पूर्वमन्त्री श्रेष्ठले २६ करोडमा किने धनगढीकाे ‘दि होटल डिभोटी’, छिट्टै चार तारे र क्यासिनाे सञ्चालन गर्ने

<p>काठमाडौं । व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हशनपुरमा रहेको तीन तारे होटल ‘दि होटल डिभोटी’ खरिद गरेका हुन् । उनले एक वर्ष अगाडिदेखि नै आफ्नो स्वामित्व होटलमा हुने गरी प्रवेश गरेपनि अहिले पूर्ण रुपमा दुई जनाको मात्र सेयर हुने [&hellip;]</p>

काठमाडौं । व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हशनपुरमा रहेको तीन तारे होटल ‘दि होटल डिभोटी’ खरिद गरेका हुन् ।

उनले एक वर्ष अगाडिदेखि नै आफ्नो स्वामित्व होटलमा हुने गरी प्रवेश गरेपनि अहिले पूर्ण रुपमा दुई जनाको मात्र सेयर हुने गरी खरिद गरेका हुन् । उनले सो होटलमा आफ्नो ५० प्रतिशत सेयर रहने गरी होटल खरिद गरेको बताएका छन् ।

उनीसँगै धनगढीकै व्यवसायी लिलाधर जोशीको पनि सो होटलमा ५० प्रतिशत सेयर रहेको छ । दुवै जनाको ५०/५० प्रतिशत हिस्सा हुने किसिमले होटल खरिद गरेको उनले बताए ।

सञ्चालक द्वय श्रेष्ठ र जोशी

उनका अनुसार अब होटल डिभोटी नयाँ व्यवस्थापनका साथ अगाडि बढ्नेछ । ‘हामीले एक वर्ष अगाडिदेखि नै सीमित स्वामित्व लिएर सञ्चालकको रुपमा प्रवेश गरेका थियौं, त्यसमा पूर्व सञ्चालकको पनि २० प्रतिशत सेयर कायमै थियो, अहिले त्यो २० प्रतिशत सेयर पनि बिक्री गरेर उहाँ बाहिरिसक्नु भएको छ, अहिले हामी दुवै जनाको होटलमा ५०/५० प्रतिशत सेयर छ,’ श्रेष्ठले विकासन्युजसँग भने ।

उनले अब होटललाई चाँडै नै चार तारे बनाउने तर्फ आफुहरुको ध्यान जाने बताए । ‘हामी अब यो तीन तारे होटललाई चाँडै चार तारे बनाउँदैछौं, क्यासिनो सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढाएका छौं, सुदूरपश्चिमका विभिन्न परिकार पाइने होटलमा रुपमा पनि विकास गर्दै लैजान्छौं,’ उनले भने ।

अर्का सेयरधनी लिलाधर जोशीले पनि अब सुदूरपश्चिममा होटल डिभोटी नयाँ र पृथक व्यवस्थापनका साथ अगाडि बढ्ने बताए । उनका अनुसार काम गर्ने जनशक्तिका साथ साथै भारतीय पर्यटकहरुलाई आकर्षित गर्नको लागि फरक व्यवस्थापनका साथ काम भइरहेको बताए ।
यस अघि सो होटल व्यवसायी कृष्ण बहादूर महराको पूर्ण स्वामित्वमा सञ्चालन भइहरेको थियो ।

होटल डिभोटी सूदुरपश्चिममा परिचित छ । आफुले होटल बिक्री गर्न नचाहेको भएपनि सरकारी स्तरबाटै सहयोग नभएपछि बिक्री गर्न बाध्य भएको महराले प्रतिक्रिया दिए ।

दि हाेटल डिभाेटी

‘मैले होटल डिभोटीलाई चार तारे बनाउन र त्यसमा क्यासिनो सञ्चालन गर्नको लागि धेरै प्रयास गरेँ, त्यसका लागि आवश्यक तथा आधारभूत पूर्वाधारहरु निर्माणको प्रक्रिया गर्नको लागि सरकारी स्तरबाटै अनेक बाधा तथा असहयोग भयो, त्यसैले पनि म त्यसबाट बाहिरिन बाध्य पारिएँ,’ महराले भने ।

चार तारे होटल निर्माणका लागि जग्गाको आवश्यक थियो, सँगै रहेको सार्वजनिक जग्गा भाडामा लिनको प्रक्रिया गर्दा त्यसको सरकारी तहबाटै अनेकन टर्चर मैले भोगेँ, मैले यहाँका सासंद, मन्त्रीदेखि प्रधानमन्त्तीलाई समेत आग्रह गरेँ, तर कसैले मेरो समस्या बुझेनन्, बाध्य भएर होटलबाट बाहिरिएँ,’ उनले भने ।

डिभोटी होटल सुदूरपश्चिममा ब्राण्डको रुपमा स्थापित भएको छ । सुनसरी घर भएका पूर्वमन्त्री श्रेष्ठ राजनीति रुपमा सक्रिय रहेका छन् भने जोशी धनगढीकै व्यवसायी हुन् ।

Share News