धनगढीमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव

धनगढी, ५ असार । धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र धनगढीको खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन् । शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्कएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव सुनाए । केवल पाटीपौवा बनाएर मात्र हुँदैन, पौडेलले भने –चाहिने सबै पूर्वाधार बनाउन जुट्नुपर्छ ।” कार्यक्रममा खप्तडको भ्रमण टोलीमा सहभागी वक्ताहरुले भावनात्मक रुपमा आन्तरिक पर्यटक खप्तड पुग्ने गरे पनि चाहिने सबै पूर्वाधार नजुटेका कारण विदेशी पर्यटक जान नसकिरहेको धारणा राखे। कैलाली उद्योग वाणिज्य सङ्घ र नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा)द्वारा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले खप्तड क्षेत्र गल्फ, योगालगायतका लागि पनि उपयुक्त क्षेत्र हुन सक्ने बताएका थिए । सरकारले खप्तड पर्यटन विकास समिति गठन गरेको भए पनि यो समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ । सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तडमा गङ्गा दशहराको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने गर्छ । रासस

होटल क्षेत्रमा लगानी बढेपनि पर्यटक नबढेकोमा हानको चिन्ता

काठमाडौं, ३२ जेठ । होटल संघ नेपालले होटल क्षेत्रमा लगानी बढेपछि विदेशी पर्यटकको संख्या नबढेकोमा चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीको टोलीले पर्यटन मन्त्री आनन्द पोखरेलसँग यस्तो गुनासो गरेको हो । भेटमा अध्यक्ष श्रेष्ठले वर्तमान परिस्थितिमा होटल उद्योगमा दिन प्रतिदिन लगानी बढेको भएपनि नेपाल भित्रिने पर्यटनको संख्यामा वृद्धि हुन नसकेको बताएका थिए । सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष पहल कदमी नगरेमा खरबौं लगानी जोखिममा पुग्ने उनले बताएका थिए । संघले आगामी जुलाई महिनामा चीनको राजधानी बेइजिङ तथा सांघाईमा नेपाल पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको पनि जानकारी गराएको थियो । भेटमा त्यस्तै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु खासै हुन नसकेको स्वीकार्दै होटल संघ नेपालले चीनमा आयोजना गर्न लागेको कार्यक्रममा सरकारले सहयोग गर्ने बताएका थिए । सो मेलाले नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सघाउने उनले विश्वास व्यक्त गरेका थिए । भेटमा संघका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव विनायक शाह, कार्यसमिति सदस्य प्रविन बहादुर पाण्डे र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

साहसिक पर्यटन गाईड तालिम सुरु

काठमाडौं, ३२ जेठ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टान केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै टानका महासचिव कर्ण लामाले नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुष गरी तालिम संचालन गरेको बताए । तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिनेछ । प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए । तालिम कार्यक्रममा लामो समय देखि साहसिक पर्यटन प्रशिक्षणमा संलग्न रहदै आएका डान मुर, गोडेन, जिन क्लाउड, सुसान र पेगीले प्रशिक्षण दिनेछन् । नेपालमा पहिलो चोटी गाईडहरुको क्षमता अभिवृद्धिको लागी अन्तराष्ट्रिय स्तरको तालिम आयोजना भएको सार्मथ्यका पर्यटन व्यवस्थापन सल्लाहकार प्रनिल उपाध्यायले बताए । विश्वमा पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशत रहेपनि नेपालमा जम्मा ९ प्रतिशत मात्रै रहेको तथ्याङक छ । पछिल्लो समय विश्वभर ६५ प्रतिशतका दरले साहसिक पर्यटनको व्यवसाय बढिरहेको तथ्याङक सार्वजनिक भएको छ ।