धार्मिक पर्यटकको रोजाइ बन्यो बागलुङ

<p>गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । उनीहरूले मुक्तिनाथ पछिको दोस्रो रोजाइ बागलुङमा पर्न थालेको बताएका छन् । अहिले बागलुङको कालिका मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक [&hellip;]</p>

गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । उनीहरूले मुक्तिनाथ पछिको दोस्रो रोजाइ बागलुङमा पर्न थालेको बताएका छन् ।

अहिले बागलुङको कालिका मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक पर्यटकमध्ये मुक्तिनाथ दर्शन गर्न आएको पाइएको छ । अहिले पञ्चकोट, कालिका मन्दिरलगायतका धार्मिक क्षेत्रमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन प्रशस्त देखिन्छन् ।

बागलुङको प्रवेशद्वारमै रहेको बागलुङ कालिका, विश्वको लामो झोलुङ्गे पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, रिगताललगायतको क्षेत्रमा पनि अहिले पर्यटकको चाप देखिन्छ । बागलुङमा चैतेदसैं र नयाँ वर्षपछि यहाँ पर्यटकको चाप निकै रहेको पाइएको छ । बागलुङमा अहिलेसम्मकै धेरै पर्यटक आएको पर्यटन व्यवसायीको दाबी छ । टिकटक तथा फेसबुकका कारण पञ्चकोट, शालग्राम, लामोपुल र कालिका मन्दिर आउने पर्यटकको चाप बढी भएको हो । बागलुङमा आएको व्यवसायी बताउँछन् ।

नयाँ वर्षपछि बागलुङमा अत्यधिक पर्यटकको आगमन भएको छ । बागलुङमा खासगरी मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरमा पुग्ने तीर्थयात्रु पनि बागलुङ आउन थालेका छन् । पर्यटकको आगमनले कालिका मन्दिर, लामो झोलुङ्गे पुल र बाङ्गेचौर क्षेत्र पर्यटक र सवारी साधनले भरिएको पाइन्छ ।

बागलुङ र पर्वत जिल्लाको बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा समेत पर्यटक आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अनुसार थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ भने होटलमा पाहुनासमेत आउन थालेका छन्, त्यसैले यहाँका होटल व्यवसायीमा आशा पलाएको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको छ ।

पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । चैते दसैं सम्पन्न भएको भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको बताइएको छ । चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घले जनाएको छ ।

Share News