‘हात्ती’ जस्तै बने सौराहाका हात्ती
चितवन, १८ मंसिर । तत्कालिन नेकपा माओवादीले जनयुद्धको नाममा सुरु गरेको ससस्त्र विद्रोहको बेलामा राजतन्त्रलाई ‘सेतो हात्ती’को उपमा दिने गरिन्थ्यो । नेपालको सन्दर्भमा राजतन्त्र सेतो हात्ती भएको र राजा पाल्न नसकिने अवस्था भएको भन्दै तत्कालिन माओवादीका कार्यकर्ता गाउगाउमा गएर ‘सेतो हात्ती’ फाल्नु पर्ने बताउथे । नेपाली समाजमा अर्काे उपमा पनि चलेको छ । ‘श्रीमती पाल्नु, हात्ती पाल्नुभन्दा मंहगो’ हुन्छ भन्ने । श्रीमती पिडितहरुले चलाएको उपमा हुन सक्छ यो । यसको तात्पर्य हो, नेपालको सन्दर्भमा हात्ती पाल्न सहज भने छैन । तर चितवनका ब्यवसायीले यी सवै उपमा र मान्यता चिर्दै हात्ती पालेर दैनिक राम्रै गुजारा चलाइ रहेका थिए । पर्यटक घुमाएर आम्दानी गर्ने उद्देश्यले सौराहामा पालिएका हात्ती यतिबेला साच्चिकै ‘हात्ती पलाइ’ भएका छन् । पछिल्लो राजनीतिक अवस्था र असहज परिस्थितिको कारण पर्यटक आवागमन कम हुदा सौराहाका हात्तीहरु काम नपाएर फुर्सदिला बन्दै गएका छन् । र, हात्ती पालिरहेका ‘साहूहरु’लाई अहिले हात्ती पाल्दाको वास्तविक पिडाबोध भएको छ । अन्य वस्तुभाउ पाल्नुभन्दा हात्ती पाल्नु आफैमा खर्चिलो छ । सौराहामा पर्यटक बोक्नकै लागि ६२ वटा निजी हात्ती पालिएका छन् । नयाँ हात्ती किन्न अहिले एउटैको करिब ८० लाख रुपैयाँ पर्छ । सौराहाका एउटै होटलले एकदेखि तीन वटासम्म हात्ती पाल्दै आएका छन् । एउटा हात्तीलाई पाल्न मासिक एक लाख रुपैयाँको हाराहारी खर्च हुने गरेको व्यवसायीको भनाइ छ । राईनो लजका सञ्चालक विष्णुप्रसाद अर्याल एउटा हात्तीलाई दैनिक एक किलो सख्खर, पाँच पाथी धान, एक किलो चना, तीन क्विन्टल घाँस र १५ किलो पराल खुवाउनुपर्ने बताउछन् । हात्ती सञ्चालन गर्न र पाल्न दुई जना माउते चाहिन्छन् । जसका लागि प्रतिमाउते मासिक १० हजार रुपैयाँ तलब र खाजा खाना गरेर झण्डै ३० हजार रुपैयाँ खर्च हुन्छ । अहिले हात्तीले मासिक मुस्किलले ३० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने गरेको व्यवसायीको भनाइ छ । यी सबै खुवाएर पाल्दै गरेका हात्तीले मुस्किलले तीन दिनमा एक पटक मात्रै काम पाउने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई बताउछन् । गतवर्ष यतिबेला सौराहामा हात्ती नै चढ्नका लागि पर्यटकले तीन दिनसम्म कुर्ने गरेको ब्यवसायीहरुको भनाइ छ । ‘यसवर्ष तीन दिनमा एउटा हात्तीको पर्यटक बोक्ने पालो आउँछ, गत वर्ष एकै दिनमा हात्तीले बिहान र बेलुका गरेर चार पटक पर्यटक घुमाउने गर्दथे,’ भट्टराई भन्छन् । सौराहा घुम्न आउने पर्यटकलाई बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वन एवम् मृगकुञ्ज मध्यवर्ती वनमा घुमाउने गरिन्छ । हात्तीले कम्तीमा दुई घण्टा पर्यटकलाई घुमाउँछन् । महँगो मूल्यमा खरिद गरेका हात्ती र खर्चिलो पालन एकातर्फ हुनु, अर्काेतर्फ भूकम्पयता काम नपाउनुले व्यवसाय कष्टकर बनेको व्यवसायीको भनाइ छ । क्षेत्रीय होटल सङ्घका द्वितीय उपाध्यक्षसमेत रहेका भट्टराईले यतिबेला सौराहामा २० प्रतिशतको हाराहारीमा मात्रै पर्यटक आएको बताए । ठूलो संख्यामा आउने चिनियाँ पर्यटक यतिबेला खासै आएका छैनन् भने स्वदेशका स्कूल कलेजका विद्यार्थी पनि इन्धनको अभावले आएको पाइँदैन । हात्ती पाल्न यत्तिको कठिन कहिल्यै नभएको व्यवसायी बताउँछन् । एउटा हात्तीमा चार जना चढाएर जङ्गल