५ सय २६ पर्यटकको उद्धार गरिँदै, शुक्रबार मात्र ३ सयभन्दा बढी स्वदेश फर्किए
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका हुन् । शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३ सय ५ नागरिक स्वदेश फर्किएका थिए । आज पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन् । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन् । लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ । बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको छ । उनले नेपालका विभिन्न गन्तव्यबाट अहिले ५ सय २६ पर्यटकको उद्धार गर्ने जानकारी दिए। तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ । आज माउण्टेन उडानमार्फत १ सय जनाको उद्धार गरी काठमाडौं ल्याइनेछ । यस्तै पोखरामा रोकिएका ३ सय पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ । रासस
लकडाउनको बेला किन आयो QRT346D जहाज ?
काठमाडौं । सम्भावित कोरोना (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन लागू गरेको समयमा आज विहान ९ः३५ बजे एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सरकारले लकडाउन गरेर सवै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान सेवा रोकेको समयमा क्युटीआर३४६डी (QRT346D) नम्बरको जहाज कतार एयरवेजको जहाज काठमाडौं अवतरण गरेको हो । केही दिनयता अकाशमा जहाज उडेको आवाज नसुनेका कोटेश्वरवासीमा यो जहाज किन आयो भन्ने कौतुहलता जागेको थियो । सो क्षेत्रमा बस्नेहरुले झ्याल तथा बरण्डामा निस्किएर हजाज किन आयो भन्ने जिज्ञासा गरेका थिए । सो जहाज कतारको दोहाबाट खाली आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । नेपाल सरकारले विशेष अनुरोध गरेको कारण विदेशी नागरिक लिनको लागि सो जहाज काठमाडौं आएको केसीको भनाइ छ । ‘विदेशी नागरिक लिनको लागि नेपाल सरकारकै पहलमा सो जहाज आएको हो, उताबाट खाली आएको थियो, अब यहाँबाट विदेशी नागरिक लिएर जान्छ,’ महाप्रबन्धक केसीले विकासन्युजसँग भने । सो जहाजमा युरोपेली देशका नागरिक लैजाने गरी आएको केसीले जानकारी दिए । ‘जर्मनी दुतावासको विशेष आग्रहमा विदेशी नागरिक लैजान लागिएको भन्ने सुनेको छु, त्यसमा धेरै जर्मनी नागरिक हुन पनि सक्छन्, तर विस्तृत विवरण मसँग पनि प्राप्त भएको छैन, तर सरकारले नै आग्रह गरेर जहाज आएकोले यसमा आत्तिनुपर्ने अवस्था केही छैन,’ केसीले भने ।
नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिन जर्मनका २ जहाज आउने
काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनका लागि जर्मनीबाट २ जहाज आउने भएका छन् । जर्मन दुतावासले बिहिबार एक सूचना जारी गर्दै नेपालमा रहेका जर्मनीहरुलाई लिन दुई जहाज नेपाल आउने जनाएको हो ।दुतावासका अनुसार नेपालमा रहेका आफ्ना नागरिकलाई लिन भोली अर्थात शुक्रबार र पर्सि (शनिबार) गरी दुई जहाज नेपाल आउने भएका हुन् । जर्मनले नेपालमा रहेका जर्मनीहरुलाई स्वदेश फिर्ता हुन चाहनेले दुतावासको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरेको छ । जर्मनले आफ्ना नागरिक फिर्ता लिनका लागि कतारवेजका दुई जहाज बुक गरिएकाे छ ।