खेलमैदानमा हेलिकप्टर ल्याण्ड गर्ने पाइलट ग्राउण्डेड, कम्पनीका सबै जहाज उडानमा रोक
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । अनुमतिबिना स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक लगाईएको हो । प्रभुको हेलिकप्टरले गत माघ ५ गते स्याङ्जा जिल्लाको वालिङ फुटबल मैदानमा खेल चलिरहेका बेला बिनाअनुमति हेलिकप्टर अवतरण गरेको थियो । खेल जारी रहेकै बेला हेलिकप्टर अवतरण गरेपछि मैदानमा केही समय झडप भएको थियो । बिनाअनुमति हेलिकप्टर अवतरण गरेपछि विवाद हुँदा हेलिकप्टरका पाइलट रमेश डंगोललाई स्थानीयले कुटपिट समेत गरेका थिए । बिनाअनुमति हेलिकप्टर मानिसको भिडभएको स्थानमा अवतरण गरेको भन्दै माग ५ गतेदेखि नै क्यानले पाइलट डंगोललाई ग्राउन्डेड गरेको छ । सुरुवाती चरणमा पाइटललाई ग्राउण्डेड गरेको क्यानले कम्पनीका सबै उडानमा रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाइएको हो । प्राधिकरणले अर्को आदेश नभएसम्मको लागि उक्त हेलिकप्टरको पाइलटलाई उडानमा रोक लगाएको छ ।
निगमका पाँच पाइलट निलम्बनमा, उडानका नियम पालना नगरेको आरोप
काठमाडौैं नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए । उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए । रासस
धरहरा चढ्न अझै एक वर्ष कुर्नुपर्ने
काठमाडौं । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउँछन् । हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ । धरहराका विशेषता धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तल्लासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । वैशाख १२ गतेको धरहरा क्षेत्र विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो । विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिए । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ । धरहराको इतिहास विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्नुहुन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ । रासस