पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए । पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवद्र्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा.गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले सङ्ग्रहालयमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्ने गरेको तर सङ्ग्रहालय अहिले पनि आत्मनिर्भर बन्न नसकेको बताए । यसअघि मुख्यमन्त्री अधिकारी र मन्त्री गुरुङले सङ्ग्रहालय स्थापनाकालमा योगदान गर्ने डा.हर्क गुरुङ, खड्कविक्रम शाह र दावानर्वु शेर्पाको अर्धकदको शालिकमा माल्यापर्ण गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेपाल पर्वतारोहणको झण्डोत्तोलन गर्दै, सङ्ग्रहालय परिसरमा तेजपातको बिरुवा रोपिएको थियो ।

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

काठमाडौं । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् । हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिए। कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताए। यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ । भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।

मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाण्डौंकोे चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । शनिबार विहानै चन्द्रागिरि पुगेका सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै उनले त्यहाँ निर्माण भएका विभिन्न पुर्वाधारहरूको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसंग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भइ यो परियोजना निर्माणमा लागेका थिए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।