होटल सब्रिनाले पायो ३ वर्षेमै ‘बेष्ट नेपाल होटल अवार्ड’
काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई सो अवार्ड प्रदान गरिएको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएको तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ । उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरेका हुन् । अवार्ड दिदैँ ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए । यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (र्याडिसन) ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो । यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ । विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायजसो सबै क्षेत्र ठप्प रहेका थिए । त्यस्तो बेला पनि होटल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटलका प्रबन्धक निर्देशक निरञ्जन थापाले बताए । उनले भने, ‘कोरोनाका बेला पनि हामीले होटल बन्द नगरि निरन्तर सेवा दियौँ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर हामी होटलको सेवा दिन पछि परेनौँ ।’ साथै उनले नेपाली होटललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटल सञ्चालनमा थप हौसला हुने समेत बताए ।
खराब मौसमले उपत्यकाको हवाई उडान प्रभावित
काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उहाँका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । आज काठमाडौंको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ । रासस
‘टान’को ४३ औँ अधिवेशन आगामी माघ २८ मा
काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ । सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिए । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् । पदयात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाका समयमा सरकार र निजी क्षेत्रबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोरोनाका बीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन वोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।