कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पाउने भएपछि गौतमबुद्ध एयरपोर्टबाट उडान भर्दै हिमालय एयरलाइन्स

काठमाडाैं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले यही कात्तिक १७ गते बिहीबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टड उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त हवाई सेवा प्रदायक कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई वटा चार्टड उडान गर्न सहमत भएको हो । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘विन्टर सेड्युल’ अन्तर्गत नेपाल वायुसेवा निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमको आइतबारको उडान रद्द गरिदिएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणले  एयरलाइन्स्लाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिङ अनुमति दिने आश्वासन दिएसँगै उडान गर्ने तयारी भएकाे कम्पनीले एयरलाइन्सले जानकारी दिएका् छ । यस अनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात उडान सञ्चालन हुने कम्पनीले बताएकाे छ । प्रारम्भिक चरणका लागि एयरलाइन्स्ले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिंङ अनुमति प्राप्त भएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने जनाएकाे छ । कम्पनीका प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स्को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा आशावादी रहेकाे बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्र्यि गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने सम्भावना भएकोले यस दिशामा हामी सबैले हातेमालो गर्नु पर्दछ,’ उनले भने । हिमालय एअरलाइन्स्ले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको कुरा पनि उनले बताए ।    

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पौष १ गतेदेखि उडान गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो । गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो । उक्त कम्पनीले चार्टर उडान सुरु गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार उक्त कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट यो कम्पनीले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ । उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको भए पनि उडान तालिका प्रस्ताव आउन बाँकी रहेको बताइएको छ । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ । यसैगरी अबुधाबीस्थित बिज एयरले आफ्नो उडान मिति तत्कालका लागि स्थगित गरेको बताइएको छ । अबको डेढ महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या आधा दर्जनभन्दा बढी पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।  

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ । बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए । ‘समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो’, उनले भने । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ । यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । ‘पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ’, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहेका श्रीसले भने ‘अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।’ दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि २० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउँछन् । भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको  दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् । रासस