विदेशिन बाध्य नेपालीलाई नेपालमै राम्रो आयसहितको रोजगारी दिलाऔं : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन आग्रह गरेका छन् । मंगलबार विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेपाल उद्योग परिसंघको उपाध्यक्ष समेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनले बताए । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरे । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ । कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धित संघ संस्था, नेपालस्थित राजदूत एवं विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा सञ्चित बढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राखे । उनले पर्यटक गन्तव्यस्थलको विकास गर्न ठोस् योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको जानकारी दिनुहुदै पर्यटन प्रवद्र्धनमा घरबास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कामगर्दा आइपर्ने बाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानुनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहनुभएका पर्यटन व्यवसायी, होटल, घरबास सेवा प्रवाह गर्ने संस्थाको दर्ता नवीकरण गर्ने कार्य अव अनलाइनमार्फत सेवा प्रदान गरिएकोले कुनै कठिनाइ नहुने धारणा राखे । कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउने भारतीयले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाइ नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाइसँग आउन आग्रह गरे । सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई, झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासङ्घका प्रदेशका सभापति लीलाबल्लभ घिमिरेलाई सम्मान गरे । यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासको दर्ता, नवीकरणको अनलाइन प्रणालीको समेत शुभारम्भ गरे । रासस
कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुन : सुरु
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट उडान पुुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि १५ हजार रुपैयाँ र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ । रासस