९९ जना महिला मिलेर सुरु भएको ‘दिदिबहिनी किचन’, साढे दुई करोड लगानीबाट मासिक २० लाख आम्दानी
पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ । उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् । पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए । महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् । ‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौँ’, गुरुङले भनिन् । महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भएपनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान साढे दुई लाख रुपैयाँ बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ’, सञ्चालक गुरुङले भनिन् । कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ । दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ । उनका अनुसार मासिक २० लाख रुपैयाँ आम्दानी सो रेष्टुराँबाट भइरहेको छ । सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस । रेष्टुराँलाई विस्तार गर्ने योजना रहेकाे उनले सुनाइन् । करिब दुई रोपनीमा रेष्टुरेन्ट फैलिएको उनले बताइन् । अब राति बस्नका लागि पनि व्यवस्था गरिने उनको भनाइ छ । यस्तै, सो रेष्टुराँमा प्रत्येक सदस्यको परिवारले महिनामा एक पटक आएर खानु पर्ने नियम बनाएको बताइन् ।
दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स सिंगापुर पठाईयो
फाइल फाेटाे काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर पठाईएको छ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँच आयोगले उक्त ब्ल्याक बक्सको अध्ययन एवंम अनुसन्धानका लागि सोमबार सिंगापुर पठाएको हो । उक्त जहाजको ब्ल्याकबक्स लिएर संयोजक घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद वास्तोला तथा उक्त जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा गत माघ १ गते यती एयरलाइन्सको जहाज सेतीको खोँचमा खसेको थियो । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले माघ २ गते सो विमानको ब्ल्याक बक्स भेटाएका काठमाडौं पठाएका थिए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।
बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो
बन्दीपुर । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लामो ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको हो । चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो । बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ । चालु आवमा पनि ३७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । कश्याप कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदो लक्ष्यअनुरूपको काम हुन नसकेको अध्यक्ष थापाले बताए । अन्य दिनमा करिब एक सय जनाको हाराहारीमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गरे पनि बिदाको दिनमा दुई सयदेखि तीन सयसम्म हुने गरेको उनले बताए । उक्त दूरीको मिनी ग्रेटवाल फिनिसिङपश्चात् गाउँपालिकाले छलफल गरी टिकट शुल्क कायम गरेर मात्रै पर्यटकलाई प्रवेश अनुमति दिने लक्ष्य बनाएको छ । कूल लागत सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको उनले बताए । नेपाल सरकारको चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । दुईतिर पर्खाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षक बत्ती जडान गर्ने योजना रहेको उनले बताए । मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । जिल्लाको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिने हुनाले यहाँ पुग्ने जो कोही पर्यटक लट्ठै हुने गर्दछन् । रासस