विमान दुर्घटनापछि बस व्यवसायीको बिजनेस बढ्यो, विमानस्थल बने सुनसान
काठमाडौं । यती एयरको विमान दुर्घटना भएपछि बस व्यवसायीको बिजनेस बढेको छ । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि यात्रुहरुले हवाइमा यात्रा छोडेर गाडीमा यात्रा गर्न थालेका छन् । जसले हवाइ सेवा पुरानै लयमा फर्कन सकेको छैन । यतीको पोखरा दुर्घटना नेपालको आन्तरिक उडानमा इतिहासकै पहिलो ठूलो दुर्घटना हो । माघ १ गते भएको उक्त दुर्घटनाको असर वायुसेवा कम्पनीमा अझै देखिएको जनाइएको छ । उक्त दुर्घटनापछि आन्तरिक उडानका यात्रुहरु आधाभन्दा बढी घटेको उडान गर्दै आएका वायुसेवा कम्पनिहरुले बताउँदै आएका छन् । उक्त दुर्घटनापछि हवाइ यात्रुहरु डाइभर्ट भएको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनापछि हवाई यात्रुहरु डाइभर्ट भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन् । उनका अनुसार दुर्घटनापछि अधिकांश मानिसहरु अझै जहाज चढ्न डराएर सार्वजनिक तथा रिजर्भ गरेर बस लिएर जानेहरु बढेका छन् । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले (ढिला) हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’ यसले गर्दा बस व्यवसायी तथा हाइसहरुको बिजनेस बढेको छ भने वायू सेवा कम्पनीहरुको घटेको छ,’ उनले भने । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला पनि पछिल्लो समय सडकमार्गमार्फत् यात्रुहरु बढ्ने गरेको बताए । ‘दुर्घटनापछि अहिले जहाज चढ्ने यात्रुहरु सार्वजनिक सवारीमा चढ्न थालेको पाइएको छ, यो अफ सिजनको व्यापार हो’, उनले भने । उनले आफू समेत जहाज छोडेर सार्वजनिक यातायातमार्फत् नै यात्रा गर्न थालेको बताउँछन् । ‘मलाई छिटो नेपालगञ्ज पुगेर काठमाडौं फर्कनु पर्ने थियो, अरु समयमा जहाज चढेर नै यात्रा गर्ने गरेको थिएँ, तर यतीको दुर्घटनापछि जहाज चढ्न मनले मानेन, समय निकालेर गाडीबाटै यात्रा गरिरहेको छु,’ उनले भने । विमानस्थल सुनसान बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले सामाजिक सञ्जाल (टिव्टरमा) लेखेका छन्, ‘राज्यले अर्बौं लगानी गरेको ठाउँमा प्रतिफल खोजिन्छ र खोज्नु पनि पर्छ, पर्यटन क्षेत्र उठ्न नसकेको र काठमाडौंस्थित त्रिभुवन विमानस्थलले समेत पर्याप्त बिजनेस नपाइरहेको अवस्थामा भैरहवा र पोखरा विमानस्थलले ऋणको ब्याज तिर्ने आम्दानी समेत गर्न नसक्ने अवस्था आउनु पीडादायी अवस्था हो ।’ अहिले पोखरा र भैरहवा विमानस्थल मात्रै होइन अधिकांश विमानस्थलको अवस्था यस्तै छ । यतीको दुर्घटनापछि विभिन्न विमानस्थलहरु बजिनेसविहीन बनेका छन् । जनवरी १ तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हाल सुनसान जस्तै बनेको छ । सुनसान पोखरा विमानस्थल । हवाइ यात्रु न्यून हुँदा विमानस्थल सुनसान बनेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल कार्यालयका प्रमुख बिक्रम राज गौतम यतीको दुर्घटनापछि पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन नसकेको बताउँछन् । ‘जनवरी महिना हवाइ उडड्यनको क्षेत्रमा अफ सिजन हो, अफ सिजनको समयमा ठूलो दुर्घटना हुँदा पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन अझै सकेको छैन, बिजनेस घटेको छ, अहिले मानिसहरुले सडकमार्गबाट यात्रा गर्न खोजिरहेका छन्,’ उनल भने । उनले आगमी फ्रेब्रअरी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालिएको बताए । ‘हामीले आगामी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालेका छौँ, रात्रीकालिन उडान सुरु भएपछि हवाई यात्रु बढ्ने हाम्रो अपेक्षा छ’, उनले भने । क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् । यसअघि दिउँसोको ३ बजेपछि पोखरा उडान बन्द हुने गरेको छ ।
पर्यटनमन्त्री किरातीको निर्देशन पछि निगमले सुरु गर्यो अनलाईन टिकेटिङ
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको टिकट अब अनलाईनबाटै काट्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनीको रुपमा रहेको ईसेवाबाट नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानको टिकट खरिद गर्न सकिने भएको हो । ईसेवा वालेटमा उक्त सुविधा केही दिन अघि मात्रै थपिएको हो । यसअघि निगमको केन्द्रीय कार्यालय, वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फतबाट मात्रै टिकट खरिद गर्ने गरिएकोमा अब मोबाइलबाटै टिकट खरिद गर्न सकिने भएको हो । सुरुवाती चरणमा इसेवाबाट उक्त सुविधा दिएको निगमले विस्तारै अन्य पेमेन्ट गेटवेहरु मार्फत समेत टिकट काट्न सकिने सुविधा दिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले एक महिनाभित्र सहज रुपमा अनलाईन मार्फत टिकट काट्न सकिने व्यवस्था लागु गर्न निगम सञ्चालक समितिलाई निर्देशन दिएका थिए । पर्यटनमन्त्रीमा नियुक्त भएपछि निगमको अनुगमनका गएका मन्त्री किरातीले निर्देशन दिएको एक सातामै निगमले अनलाईन मार्फत टिकट् काट्न सकिने व्यवस्था लागु गरेको हो । यसअघि निगमले अनलाईन बाटै टिकट काट्न सकिने व्यवस्था लागु भैसकेको जनाएको थियो । निगमको बेवसाइटमा अनलाईन मार्फत टिकट काट्न सकिने सुविधा रहेको उल्लेख भएता पनि डिजिटल वालेटबाट टिकट काट्ने सुविधा उपलब्ध गराईएको थिएन ।
जनवरीमा भित्रिए ५५ हजार पर्यटक, कुन देशबाट कति संख्यामा आए ?
काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गरे । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन् । अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ । सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ। कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो। उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो । रासस