पर्यटक फर्कन थालेपछि खुम्बुक्षेत्र सुनसान

सोलुुखम्बु, १ पुस । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेपछि अहिले पर्यटकीयस्थल खुम्बुक्षेत्र सुनसान देखिन थालेको छ । चिसो बढेसंगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । मुख्य सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीलाई पर्यटकको चाप घट्न थालेपछि यतिखेर हलुङ्गो भएको कार्यालयका गणेश पन्तले बताए । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले खुम्बुक्षेत्रमा जाने पर्यटकलाई अपनाउनुपर्ने नियम र उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिइने गर्छन् । अहिले पर्यटकका लागि उपयुक्त मौसम छैन । उपयुक्त मौसम नभएकाले पर्यटकको आगमन अत्यन्त न्यून हुने गरेको कार्यालयले जनाएको छ । टे्किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायी सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरको अन्त्यसम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दसैँ अघिनै पर्यटक भरियाका लागि खुम्बु पुगेकाहरु समेत बाटोमा फर्कदैँ गरेको पाइन्छ । मौसम प्रतिकुलताका कारण अघिल्लो वर्षमा कतिपय पर्यटकको हवाई उडान रद्द हुँदा पर्यटन व्यवसायी प्रत्यक्ष रुपमा मारमा परेका थिए भने यसवर्ष मौसममा कुनै खराबी नआएपछि पर्यटकहरु सहजै फर्कन पाएका छन् । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि यहाँका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले काम गर्नेलाई होटल जिम्मा लगाएर आफू अन्यन्त्र हिँडेका छन् ।

हवाई भाडा ५४० देखि २४७५ रुपैयाँसम्म बढ्यो, पुस ४ गतेबाट लागू हुने

काठमाडौं ३०, मंसिर । आन्तरिक उडानका वायुसेवा कम्पनीले आगामी पुस ४ गते सोमबारबाट लागू हुने गरी हवाई भाडा बढाएका छन् । आन्तरिक वायुसेवाको भाडा ५४० रुपैयाँदेखि २४ सय ७५ रुपैयाँसम्मले बृद्धि भएको छ । वायुसेवा संचालक संघका अनुसार काठमाडौं विमानस्थललाई आधार मानेर तय गरिएको यस्तो भाडादर सबै वायुसेवा र विमानस्थलमा लागू हुने भएको छ । संघले काठमाडौं विमानस्थलाई आधार बनाएर एकतर्फ भाडादरको अधिकतम सीमा तय गरेको हो । यस्तो भाडादरलाई नर्मल अर्थात महंगो भाडादर भन्ने गरिएको संघको भनाइ छ । आन्तरिक वायुसेवाले हवाई भाडा र इन्धन शुल्क भनेर दुई प्रकारले यात्रुसँग लिने रकम हवाई भाडामा नै लिने गरेका छन् । इन्धनका मूल्य पाँच रुपैयाँसम्मले घटबढ हुँदा इन्धनको मूल्यकै अनुपातमा मूल्य समायोजन हुने गरेको छ । वायुसेवाले लिने हवाई भाडा भने विगत ६ वर्षदेखि नबढेकोले सरकारलेको अनुमतिले हवाई भाडा बृद्धि गरेको वायुसेवा संचालक संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलेश बर्माले जानकारी दिएका छन् उनका अनुसार २०६७ पुस २७ देखि वायुसेवा कम्पनीले हवाइ भाडा बढाएका थिएनन् । सरकारले हरेक २/२ वर्षमा बजारको महंगीको अनुपातमा हवाई भाडा बढाउन सहिने प्रावधान राखेको भएपनि यात्रुसँगको विश्वसनियताका लागि र वायुसेवा कम्पनीले सहुलियतमा उडान गराएका कारण भाडा बढेको थिएन् । हवाई इन्धनको मूल्य घटबढ हुँदा भने इन्धनकै शुल्क अनुसार भाडामै जोडेर शुल्क तलमाथि भने हुने गरेको वायुसेवा संचालक संघले दिएको छ । एक साता अगाडि मात्रै नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोले हवाई भाडा पनि घटेको थियो । अहिले सरकारले नै हवाई भाडा बढाउन दिएको अनुमति अनुसार सबै आन्तरिक वायुसेवाले सबै गन्तव्यमा भाडा बढाएका हुन । संघले बढाएको भाडादरमा काठमाडौंबाट तय हुने सबैभन्दा महंगो भाडादरमा नयाँ भाडादर तय गरिएको छ । बर्माका अनुसार संघले तय गरेको भाडादर अधिकतमसम्म भएकोले वायुसेवा कम्पनीले त्यसो भन्दा कममा नै सेवा दिने गरेका छन् । संघले काठमाडौं विमानस्थलमा आउने र जाने गरी एकतर्फी रुपमा तोकिएको यस्तो भाडादरबाहेक काठमाडौंबाट लुक्ला, मेघौली र पोखराबाट जोमसोम जाने भाडादर भने टुरिष्ट भाडादर भनेको छ । टुरिष्ट भाडादर भने डलरकै मूल्य अनुसार बढाइएको र यसलाई आगामी अक्टोबर १ तारेखबाट लागू गर्ने जानकारी दिएको छ । कुन क्षेत्रमा कति पुग्यो विमानस्थल                             पुरानो भाडादर    बढेको भाडा            नयाँ भाडादर काठमाडौं—विराटनगर             ५५५५                      १४४५                 ७००० काठमाडौं—भैरहवा                    ४८३०                     ९७०                   ५८०० काठमाडौं—नेपालगन्ज             ७३७५                       १९२०              ९३०० काठमाडौं—भद्रपुर                    ६८३०                      १६७०                 ८५०० काठमाडौं—धनगढी                  ९९९०                      २०१०                १२००० काठमाडौं—पोखरा                   ८१०                        ६९०                     ४५०० काठमाडौं—तुम्लिङटार            ४५१५                       ९८५                    ५५०० काठमाडौं—माउन्टेन                ८३२५                    २४७५                 १०८०० काठमाडौं—जनकपुर              ३२००                        ६००                  ३८०० काठमाडौं—सिमरा                २३०५                        ५४०                   २८४५ काठमाडौं—भरतपुर              २७२०                        ५८०                    ३३०० विराटनगर–तुम्लिङटार        २६७०                     ७४०                       ३४१० काठमाडौं–लुक्ला                 ३४७०                  १२४५                        ४७१५ काठमाडौं–मेघौंली                २९९५                 १०००                          ३७९५ पोखरा–जोमसोम                 २२२५                ५२०                            २७५० स्रोतः वायुसेवा संचालक संघ ।

