
काठमाडौं । अर्बौं खर्चेर बुद्ध एयरलाई विश्वकै टप सेन्टाइल गुणस्तरयुक्त वायूसेवा कम्पनी बनाएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बस्नेतले १५०० कर्मचारीहरुलाई नियमित तालिम, भौतिक पूर्वाधार, जगेडा पार्टपुर्जा एवं टुल्सहरुमा अर्बौ रुपैयाँ खर्च गर्दै बुद्ध विश्वकै टप सेनटाइल कम्पनी बनेको बताए ।
‘सन् २०११ सेप्टम्बर २५ को बुद्धको पहिलो दुर्घटनापछि हामीले सुक्ष्म र मिहिन ढंगले इञ्जिनियरिङ, अपेरशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक तप्कामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रावधान अनुरुपको कार्य एवं प्रणाली अँगालेका छौं,’ उनले भने ।
माघ १ गते पोखरामा भएको हवाई दुर्घटनापछि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले नेपालका सबै हवाईसेवा असक्षम एवं असुरक्षित भनेर सम्प्रेषण गरेका खबरले आफुहरुलाई चिन्नित बनाएको बताउँदै उनले बुद्धले गुणस्तर कायम गरी सेवा प्रवाह गरिरहेको बताए ।