काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । माघ १ गते यती एयरलाइन्सको पोखरा दुर्घटनापछि प्राधिकरणले उडानलाई सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
हवाइ दुर्घटनाको मुख्य कारण क्याप्टेनको मेन्टालिटी रहेको जनगुनासो आउने गरेपछि प्राधिकरणले दैनिक उडान आवर तथा उडान/अवतरणको संख्यालाई कटौति गर्ने तयारी थियो ।
प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन् । यसअघि दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था थियो ।
यसअघि एक क्यापटेनले सातामा ४२ घण्टा उडान गर्नुपर्नेमा त्यसलाई कटौति गरी सातामा ३६ घण्टामा झार्न लागिएको हो । सातामा ६ दिन काम गर्ने पाइटलले अब ५ दिनमात्रै उडान गर्न पाउने छन् ।
दैनिक धेरै उडान हुँदा त्यसको असर क्यापटेनको मानसिकतामा पर्ने भएपछि उडान आवर र अवतरणको संख्या घटाउने तयारी थालिएको क्यानले जनाएको छ । प्राधिकरण महानिर्देशकबाट सर्कुलर जारी गर्ने विषयमा निर्णय भइसके पनि सरोकारवालासँग छलफल गरी जारी गर्ने तयारी भएको छ । नयाँ सर्कुलर समर सेड्युलबाट लागू गर्ने तयारी भएको छ ।
यस्तै, नयाँ सर्कुलरमा आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्ने नपाइने व्यवस्था लागु गर्न लागिएको छ । यसैगरी पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्याण्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिट माथि हुनु पर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तिमा १ हजार फिट माथि हुनु पर्ने व्यवस्था सहितको सर्कुलर जारी गर्ने तयारी गरिएकाे छ ।
वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने विषय पनि नयाँ सर्कुलरमा राखिएको छ ।
क्यापटेन भन्छ्न् : दैनिक ६ घण्टा उपयुक्त
प्राधिकरणले दैनिक ८ वटा ल्यान्डिङ गर्न पाउने व्यवस्था लागू गर्नु सकारात्मक भएको क्यापटेनहरुले बताएका छन् । यसअघि दैनिक १० वटा ल्यान्डिङ गर्दै आएका वायुसेवाका क्यापटनेहरु दैनिक ८ वटालाई अझै कटौति गरी दैनिक ६ वटा बनाउनु उपयुक्त हुने बताउँछन् ।
नेपाल वायुसेवा निगममा कार्यरत एक क्यापटने दैनिक १० वटा ल्यान्डिङलाई ६ वटामा झार्नु उपयुक्त हुने बताउँछन् । ‘दैनिक १० वटा ल्याडिङ रहेकोमा त्यसलाई ८ वटामा झार्नुभन्दा ६ वटा बनाउनु उपयुक्त हो, सन् २०१८ मा म्याङलोरमा भएको दुर्घटनापछि भारतले दैनिक ६ वटा ल्याडिङ राखेको छ’, उनले भने, ‘नेपालको जस्तो भौगोलिक विकटता भारतमा छैन, समथर नै छ, भारतमा उक्त दुर्घटनापछि दैनिक ६ वटा ल्यान्डिङ मात्र दिईएको हो, त्यही अनुसार नेपालमा पनि दैनिक ६ वटा ल्याणिङ बनाउनुपर्छ ।’
नेपालमा मासिक १०० घण्टाभन्दा बढी उडान गर्न पाइँदैन । तर, निजी क्षेत्रका वायुसेवा कम्पनीमा कार्यरत क्यापटेनहरुले दैनिक १०० घण्टाभन्दा बढी उडान गर्ने गरेका छन् । उनीहरुले ल बुकमा १०० घण्टा मात्र उल्लेख गर्ने र त्योभन्दा बढी उडान भरेको रकम लिने गरेका छन् ।