घुमाइन्छ । हात्ती पाल्न कठिन हुँदै गर्दा होटल व्यवसायीले सरकारी तवरबाट घाँस काट्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेका छन् । उनीहरूले पुरानो पदमपुर क्षेत्रमा राम्रो घाँस पाइने हुँदा काट्ने व्यवस्था गरिदिए हात्ती पाल्न सहज हुने माग गर्दै आएका छन् । ‘यो संकटमा मध्यवर्ती र पुरानो पदमपुर क्षेत्रमा घाँस काट्ने अनुमति दिए हात्ती पाल्न सहज हुन्थ्यो,’ राईनो लजका सञ्चालक अर्यालले भने । बैंकको महंगो ब्यादमा खरिद गरिएका हात्तीको आम्दानी कम हुन थालेपछि ऋण कसरी तिर्ने चिन्ता पनि व्यवसायीमा छ ।
वायुसेवा निगमले माग्यो सरकारसँग २५ अर्ब ऋण, बेलायत-काठमाडौं सीधा उडान भर्ने योजना
काठमाडौं, १७ मंसिर । नेपाल वायु सेवा निगमले सरकारसँग सस्तो ब्याजदर हुने गरी २५ अर्ब रुपैयाँ ऋण दिन माग गरेको छ । निगमले २ ओटा नयाँ वाइड बढी जहाज खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि सरकारसँग ऋण मागेको हो । निगमले पूर्ववर्ति कोइराला सरकारकै पालामा सो ऋण माग गरेको थियो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले तत्कालिन अर्थमन्त्री डा. रामशरण महतसँग सरकारले नै ऋण दिन प्रश्ताव गरेका थिए । अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार तत्कालिन अर्थमन्त्री डा. महतले सरकारले संस्थानहरुलाई प्रत्यक्ष ऋण दिन मिल्ने नमिल्ने सम्बन्धमा मन्त्रालयको बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालसँग छलफल पनि गरेका थिए । ‘तत्कालिन अर्थमन्त्री र बजेट महाशाखा प्रमुख अर्यालका विचमा सरकारले संस्थानहरुलाई ऋण दिन मिल्ने नमिल्ने सन्दर्भमा छलफल पनि भएको थियो, अर्यालले मन्त्रिपरिषवाट निर्णय भएमा ऋण दिन मिल्ने बताएपछि अर्थमन्त्रीले प्रक्रिया अगाडि बढाउन र निगमको ब्यापारिक योजना पेश गर्न भन्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो । निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकार जमानी बसेर बैंक वित्तीय संस्थावाट ल्याएको ऋण महंगो पर्ने हुदा निगमको प्रतिस्पर्धी क्षमता कमजोर हुने र सरकारले विकास बजेट खर्च गर्न नसकिरहेको अवस्थामा त्यस्तो रकम निगमलाई ऋण दिदा पैसा पनि खर्च हुने र ब्याज पनि पाइने भन्दै यस्तो प्रश्ताव गरेका स्रोतको भनाइ छ । यसअघि सरकार जमानी बसेर कर्मचारी संचयकोषवाट १० अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । सो ऋणको ब्याज १० प्रतिशत छ । निगम ब्यवस्थापनले सरकारले ऋण दिने र त्यस्तो ऋणको ब्याज ७ देखि ८ प्रतिशत भएमा आफूहरुलाई सहज हुने प्रश्ताव अर्थमन्त्रालयमा गरेको छ । निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकारसँग २५ अर्ब रुपैयाँ ऋण माग गरेको पुष्टी गरे । ‘थप २ ओटा वाइड बढी खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि २५ अर्ब रुपैयाँ ऋण माग गरिएको हो, सरकारले ७ देखि ८ प्रतिशत ब्याजमा ऋण दिन्छ भने हामी ७ महिनाभित्रमा नयाँ जहाज खरिद गरेर बेलायत सीधा उडान सुरु गरिसक्छौं,’ प्रबन्ध निर्देशक कंसाकारले भने । निगमको अहिलेको तयारी अनुसार ऋण प्राप्त भएमा ७ महिनाभित्रमा २ ओटा वाइड बढी जहाज थपिने छन् । निगमले एयर बसका जहाज खरिद गर्ने योजना बनाएको छ । नयाँ जहाज थपिए पछि दैनिक कम्तीमा एउटा उडान काठमाडौवाट बेलायत गर्ने योजना निगमको छ । निगमको योजना अनुसार काम हुन सकेमा बेलायतवाट काठमाडौं आउने समयका साथै खर्च पनि आधा कम हुने दाबी गरिएको छ । अहिले युरोपवाट काठमाडौं सीधा उडान छैन । विभिन्न स्थानमा ट्रान्जिट हुने भएकोले समय बढी लाग्ने र खर्च पनि बढी हुने गरेको निगमका अधिकारीहरुको भनाइ छ ।
