धनगढीबाट दिपायल जान ३ हजार ४ सय तिर्नु पर्ने, विमानस्थल पुनः सञ्चालनमा
दिपायल। कोरोनाका कारण बन्द रहेको दिपायल बिमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ । जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको बिमानस्थल कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन् । दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको र निजी क्षेत्रको बिमान कम्पनी समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए । उनले भने, “आज शनिबारदेखि पुनः जहाज सञ्चालन भएको छ, अब दिपायल धनगढी हवाई उडानले निरन्तरता पाउनेछ ।” बिमानस्थल पुनः सञ्चालन भएसँगै यहाँ जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएकोे छ । अठार जनाको सिट क्षमता भएको जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढीका लागि ११ः३० बजे उडान हुने भएको छ । कार्यालयका अनुसार हाललाई दिपायलदेखी धनगढीसम्मको टिकट तीन हजार ४०० रूपैयाँ तोकिएको छ । टिकटका लागि दिपायलस्थित पिपल्लामा रहेको होटल रिभर साइटबाट उपलब्ध गराइने होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए। उनले, “दिपायल–धनगढी हप्तामा एक दिन जहाज सञ्चालन भएको छ, टिकटको जिम्मा अहिले मैले लिएको छु ।” जिल्लाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा नेपाल सरकारले बिमानस्थल कालोपत्र गरिएको थियो । बन्द भएको बिमानस्थल पुनः सञ्चालन भएकाले स्थानीयबासी निकै खुशी भएका पिपल्लका व्यापारी चन्द्रु पाठकले बताउनुभयो । उनले भने “ कोरोनाले गर्दा जहाज सञ्चालन बन्द गरिएको थियो, फेरी सञ्चालन भयो, यसले गर्दा यहाँको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने छ ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमति भएसँगै यहाँका क्षेत्रीय कार्यालय कैलाली सारिएपछि निरास भएका स्थानीयवासी अहिले क्रमिकरुपमा विमानस्थलदेखि अन्य विकासका योजना सञ्चालन हुन थालेकाले खुशी भएका हुन् । विमानस्थलमा नियमित जहाज सञ्चालन भए यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने चेम्वर अफ कमर्सका जिल्ला अध्यक्ष खगेन्द्रबहादुर साउदले बताए । उनले “दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेछ, पर्यटक भित्रिए यहाँको विकास हुने निश्चित छ ।” नियमित जहाज सञ्चालन भए यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदारलगायत क्षेत्रमा पर्यटक ओइरिने उद्योग बाणिज्य सङ्घका जिल्ला अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले , “सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेका ठाउँहरु हुन्, नियमित जहाज सञ्चालन भए यहाँको पर्यटन उद्योग फष्टाउने छ ।” बिमान सञ्चालन भएसँगै विमानस्थलमा रहेका टर्मिनल भवन तथा एटिसी भवन पुनः निर्माण गर्न माग गरिएको छ । यो बिमानस्थलको धावनमार्ग करिब ४९० मीटर लामो भएकाले एकहजार मिटर बनाउनका लागि स्थानीयवासीले माग गर्दै आएका छन् ।
परिसंघको पर्यटन समिति गठन, खोप लगाएकालाई क्वारेन्टाईनमा नराख्ने माग
काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा माग राखेकाे छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न माग राखेकाे हो । पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्दै उनले परिसंघले त्यसको नेतृत्व लिने बताए । उनले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघमार्फत कुटनीतिक पहल अघि बढाउने उल्लेख गरे । उपाध्यक्ष शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताए । ‘भ्याक्सिनको तीव्र वितरणमार्फत् नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिन आवश्यक छ,’ उनले भने, ‘त्यसको पहल परिसंघले गर्नेछ ।’ समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताईन । उनले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएकी छन् । यसैगरी परिषदकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवद्र्धनका लागि परिसंघले पहल अघि बढाउनुपर्ने उल्लेख गरिन । उनले संसदीय समितिहरुमार्फत पर्यटन क्षेत्रको विकासका लागि छलफल अघि बढाउन सकिने सुझाव दिईन् । बैठकमा भर्चुअलरुपमा सहभागी भएका समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरे । यस्तै बैठकमा उपस्थित समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिए । उनीहरुले कोभिडबाट जोगिन तल्लो तहसम्म जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेका छन् । परिसंघले गठन गरेका उक्त समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहेका छन् ।
वायुसेवा सञ्चालक भन्छन्: आन्तरिक टर्मिनलमा एक्स-रे मेसिन जडान गरी सुरक्षामा ध्यान दिउँ
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा पूर्वाधारसगैँ सुरक्षा बढाउन सरकारसँग आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै तत्काल आन्तरिक उडानमा सुरक्षा लगायत आवश्यक भौतिक पूर्वाधार स्तरोन्नतिगर्न नागरिक उड्ययन प्राधिकरणलाई आग्रह गरेको हो । कोरोना महामारीपछि आन्तरिक उडानमा आएको नयाँ व्यवस्था तथा संक्रमणरहित उडानका कारण हजारौंले यात्रा गर्ने गरेको भन्दै संघले बढ्दो यात्रु संख्याको अनुपातमा त्रिभुवन विमानस्थलको आन्तरिक तर्फ पूर्वाधार तथा व्यवस्थापनमा कमजोरी देखिएको जनाएको छ । सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेकइन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र भएका पनि ज्यादै पुरानो रहेकाले नयाँ मेसिन थप्न समेत संघले प्राधिकरणलाई आग्रह गरेको छ । सुरक्षा जाँचका लागि एक डेढ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेकोले यात्रुहरुलाई धेरै असहजता भएको संघको भनाइ छ । वायुसेवाहरुको उडान पनि घण्टौं ढिलो हुने गरेको स्मरण गर्दै संघले विमानस्थलमा कार्यरत वायुसेवाका कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरुले भ्याउने अवस्था नरहेको उल्लेख गरेको छ । चेक–इन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडी दुई गेटको सट्टा चारवटा बनाउन संघले प्राधिकरणलाई सुझाव दिएको छ । यात्रुहरूले जुत्ता र बेल्ट खोल्नुपर्ने व्यवस्था हटाउन माग गर्दै सबै एक्सरे मेसिनहरू सधैँ सुचारु राखी जगेडामा समेत राख्न आग्रह गरेको छ । समस्याको समाधान नगरेमा दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप बढ्न गई गम्भीर स्थिति आउन सक्ने संघले चेतावनी दिएको छ ।