कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

दोधारा चाँदनी । पछिल्लो समयनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए । ‘कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्’, उनले भने, ‘अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।’ उनले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताए । ‘होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्’, उनले भने, ‘अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।’ अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । ‘कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्’, उनले भने, ‘पाहुना आउने समय पनि यही हो ।’ विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उनले बताए । पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए । ‘राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ’, उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।’ घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए । ‘यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ’, उनले भने, ‘यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।’ पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए । ‘शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो’, उनले भने, ‘यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।’ शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् । रासस

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक, पर्यटन व्यवसायी उत्साहित

लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । दशैंका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ । गुरुङले भने, ‘अन्य समयभन्दा दशैं तिहारमा बढी पर्यटक आउछन्, तर दसैँमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।’ पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ । पर्यटक आगामी कात्तिक/मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘दशैंका बेलामा सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।’ पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताए । ‘होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ’ ,उनले भने । यसअघि होटलमा आउन बुकिङ गरेका २०/२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको उनले सुनाए । पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५/२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको उनले बताए । पर्यटकहरु हिमाल, पहाडका दृश्य, यस क्षेत्रको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न आउने गर्दछन् । पर्यटक विशेष गरी थोराङला, लार्के र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । उक्त पर्यटकीयस्थल साथै मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फूलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका वडा नंं ७ मा पर्दछ । पदमार्गमा आउने पर्यटकले गर्दा यस प्रवेशद्वारको होटल व्यवसायमा समेत पर्यटकको चहलपहल तीव्र हुन थालेसँगै व्यवसायी व्यस्त हुने गरेका छन् । रासस

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान, भन्यो : खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउँदैनौं

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए । ‘जजिराले आफ्ना नयाँ जहाज लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान गर्न नसके पनि एक दिन बिराएर उडान गर्ने हिजो सहमति भएको छ ।’, दाहालले भने, ‘तीन दिनसम्म उडान नहुँदा यात्रु रोकिएका थिए । शनिबार जजिराले उडान गरे पछि केही समस्या हल भएको छ ।’ विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए । ‘पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ ।’ नागरथले भने, ‘अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ । अब पहिले झैँ सातामा तीन उडान गर्नेछौँ ।’ नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । ‘मागअनुसार नै आपूर्ति गर्ने हो । खाली विमान कहिलेसम्म उडाउने ?’ उनले भने, ‘हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ ।’ जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौं मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको छ । रासस