पर्यटनमन्त्रीको योजनाः चर्पी सफाइदेखि नयाँ विमान खरिदसम्म, पर्यटन बोर्डमा २१ दिनभित्रमा सिइओ नियुक्त गरिसक्ने
काठमाडौँ, १६ मङ्सिर । ‘काम गर्ने स्थानमा पुगेको २७ दिन भयो, सुरुको चरणमा सरसफाइलाई नै प्राथमिकता दिएको छु, त्यसमा पनि पहिलो शौचालय परेको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सुनाए । दोलखाली पत्रकार समाजले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पोखरेलले आफ्नो योजना यसरी सुनाए । बिहीबार मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयले गर्ने दुईवर्षे पर्यटन विकासको कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि उनले दिए । नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ । ‘विमानस्थल, पशुपति क्षेत्र विकास कोष अनि मेरो मन्त्रालयको चर्पी पनि सफा हुनुपर्छ, मन्त्रालयमा आइसकेपछि चर्पी सफा हुन्छ कि हुँदैन भनेर २० दिनसम्म हेरँे, पर्खेँ तर सफाइ भएन, त्यसपछि सोधेँ किन शौचालय सफा भएन,’ उनले पत्रकारलाई सुनाए । ‘आफूले सफाइ गर्न निर्देशन नदिएसम्म चर्पी सफा भएन, पहिला चर्पी गन्हाउँथ्यो तर अहिले अलि नगनाउने भएको छ, देशमा खुला दिसामुक्त गरेर मात्र पुग्दैन, प्रयोग गर्ने चर्पी पनि सफा हुनुपर्छ, सफाइ नै मानिसको सभ्यताको प्रतीक हो,’ मन्त्री पोखरेलले थपे । त्रिभुवन विमानस्थलको सरसफाइमा पनि विशेष जोड दिँदै यही मङ्सिर २२ गते विमानस्थलको हिजोको अवस्था र आजको अवस्थाका बारे सार्वजनिक गरिने र प्रत्येक हप्ता विमानस्थलको अनुगमन गरिने जानकारी पनि उनले दिए । विमानस्थलको विस्तारका लागि पाँच अर्ब रुपैयाँ चाहिने उनको अनुमान छ । ‘मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने हो भने हवाई सेवालाई बलियो बनाउनुपर्छ, देशसँग पर्याप्त हवाईजहाज भएको भए अहिलेको सङ्कट हुने थिएन, जहाँसुकैबाट तेल ल्याउन सकिन्थ्यो । छिमेकी एयरलाएन्ससँग आग्रह गर्दा तेल ल्याउन तयार भएनन्,’ मन्त्रीको गुनासो छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको काम तत्काल सुरु गर्नुपर्ने बताउँदै नागरिक उड्डयनमन्त्रीले प्रत्येक जिल्लाको संरचनालाई स्वीकार गरेका अवस्थामा ५७ जिल्लामा विमानस्थलको आवश्यकता रहेको धारणा राखे । गुम्बा व्यवस्थापन समिति, हज कमिटी र चलचित्र विकास बोर्ड पनि आफ्नो मन्त्रालय अन्तर्र्गत हुनुपर्ने विचार राख्दै उनले अबको २१ दिनमा नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पाउने दाबी गरे । पशुपतिको हरियालीका लागि २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको अनुमान छ । यस्तै पशुपतिको विकासको गुरुयोजनाका लागि दुई करोड रुपैयाँ माग गरिएको जानकारी मन्त्री पोखरेलले दिए । बृहत् लुम्बिनी गुरुयोजनाका लागि तीन करोड रुपैयाँ माग गरिएको जानकारी उनले दिए । ‘लुम्बिनी विकास कोषमा हडताल छ, कोषका कर्मचारी काठमाडौँमा सबैभन्दा राम्रो गाडी चढेका छन्, काठमाडौँमा ६० हजारको कोठा भाडामा लिएका छन्, पदाधिकारी कोही चितवन छन् । कोही कहाँ ? कार्यालयमा छैनन्,’ कर्मचारीप्रति असन्तुष्टी देखाउदै मन्त्री पोखरेलले भने । रासस