सुन्दर रानीमहल हेर्दै कालीगण्डकीमा र्याफ्टिङ
पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ को आनन्द लिए। ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो’, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् । रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेकी थिइनन्। उनी भन्छिन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ (र्याफ्टिङ ) सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछिन् । तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ । रानीमहल सेरोफेरो एक किलोमिटरमा पाँच सय र रुरुधामसम्म दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन्। जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ । ‘र्याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, ‘सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।’ प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन् । कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ । अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ । जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो । पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन् ।
ग्राउण्ड ह्याण्डलिङमा विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् । उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्ने पनि उल्लेख गरे । महानिर्देशक अधिकारीले कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे । अधिकारीले कानुनले दिएको अधिकार सम्मान रूपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको बताए । उनले प्राधिकरण ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्ने कुरा चाँडै निर्णय गर्ने बताए । उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानुनी रूपमा प्राधिकरणले अनुमति दिनुपर्ने उल्लेख गरे । उनले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए । अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ । अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले सुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।
फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई सहज
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो । फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात भएकाे थियो । फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गत सम्म सञ्चालन हुनेछ ।