तीन लाखमा किनेको दरबारमा अर्बको हेरिटेज होटल, राणाकालिन दरबार बन्यो ४४ कोठे आधुनिक होटल

नक्साल स्थित तोरणसम्सेरको दरबारमा रहेको माया मनोर होटल काठमाडौं ३०, मंसिर । नेपालको पुरानो ऐनिहासिक दरबार धमाधम होटल बन्न थालेका छन् । याकएण्ड यति होटल दरबार मासेरै होटल बनाइएको थियो भने अहिले अर्को दरबार मासेर होटल बनाइएको छ । होटल व्यवासायी तथा केजीएच ग्र्रुपले पुरानो इतिहासलाई सम्झाउने गरी तोरणसम्सेरको एक सय वर्ष भन्दा पुरानो दरबारलाई माया मनोर होटल बनाएको छ । ग्रुपका अध्यक्ष कर्ण शाक्यका अनुसार नक्सालमा रहेको तोरणसम्सेरको दरबारलाई तीन लाख रुपैयाँमा खरिद गरेर अर्बको होटल बनाइएको छ । शाक्यका अनुसार दरबारमा भएको यो हस्पिटालीटी सेवा उनको सपनाको होटल पनि हो । दरबारकै संरचनालाई होटल बनाउँन मात्रै १५ करोड रुपैयाँ खर्च गरेको भएको शाक्यले बताए । ‘तोरणसम्सेर राणाको दरबारलाई मैले १९७५ मा किने र अहिले त्यसेमा हेरिटेज होटल संचालन गर्न थाले’ शाक्यले भने । राणकालिन यो दरबार सन् १९३० राणाकालिन सदस्य नै बस्थे । १९६० मा चिनियाँ राजदूत बसेको यो भवन सन् १९७५ मा शाक्यले किनेका हुन । सन् २००० मा जिमी कार्टरले यसमा कार्टर सेन्टर खडा गरेका थिए । अहिले जयनेपाल हलबाट बाँया तर्फको नक्सालतर्फको यो ऐतिहासिक भवनमा शाक्यको माया मनोर नामक होटल संचालन छ । जम्मा ३ रोपनी क्षेत्रफल रहेको यो होटलको जग्गामा ऐतिहासिक सम्पदाको जगेर्ना गर्दै गुणस्तरीय होटल संचालन गरेको शाक्यको दाबी छ । यो होटलमा जम्मा ४४ वटा कोठा रहेको छ । होटलको कोठा भाडा पनि जम्मा ९० डलर लिने गरिएको उल्ले छ । यो होटललाई हेरिटेजसहितको बुटिक भनिएको छ । बुटिकको विशेषता भनेको सानो भएपनि आकर्षक र नेपाली पनाको हो । यसमा इतिहास झल्काइएको छ । बुटिक होटल बढीमा ५० देखि ६० कोठा सम्मको मात्रै हुन्छ । विशेष गरी कुनै एउटा क्षेत्र र सम्पदाको थिम बुटिक होटलले बोकेको हुन्छ । माया मनोर पनि ऐतिहासिक महत्व बोकेको पुरानो बुटीक होटल भएको शाक्यको भनाइ छ । मेरो होटल सबै फरक विशेषताका छन् ।  शाक्यका अन्य हाटेल पनि फरक फरक विशेषतामा संचालन भइरहेका छन् । उनको लुम्बिनीको बुद्धमाया होटल धर्मावलम्बी पर्यटनको लागि हो । विशेष गरी यो होटल बुद्धिष्ट पर्यटकको लागि हो । पोखराको वाटर फ्रन्ट लेक साइटको लागि, हिमाल हेर्नेका लागि हिमालयन फ्रन्ट हो भने कन्फ्रेन्सका लागि पार्क भिलेज होटल हो । काठमाडौं गेष्ट हाउस टे«कर्सको लागि भएको शाक्यको होटल संचालन समूह केजीएचले जानकारी दिएको छ ।