको चट्टानी पहरोलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न ढुङ्गा खोप्ने र कुँद्ने काम भइरहेको किरात स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश राईले बताए । “पहराको दायाँतर्फ सांस्कृतिक सामग्री र बायाँतर्फ राईको पाछाको नाम कुँद्ने काम भइरहेको छ,” अध्यक्ष राईले भने, “पहराको अगाडि ठूलो आकारमा किरात स्मृति पार्क बनाउने तयारी गरेका छौँ ।” किरात समुदायको ऐतिहासिक ठाउँको संरक्षण गर्दै पर्यटकीयस्थलको रुपमा विकासका लागि आव २०७२/०७३ मा गाविसको रु ५० हजार बजेटबाट पार्क निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अवधारणा र सीप भए ढुङ्गालाई पनि आकर्षक आकृति दिन सकिन्छ । त्यही आकृतिलाई देखाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । तर, गाउँघरमा यस्तो सम्भावनाको खोजी कमै भइरहेका छन् । यही अवधारणाअनुसार छहरेमा पहरा खोपेर पार्क निर्माणको काम थालिएको स्थानीय बताउँछन् । दुम्ली–दोवेला सडकखण्डमा पर्ने ढुङ्गे भित्ताको बायाँतर्फ दोर्पाचिउरीडाँडामा बसोबास गर्दैआएका किरात राईको पाछाको नामावली तथा दायाँतर्फ ढोल, झ्याम्टा, धनुषवाण, तिर, चुलो, चिन्डो, बुछालु, बिनायोलगायतका किरात संस्कार/संस्कृतिसम्बन्धी सामग्रीको आकृति कुँदिने अध्यक्ष राईले जानकारी दिए । बाँसको पाँच तले खट उभ्याएर गत फागुन २१ गतेदेखि पहरा खोप्ने काम भइरहेको छ । पहरोमा चाम्लिङको १९ पाछा, वान्तवाको तीन पाछा, साम्पाङको तीन पाछा र नाछिरिङको एक पाछाको नाम खोप्ने काम भइरहेको छ । विदेशमा काम गरेर फर्किएका युवाले उभ्याएको खटमा चढेर स्थानीय भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईले ढुङ्गामा आकृति र अक्षर कुँद्ने काम गरिरहेका छन् । क्रमानुगत योजनाकारुपमा रहेको पहरे पार्कमा अक्षर र चित्र कुँदेपछि रङ्गरोगन गरेर आकर्षक स्वरुप दिइनेछ । पहराको पुछारमा रहेको सानो ओढारको ढोकामा महादेव र पारुहाङको मूर्ति राखिने जनाइएको छ । पहरालाई पार्कको रुपमा विकास गर्न थालनी भएपछि हाल हङ्कङमा बसोबास गर्दैआएका स्थानीय आर्थिक सहयोग गर्न उत्सुक रहेको अध्यक्ष राईले जानकारी दिए । रासस
बायुसेवा निगमले १ अर्ब ५८ करोड ऋण तिर्यो, चार बर्षपछि दोहा उडान भर्दै
काठमाडौँ, ३० असार : नेपाल वायुसेवा निगमले दुईवटा जहाज खरिदबापत डेढ अर्ब रुपैयाँ ऋण चुक्ता गरको छ। निगमले दुईवटा एयरवसको १५६ सीट क्षमताका जहाज खरिद गर्न कर्मचारी संचय कोषबाट लिएको १० अर्ब ऋण मध्ये एक अर्ब ५८ करोड ६२ लाख रुपैयाँ बुझाएको हो। वायुसेवा निगमले दुई वटा एयर बस किन्न कर्मचारी संचय कोषबाट लिएको ऋणको सावाँ र व्याजबापतको यो रकम नियमले चुक्ता गरेको हो। निगमले आगामी १५ वर्षसम्मम हरेक तीनतीन महिनामा संचयकोषलाई ३२ करोड ३६ लाख १७ हजार चार सय २१ रुपैयाँ बुझाउने भएको छ। संचायकोषबाट लिएको ऋणको सावाँ र ब्याजमार्फतको रकम तोकिएकै समयमा नियमति रुपमा भुक्तानी गर्दै आएको पनि निगमले जानकारी दिएको छ। निगमले जहाज ल्याएर उडान गर्न थालेपिछ पहिलो तीन महिनामा २९ करोड १८ लाख रुपैयाँको पहिलो किस्ता तिरेको थियो। त्यसपछि भने हरके महिना तिर्ने शुल्क ३२ करोड ३६ लाख रहेको छ। वायुसेवा निगमले चार वर्षपछि संयुक्त अरब इमिरेट्स (युएई) को दुवई उडान भर्ने भएको छ। निगमले २०६९ साउनदेखि बन्द गरेको दुवाईको उडान आगामी भदौ २ गतेबाट पुनः सुचारु गर्ने भएको छ। निगमले हरेक मंगलबार, बिहीबार र आइतबार गरी सातामा तीन उडान गर्ने भएको छ। वायुसेवा निगमको जहाज अभाव भएर खुम्चिएको अन्तर्राष्ट्रिय उडान यात्रा एयरबसको दुई जहाज थपसँगै विस्तारै बढ्न थालेको छ। निगमले एयरबसबाटै दुवाई उडान गर्ने भएको छ। निगमले चीनमा पनि उडान गर्ने तयारी गरिरहेको छ।
भोजपुरका ४२ मध्ये आठवटा जलाधार क्षेत्र जोखिममा
भोजपुर, ३० असार। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, चिर्खुवा खोला, जरायोटार खोला, यांगुवा खोला, अखुवा खोला, खोङ खोला र खेसाङ खोला मुख्य जोखिममा रहेका जलाधार क्षेत्र हुन् । जलाधार क्षेत्रमा वर्षात्मा तीन सेमीदेखि १५ सेन्टिमिटरसम्म माटो बग्ने गरेको जिल्ला भूसंरक्षण अधिकृत सञ्जयकुमार मिश्रले बताए । हरेक वर्ष वर्षात्मा उर्बर भूमि बगेर जाने गरेका कारण बर्सेनि उत्पादनमा पनि कमी आइरहेको उनको भनाइ छ । गएको वर्ष आएको भूकम्पसँगै लगातार आइरहेको परकम्पका कारण चिरा परेको जमिनमा पानी पर्दा झनै जोखिम बढेको हो । भूकम्पले चिरा परेको जमिनमा पानी पस्दा भूक्षय जानेक्रम बढेको भूसंरक्षण अधिकृत मिश्रको थपे । यसैगरी, ४२ वटा जलाधार क्षेत्रमध्ये लाउरे खोला अति कम जोखिम र लसुने खोला दोस्रो अतिकम जोखिम रहेका जलाधार क्षेत्र हुन् । रासस