करोडौँ लगानीमा निर्माण गरिएको सोलुखुम्बुको विमानस्थल प्रयोगहीन
सोलुखुम्बु। सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन्। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ। विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो। विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो।
‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
काठमाडौं । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमोजारीलाई पनि औँल्याइन्छ । यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान दुर्घटनमा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताउँछन्। ‘दुर्घटना विमानको ‘आयु’ सँग सिमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन, विमानको विभिन्न तहमा समयसमयमा पाटपूर्जा फेर्नुपर्छ, ‘नियमित मर्मतसंहार गरेर उडानयोग्य’ अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ’, उनले भने । विमान ‘निश्चित सयमा’ मा ‘पार्टपूर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ । निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन । मानवीय क्षतिका हिसाबले नेपालमा आन्तरिकतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना भएकाले मुलुकको समग्र हवाई क्षेत्र मात्रै हैन कोभिड–१९ महामारीले तङ्ग्रिदै गरेको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । निर्देशक थापाका अनुसार विमान दुर्घटना ‘मनवीय पक्ष’ मा धेरै आधारित हुनेगर्छ । उहाँले कुनै पनि विमान खरिद गरेर त्यसै उडानमा नलगिने, विमान सञ्चालनमा ल्याउनु अघि हवाई मापदण्ड अनुरुप मर्मतदेखि सबै खाले प्रक्रिया पूरा गरेर मात्रै व्यावसायिक उडानमा लगिने भएकाले हवाई सुरक्षा सबैको पहिलो प्राथमिकता हुने उल्लेख गरे । उनले भने, ‘विमान त्यसै ल्याएर उडाउने कुरा हुँदैन, कष्टोमाइज मेन्टिनेन्स्’ गरेर मात्रै उडानमा लैजान्छौँ, सञ्चालन वातावरण र ‘अप्रेशन ड्युरेसन’ का आधारमा कस्टमाइज गरिन्छ ।’ निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर विमान दुर्घटनापछि सवत्र उठेको चासो र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आज ‘गुणस्तरीय एवं आरामदायी उडान’ विषयक अन्तरक्रिया गरेको छ । कम्पनीले हवाई सुरक्षा गुणस्तर अभिवृद्धिमा हालसम्म गरिरहेको काम र सुरक्षा सतर्कताबारे पर्यटन र ‘एभिएसन बिट’मा कामगर्ने सञ्चारकर्मीलाई ‘एभिएसन सेफ्टी’ र उडान सञ्चालनबारे अभिमुखीकरण गराएको हो । कम्पनीको प्राविधिक विभाग, उडान सञ्चालन विभाग, तालिम विभाग, सुरक्षा विभागलगायत विभिन्न विभागका प्रमुख एवं विज्ञहरूले आधारभूत हवाई सुरक्षा र उडान सञ्चालनबारे प्रस्तुति गरेका थिए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एटीआर जहाज दुर्घटनापछि विगत केही दिनयता लगातार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै हवाई सेवा प्रदायक असुरक्षित भन्ने सम्प्रेषणले कम्पनीलाई चिन्तित तुल्याएको बताए । उनले हवाई सुरक्षा प्रणालीमा कम्पनीले कसरी काम गरेको छ भनेर आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सुनाए । सन् २०११ को दुर्घटनापछि कम्पनीको इञ्जिनीयर, अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक विभागलाई चुस्त र प्रभावकारी बनाइएको उनले बताए । प्रबन्ध निर्देशक बस्नेतले कम्पनीमा आबद्ध एक हजार पाँच सय कर्मचारीलाई नियमित तालिम दिएर र भौतिक पूर्वाधार जगेडा पाटपूर्जा एवं ‘टुल्स’ मा अर्बौ खर्चेर गुणस्तरीय वायुसेवाको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । बुद्ध एयरकै उडान सञ्चालन निर्देशक सुवर्ण खरेलले विमान उडानका विभिन्न प्रणालीबारे जानकारी गराएका थिए । कम्पनीसँग करिब एक सय ५० विमान चालक (पाइलट) रहेका छन् । तीन एटीआर–४२ र ११ एटीआर–७२ सिरिजका गरी कूल १४ विमानमार्फत सेवा सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रचलन, हवाई मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्ड अनुरुप सुरक्षा गुणस्तर व्यवस्थापनमा कम्पनी लागिपरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । दुर्घटना लगत्तै सरकारले छानविन समिति बनाउने र समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वनय हुन सकेको छैन । दुर्घटनाको क्रम रोकिनुभन्दा बढिरहेको छ । क्यानका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय पाँच विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । रासस
अर्बौं खर्च गरेर बुद्धलाई विश्वकै गुणस्तरयुक्त कम्पनी बनाएका छौं : विरेन्द्र बस्नेत
काठमाडौं । अर्बौं खर्चेर बुद्ध एयरलाई विश्वकै टप सेन्टाइल गुणस्तरयुक्त वायूसेवा कम्पनी बनाएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । बस्नेतले १५०० कर्मचारीहरुलाई नियमित तालिम, भौतिक पूर्वाधार, जगेडा पार्टपुर्जा एवं टुल्सहरुमा अर्बौ रुपैयाँ खर्च गर्दै बुद्ध विश्वकै टप सेनटाइल कम्पनी बनेको बताए । ‘सन् २०११ सेप्टम्बर २५ को बुद्धको पहिलो दुर्घटनापछि हामीले सुक्ष्म र मिहिन ढंगले इञ्जिनियरिङ, अपेरशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक तप्कामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान अनुरुपको कार्य एवं प्रणाली अँगालेका छौं,’ उनले भने । माघ १ गते पोखरामा भएको हवाई दुर्घटनापछि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले नेपालका सबै हवाईसेवा असक्षम एवं असुरक्षित भनेर सम्प्रेषण गरेका खबरले आफुहरुलाई चिन्नित बनाएको बताउँदै उनले बुद्धले गुणस्तर कायम गरी सेवा प्रवाह गरिरहेको बताए ।