होटेल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
लुम्बिनीमा म्यारियट प्रवेश, नेपालको पहिलो पाँचतारे वाटर तथा इको–रिसोर्ट सञ्चालनमा आउने
काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलसँग साझेदारी गरी ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डअन्तर्गत रिसोर्ट सञ्चालन हुने भएको छ । दुवै पक्षबीच औपचारिक होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) मा हस्ताक्षर भएसँगै रिसोर्टलाई पाँचतारे स्तरमा स्तरोन्नति गरिने भएको हो । रिसोर्ट रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा सन् २०१८ देखि सञ्चालनमा छ। काठमाडौं उपत्यकाबाहिर नेपालमा म्यारियट इन्टरनेशनलको यो पहिलो तथा एकमात्र उपस्थिति हो । सम्झौता दुवै संस्थाका शीर्ष नेतृत्वको उपस्थितिमा सम्पन्न भएको हो । सम्झौतामा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशनकुमार न्यौपाने सहभागी थिए भने म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्यासिफिक क्षेत्रका चिफ अपरेसन अफिसर नीरज गोविल, दक्षिण एशिया विकास विभागका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोय सहभागी थिए । रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे होटल सञ्चालनको इजाजतपत्र प्राप्त गर्ने लक्ष्य लिएको जनाएको छ । ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ अत्याधुनिक प्रविधि र विश्वस्तरीय सेवासुविधासहित नेपालको पहिलो तथा एकमात्र पाँचतारे वाटर रिसोर्टका रूपमा सञ्चालनमा आउनेछ । रिसोर्टमा म्युजिकल फाउन्टेन, थ्री डी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट तथा वाटर स्पाजस्ता सुविधा समावेश गरिनेछन् । साथै वैश्विक जलवायु चुनौतीलाई ध्यानमा राख्दै परियोजनालाई ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्टका रूपमा विकास गरिएको जनाइएको छ । परियोजनाले नेपालमा खेलिने प्रमुख खेलकुदलाई समर्थन गर्ने विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै रिसोर्टलाई स्पोर्ट्स टुरिज्मको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ । यससँगै रिसोर्टले नेपालको पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्टका रूपमा नेचुरोथेरापी अभ्यास गर्ने पनि जनाइएको छ । रिसोर्ट परिसरमा बुद्ध थिम पार्क निर्माण गरिने बताइएको छ, जसअन्तर्गत मिनी स्तूपा, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक केन्द्र समावेश हुनेछन् । रिसोर्टलाई अन्तर्राष्ट्रिय सम्मेलन, डेस्टिनेसन विवाह तथा वाटर, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । परियोजनाले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, लुम्बिनी प्यालेस रिसोर्टले उक्त परियोजनामा सार्वजनिक लगानी आकर्षित गर्न प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओको लागि तयारी भइरहेको जानकारी पनि दिएको छ ।
हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द
पेरिस । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन् । मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए । उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ । हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । तर, यातायात अधिकारीहरूका अनुसार मेट्रो र उपनगरीय रेल सेवाहरूको ठूलो हिस्सा भने सञ्चालनमै रहेको छ, जसले यात्रुहरूलाई आंशिक राहत दिएको छ । फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सले देशका ९६ मुख्य भूमि विभागहरूमध्ये ३८ विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ । ती क्षेत्रमा तीनदेखि सात सेन्टिमिटर अर्थात् करिब एकदेखि तीन इन्चसम्म हिउँ जमिसकेको छ । मौसम सेवाले हाल देखिएको चिसोलाई ‘यस मौसमका लागि दुर्लभ रूपमा तीव्र’ भएको उल्लेख गरेको छ । यसअघि नै अधिकारीहरूले पेरिस क्षेत्रका बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भव भएसम्म बुधबार घरबाटै काम गर्न आग्रह गरेका थिए । यस जाडोयाममा युरोपले भोगेको सबैभन्दा कडा चिसोका क्रममा फ्रान्समा मौसमसँग सम्बन्धित दुर्घटनामा हालसम्म कम्तीमा छ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । चिसो अझै केही समय कायम रहन सक्ने अनुमान गरिएकाले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । रासस