तनहुँमा पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालन

तनहुँ । जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, ‘मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुटारसम्म पुग्ने व्यवस्था गरिएको छ ।’ उनका अनुसार ९० फिट हाइटमा एक सय मिटरको स्काइ रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ । जिपलाइनका लागि रु एक हजार पाँच सय र स्काइ रोप साइक्लिङ (दुईतर्फी)का लागि रु एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइ रोप साइक्लिङका लागि मात्र एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले बताए । रिसोर्ट दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचना बनेका छन् । यस्तै आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनासमेत थप्ने योजना रहेको सापकोटाले बताए । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको छ । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् । नयाँ साहसिक पूर्वाधार थप भएपछि यहाँ पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ । दमौली बजारबाट बागभञ्ज्याङ, बैरेनी, दुम्सी हुँदै परेवाडाँडा पुग्न सकिन्छ । लमजुङको मध्यनेपाल, भोर्लेटार, भोटेओडारलगायतका ठाउँ जाने मार्ग पनि यही हो । यसले गर्दा पनि यो ठाउँमा पर्यटकको चहलपहल हुने विश्वास गरिएको सापकोटाले बताए । यही ठाउँमा परेवाको मूर्ति निर्माण गरिएको छ । उक्त ठाउँमा बिदा र शनिबारको दिन आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् । रासस

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी छन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गरेका हुन् । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटल व्यवसाय नछाड्ने सोचमा पुगेका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य होटल ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् । विस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आउनुभएका सन्दीप नेम्वाङले बताए । कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदर्माग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्दछ । गत सातामात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । उनले भनिन्, ‘आज पनि १६ जनाको समुह आउँदै छ । चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।’ साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए । प्रदेश नं १ को राजधानी विराटनगर, धरान, दमक तथा सङ्घीय राजधनी काठमाडौँदेखि आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएका छन् । काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । नर्थ रुट हुँदै गत सातामात्र ६० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताए । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ । यातायातका साधन प्रयोग गर्ने पर्यटकको विवरण घुन्सा चेकपोष्टले राख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन साहयक टासी तेन्जिङका अनुसार गत साता विभिन्न देशका एक सय २० बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् । स्पेन, फ्रान्स, अष्टे«लिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, भारतलगायत बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर प्रवेश गरेको घुन्सा चेकपोष्टले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । गएको आव २०७७/७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बू)ले बताए । रासस

तारे होटलहरुमा ५० अर्ब बढी लगानी, प्रतिफल अनिश्चत

काठमाडौं । काठमाडौं नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ । यद्यपि अहिले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याइसकेका छन् । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा तीन सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक नौ हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ । तर पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलहरुले भोग्नुपर्ने देखिएको छ । कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलहरुमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरुको बुझाइ छ । निर्माणाधीन होटलहरुमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कूचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण होटलमा भइरहेको लगानी जोखिममा पर्ने देखिन्छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ । आजका दिनमा होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहेका भएका तथा हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल आजका दिनमा सुनिश्चित नभएको स्वीकार गर्छन् । उनका अनुसार हाल तारे होटलहरुले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरुले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाइ छ । ‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलहरुले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलहरुले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ भने बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ’, उनले भने। होटलहरुले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरु तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ । तर, सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव देखिंदैन । ‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलहरुको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलहरुको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ’, उनले भने, ‘तर कोभिडअघिकै अवस्थामा पुग्न पनि हामीलाई अझै दुई वर्ष लाग्ने देखिन्छ ।’ उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारणहरु थिए । यसमा बढ्दो होटलहरुको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरुमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ । उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने हाल निर्माणाधीन तारे होटलहरुमा भएको लगानी मात्र ५० अर्बभन्दा बढी छ । एकातिर धमाधम तारे होटलहरुमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटलहरुमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार आजका दिनमा नदेखिएको बताउँछन् । यद्यपि पर्यटन क्षेत्रमा ओइरिएको लगानीलाई भने उनी सकारात्मक रुपमा लिन्छन् । ‘कोरोनाअघिदेखि नै होटलहरुमा लगानी बढिरहेको हो, यो पर्यटन क्षेत्रका लागि निकै राम्रो पक्ष हो, तर लगानीमाथिको प्रतिफलका लागि हामीले आजकै अवस्थामा पूरा गर्न भने नसक्ने अवस्था छ’, मिश्रले भने । सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी,विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटलहरुमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाहे हुने उनको भनाइ छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार हाल नेपालमा सञ्चालित होटलहरुमा करिब ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण दुई हजार कोठा थप हुनेछन् । एकातिर होटलहरुमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ । उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ । यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरुको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केतहरु देखिन थालेका छन् । हाल निर्माणाधीन केही पाँचतारे होटलहरुमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायतका होटल छन् । कोरोना महामारी र ब्याजदरले अतिरिक्त लगानीले बढ्यो काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले निर्माण गरिरहेको पाँच तारे होटल ‘हिल्टन’को लागत कोरोनाअघिको तुलनामा एक अर्ब ८० करोड रुपैयाँले बढेको छ । कम्पनीका अनुसार शुरुमा प्रतिकोठा लगानी दुई करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएकामा एक करोडले बढेर तीन करोड ८० लाख रुपैयाँ पुगेको छ । अब होटलको कुल लगानी आठ अर्ब रुपैयाँ पुग्नेछ । हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलको भनाइ छ । चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ । त्यसैगरी काठमाडौँको बूढानीलकण्ठमा निर्माण भइरहेको बूढानीलकण्ठ हेरिटेज होटलको लागत पनि करिब ४६ प्रतिशतले बढेको छ । ‘कोरोना महामारीमात्रै कारण होइन, यसबीच बढेको ब्याजदरका कारण पनि लागत बढेको हो’, अध्यक्ष राजेन्द्र केसीले भने, ‘यसबीच हामीहरुले एक रोपनी जग्गा थप खरिद, चार तारेलाई पाँच तारे बनाउँदा, बैंक्वेट हल तथा हेल्थक्लब थप गर्दा समेत लगानी बढेको हो ।’ उपत्यकामा निर्माण भइरहेको लैनचौरस्थित सेराटन होटलको पनि लगानी र समय दुबै बढेको छ । ब्याज तिर्नै नसक्ने अवस्थामा होटल होटल सङ्घ नेपाल (हान)ले केही दिनअघि एक विज्ञप्ति जारी गरी आम्दानीमा भइरहेको सङ्कुचन तथा ब्याजदर वृद्धिका कारण तत्काल बैंक तथा वित्तीय संस्थालाई कर्जाको साँवा र ब्याज तिर्नै नसक्ने अवस्था भएको स्पष्ट पारिसकेको छ । हानले यस्तो गम्भीर अवस्थामा कम्तीमा दुई वर्षका लागि कर्जाको पुर्नतालिकीकरण वा पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने माग सरकार समक्ष गरेको छ । पछिल्लो समय विदेशी पर्यटकको आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट तथा बढ्दो ब्याजदरका कारण लागत बढिरहेको तर आम्दानी सो अनुसार बढ्न नसकेको भन्दै हानले सरकारसँग कर्जाको पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्थाको माग गरेको हो । कसरी बढाउन सकिन्छ पर्यटक ? वसन्त मिश्र भन्छन्, ‘होटलहरुमा लगानी त बढिरहेको छ, तर लगानीकर्ता व्यक्ति, भेञ्चर क्यापिटलिस्ट, बैंक तथा वित्तीय संस्था पनि नै प्रतिफललाई लिएर चिन्तामा छन् किनभने हाम्रो आवश्यकता र लक्ष्यअनुसार पर्यटकहरु आएका छैनन् र यसको असर दीर्घकालसम्म पर्ने निश्चित छ ।’ ‘सरकारले १५औं आवधिक योजनामार्फत् ३५ लाख पर्यटक ल्याउने योजना त अघि सार्यो तर त्यसका लागि आवश्यक पूर्वाधार (विमानस्थल, पर्यटकीय गन्तव्य) लगायतमा लगानी बढाउन सकेन, कनेक्टिभिटीमा सुधार गर्न सकेन भने नयाँ प्रडक्टहरु ल्याउन सकेन, खाली होटलहरु मात्रै खोलेर पर्यटक आउन वातावरण बन्दैन’, मिश्रले भने ।पर्यटक आगमनमा कमी आएसँगै यसको सिधा असर होटलहरुको आम्दानी र प्रतिफलमा पर्ने उनको भनाइ छ । ‘पर्यटक बढाउनका लागि हामीले अनुसन्धानमा आधारित बजारीकरण गर्न सकेका छैनौं, यद्यपि पर्वतारोहणको हकमा भने नेपालको बजार निकै बलियो छ । त्यो सङ्ख्या हामीले अपेक्षा गरेभन्दा निकै सानो हो, ठूलो सङ्ख्यामा गुणस्तरीय पर्यटक ल्याउन सकेका छैनौं’ उनले भने। मिश्र पर्यटक बढाउनका लागि सबैभन्दा पहिले पूर्वाधार र पर्यटकीय उत्पादनमै ध्यान दिनुपर्ने बताउँछन् । बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । दुई छिमेकी मुलुक भारत र चीनमा मात्रै प्रभावकारी बजारीकरण गर्न सकियो भने पनि राम्रो सङ्ख्यामा पर्यटक ल्याउन सकिने उनको भनाइ छ । मिश्रका अनुसार होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि नेपालले युरोपसँगको हवाई सेवा शुरु गर्न सक्नुपर्छ । अमेरिकालगायतका धेरै पर्यटकहरु आउने सम्भावना भएका मुलुकसँग सिधा हवाई सेवा सञ्चालन गर्न सक्नुपर्छ । सरकारले विमान सञ्चालन खाडीलगायतका विभिन्न मुलुकमा श्रमिक लैजाने र ल्याउनेमा मात्रै केन्द्रित हुने हो भने पर्यटक बढाउन सकिन्न । होटलमा प्रवाह हुने कर्जामा ३०० प्रतिशतले वृद्धि पछिल्लो छ वर्षमा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो । त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा कुल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए । जुन सन् २०१९ को तुलनामा २४.७ प्रतिशतले बढी थियो । सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो । बढ्दै तारे होटल सन् १९५० मा फ्रान्सका मउसाइस हेजजोग र लोइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभर नेपालको चर्चा शुरु भयो । विभिन्न देशबाट पर्यटकहरु आउने क्रम बढेसँगै तारे होटलको आवश्यकता महसुस भएको मानिन्छ । फलस्वरुप सन् १९६५ मा राजपरिवारका सदस्यहरुको अग्रसरतामा पहिलोपटक नेपालमा पाँचतारे होटल सोल्टी सञ्चालनमा आयो । पञ्चायतकालमा कुनै पनि व्यवसाय गर्दा राजपरिवारको संलग्नता हुनु अस्वभाविक थिएन । आजका दिनमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह सोल्टी होटलमा सबैभन्दा ठूला सेयरधनी हुन् । पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो भने त्यसको सात वर्षपछि नयाँबानेश्वरमा द होटल एभरेष्ट इन्टरनेशनल सञ्चालनमा आयो । त्यसपछि २०६३ सालसम्म पाँच वटा पाँचतारे होटलहरु थपिए । मुलुकमा गणतन्त्र स्थापना भएपछि पाँचतारे होटलको सङ्ख्या मात्रै शतप्रतिशतले बढेको छ । अर्थात् हाल पाँचतारे होटलको सङ्ख्या १७ पुगेको छ र हाल निर्माणाधीन पाँचतारे होटलको सङ्ख्या डेढ दर्जनको हाराहारीमा छ । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको सङ्ख्या कम्तीमा ३४ वटा हुनेछ । वर्षौंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरुको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै छ । रासस ।