हिउँ पन्छाएपछि फेरि सुरु भयो जुम्लाको हवाई सेवा
जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुई वटा मात्रै उडान भएको छ ।’ विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए । हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।
यतीको दुर्घटनापछि खस्कियो हवाई व्यवसाय, ५० प्रतिशतले घटे यात्रु
फाइल फाेटाे काठमाडौं । पुस मसान्तसम्म निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दैनिक १२ वटा उडान गर्दै आएको थियो । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ । दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको बुद्धले जनाएको छ । दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् । यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए । ‘सिजनमा दैनिक २८ वटा उडान हुँदै आएकोमा अहिले दैनिक ८ वटा मात्र उडान भएको छ, दुर्घटनाका पछि उडान न्यून थियो अब विस्तारै बढ्न थालेको छ’, उनले भने । उनले मंगलबारसम्म दैनिक ८ वटा मात्र उडान हुने गरेकोमा बुधबार १२ वटा उडान भएको छ । विस्तारै उडानसंख्या सँगै यात्रुको संख्यामा समेत बृद्धि हुन थालेको उनले बताए । दुर्घटना अघिसम्म यतीले विभिन्न गन्तव्यमा ९अफि सिजन० दैनिक १८ वटा उडान गर्दै आएको थियो । ‘अहिले अफ सिजन हो, अन्य समयको तुलनामा अहिले न्यून उडान हुने गर्छ, तर दुर्घटनापछि न्यून भएको उडान विस्तारै बढ्न थालेको छ, अहिलो चिसो मौसमका कारण मानिसहरुको मुभमेन्ट पनि कम छ’, उनले भने । उनले मौसमका कारण समयमा नै विमानस्थल नखुल्दा हवाई यात्रुहरु बस मार्फत सम्बन्धित गन्तव्यमा जाने गरेको पाइएको बताए । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’, उनले भने । यस्तै, बुद्ध एयरले पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । केही दिनअघिसम्म न्यून यात्रु रहेकोमा विस्तारै यात्रुको संख्यामा बृद्धि हुन थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन् । उनका अनुसार दुई दिन अघिको तुलनामा बुधबार २५ प्रतिशतले उडानसँगै यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘जनवरी महिनामा अधिकांश विमानस्थल बिहान समयमानै खुल्दैनन्, विमानस्थल ढिला खुल्ला उडानसंख्यासँगै यात्रुको संख्यामा कमी आउने गरेको हो, पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने । माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि यात्रुको संख्यामा अलि कमी आएतापनि अहिले पुरानै लयमा हवाई उडान सुरु भैसकेका उनले बताए । ‘यतीको दुर्घटना हुनु र हाम्रो बजारमा अफ सिजन एकैपटक भयो, यतीको दुर्घटनाले खासै असर परेन, अहिले पुरानै अवस्थामा फर्किसक्यौँ’, उनले भने ।
पर्यटकीय गन्तव्य बनाउन लमजुङको दाम्राङ पोखरी संरक्षण गरिँदै
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो । समुद्र सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाइमा रहेको पोखरी संरक्षणका लागि चालू आर्थिक वर्षमा २६ लाख विनियोजन गरेर मर्मतसम्हार गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सो पोखरीको वरिपरि ढुङ्गा बिच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । पोखरीको वरिपरि छ मिटरदेखि १० मिटरसम्म ढुङ्गा बिच्छ्याउने काम भइरहेको छ । पोखरीको ७३ मिटर लम्बाइ र ६४ मिटर चौडाइ छ । गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वनभोजस्थल समेत निर्माण गरिँदैछन् । चारवटै स्थानमा शौचालयको निर्माण कार्य भने पूरा भएको छ । यहाँ खानेपानीको धारा व्यवस्थित गर्न लागिएको छ । दाम्राङ पोखरी क्षेत्र भेंडीगोठ उपयुक्त क्षेत्रको रुपमा छ । यस क्षेत्रमा आठ भेँडीगोठ छन् । यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडासँग समेत रमाउन चाहने पर्यटकका लागि झन आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ । यहाँ पर्यटकको प्रचुर सम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागि पर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार केही वर्षअघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो । तत्कालीन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो । त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ । यस पार्कभित्र ढुङ्गाको सिँढी निर्माण, दुई सय ८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कन सक्ने स्थानीयको भनाइ छ । संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन् । उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेराभन्दा भन्दै अपभ्रस भई दाम्राङ पोखरी भएको भन्ने किंवदन्ती रहेको छ । गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्ररे हिमाल चुली, मनास्लुलगायतको हिमाल देख्न सकिन्छ । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दूरीमा रहेको एउटा ८०-८२ मिटर लम्बाइ भएको गुफा पनि हेर्न सकिन्छ । यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार पाँच सय मिटर पदमार्ग समेत निर्माण भइसकेको छ । यस चक्रीय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ । यस्ता पर्यटकीय र ऐतिहासिकस्थल एवं क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ । रासस