सिड्नी उड्यो नेपाल एयरलाइन्स, हिमालयले चीनबाट ल्यायाे स्वास्थ्य सामाग्री
काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो । निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ । यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो । रासस
पर्यटन मन्त्रलायले प्रस्तुत गर्ने बजेटको बारे सुझाव लिँदै मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका छन् । मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेर आज पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग र दोस्रो चरणमा प्रदेश नं १ का सांसदहरुसँग सुझाव लिएका थिए । भोली शुक्रबार चरण चरणमा प्रदेश नं २, वागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको नीजि सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिपक्ष दलका सांसदहरुकासँग पनि क्रमवद्धरुपमा सुझाव माग्ने बताइएको छ । आजको छलफल कार्यक्रममा सांसदहरुले बजेट विनियोजन गर्दा पहुँचका आधारमा मात्र वितरण गर्ने विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्नुपर्नेमा विशेष जोड दिएका थिए । विगतमा सय गन्तव्य छनौट गर्दा हचुवाको भरमा गरिएको र अहिले धेरैजसो ती गन्तव्यका कार्यक्रम कुन अवस्थामा रहेको भन्ने आफूहरुलाई कुनै जानकारी नभएको अधिकांश सांसदको भनाई थियो । सय गन्तव्यका कार्यक्रमको जिम्मा प्रदेश वा स्थानीय तहलाई नदिई संघीय सरकार आफैले लिएर त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको धारणा थियो । सांसदहरुले प्रादेशिक सदरमुकामका विमानस्थलहरुलाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । कर्णाली प्रदेशका सांसदहरुको जोड सुर्खेतमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा थियो भने सुदुरपश्चिमका सांसदहरुले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलकारुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, प्रदेश नं १ का सांसदहरुले विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलकारुपमा विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मन्त्री भट्टराइले सांसदहरुको उक्त मागमा आफू सकरात्मक भएको भन्दै सकेसम्म प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारीको नीति अनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको सोच रहेको बताए । चुनावका बेला प्रमुख राजनीतिक दलहरुले घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई नै आधार मानेर योजना छनौट गरिने पनि मन्त्री भट्टराईले बताए । नयाँ विमानस्थलहरु औचित्य, आवश्यकता र व्यवसायिकता आधारमा निर्माण गरिने उल्लेख गर्दै मन्त्री भट्टराइले भने, ‘अति दुर्गम ठाऊँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ । त्यसबाहेक व्यवसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि, लगानी डुब्नु हुदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ ।’ आजको छलफलमा कर्णाली र सुदुरपश्चिका २२ सांसदले सुझाव दिएका थिए भने प्रदेश नं १ का १४ जना सांसदले सुझाव प्रस्तुत गरेका थिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य राज्य मन्त्री नवराज रावतको पनि उपस्थिती रहेको थियो ।
अध्यक्ष राणा भन्छिन्ः होटलहरु ठूलाे घाटामा छन्, कर्मचारीलाई तलब दिन सक्दैनौं
काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल क्षेत्र अहिले धेरै घाटामा भएकोले कर्मचारीहरुलाई पुरै तलब दिन सकिने अवस्था नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा पर्यटन सँग सम्बन्धित व्यक्तिहरुसँग भिडियो कन्फ्रेन्समा बोल्दै उनले सो कूरा बताएकी हुन् । कोरोना भाइरसको कारण पर्यटन क्षेत्र ठप्प भएकोले होटलहरु पनि नोक्सानमा परेको उनको भनाइ छ । ‘होटल क्षेत्र मासिक करिब दुई अर्ब रुपैयाँ घाटा भइरहेको छ, यो अवस्थामा हामी हाम्रा कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन, दियो भनेपनि पुरै दिन सकिने अवस्था छैन,’ उनले भनिन् । उनले होटल क्षेत्रका लागि सरकारले छुट्टै किसिमको प्याकेज ल्याउनु पर्ने बताएकी छन् । होटलहरुलाई सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुबाउनै भएपनि राहत प्याकेज ल्याउनु पर्ने उनको धारणा छ ।