काठमाडौं । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नागरिक उड्डयन प्राधिकरण(क्यान)ले उनीहरुको नियमित उडानहरू कटौती गरेको हो ।
यसक्रममा क्यानले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको छ । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो ।
काठमाडौं विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।
प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ ।
वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौं विमानस्थलमा तीनभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा उडान गर्नुपर्ने निर्देशनसहित पत्राचार गरिएको बताए ।
उनले भने, ‘हाम्रो आन्तरिक वायुसेवाले भैहरवाबाट उडान नगर्दा विदेशी एयरलाइन्सलाई दबाब दिन गाह्रो हुने भयो त्यसैले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवाबाट पनि उडान गर्नुपर्छ भनेर निर्देशन दिइएको हो ।’ काठमाडौं विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।
यात्रु अभावका कारण नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भैरहवाबाट उडान सुरु गरेको बताएका छन् । केही समय अघि मात्र यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने निर्णय गरेको थियो ।