पर्यटन क्षेत्रको २५ अर्ब रूपैयाँ लगानी संकटमा
काठमाडौं । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको २५ अर्ब रुपैयाँको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएका थिए । सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ । तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको तीन अर्ब रूपैयाँ लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ । दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा मासिक ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताए । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ । मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान) का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको छ भने । उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पु¥याउने बताउनुभयो । बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”, श्रेष्ठले माग गरे । होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए । नेपालको पैदलमार्ग हँुदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ । बर्दियाको पर्यटन प्रभावित धम्बोझी– कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् । बर्दिया सदरमुकाम गुलरिया र पर्यटकीय केन्द्र ठाकुरद्वरामा सञ्चालित ठूला सुविधासम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताए । गुलरियामा विजया गेष्ट हाउस, होटल मिर्मिरे र होटल कृष्णसार तथा ठाकुरद्वारास्थित राष्ट्रिय निकुञ्जका क्षेत्रमा टाइगर टप, बर्दिया टाइगर रिसोर्ट, गैँडा क्याम्प, टाइगर रिसोर्टलगायत दर्जनौं होटल मर्कामा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताए । होटल बन्द हुँदा कामदार र कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न गाह्रो भएको उनले चिन्ता व्यक्त गरे । रासस
अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्मका लागि बन्द
काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएकाे छ । यसभन्दा अगाडि सरकराले आन्तरिक उडान बैशाख ३ गतेसम्मका लागि बन् द गर्ने निर्णय गरेकाे थियाे ।
नेपाल पर्वतारोहण संघले सरकारी काेषमा पाँच लाख सहयोग गर्ने
काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ । सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।