प्रधानमन्त्रीको भ्रमणमा नेपालगञ्ज-दिल्ली उडान मुद्दा राख्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई केन्द्रित गरी नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज काठमाडौंमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । उनीहरुले नेपालगञ्ज-दिल्ली सिधा उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे । सन् २०१८ मा नेपालगन्जदेखि दिल्ली बुद्ध एयरले सिधा उडान सञ्चालन गरेको थियो । तर, उडान सुरु गरेको एक महिनापछि भारतीय अधिकारीहरूले ‘स्लट’ उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो । त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधि लगायतले स्थगित उडान पुनः सञ्चालनको माग गर्दै आएका छन् । नेपालगञ्ज–दिल्ली उडानमा भारतीय पक्षले पनि चासो दिएको सम्बद्ध अधिकारीको भनाइ छ । नेपालगञ्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरूको भनाइ छ । उडान स्थगित हुनेमा भारतीय पक्षको सुरक्षा चासो भएकाले सुरक्षाको क्षेत्रका आशंका हटाइ भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीमार्फत विश्वास दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ । छलफलमा पश्चिम नेपालका प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो । सांसद सञ्जय गौतम, डा धवलशमशेर राणा, शक्ति बहादुर बस्नेत, सूर्य ढकाल, महेश्वर जङ्ग गहतराज, दीपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खान लगायतले नेपालगञ्ज-दिल्ली सिधा उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, महासङ्घका पूर्व अध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगञ्ज-दिल्ली सिधा उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै यसका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे । पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्यका साथै विभिन्न जडीबुटी, कृषि उत्पादन तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामीले सिधा उडानका लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए । सांसद सञ्जय गौतमले नेपालगन्जको भौगोलिक, सांस्कृतिक र आर्थिक क्षमता उच्च रहेकाले सिधा उडान विकासको महत्त्वपूर्ण चरण हुने बताए । सांसद अब्दुल खानले नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा अग्रणी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सांसद धवल शमशेर राणाले भने, ‘जुन दिन नेपालगञ्ज-दिल्ली सिधा उडान सुरु हुन्छ, त्यही दिन कर्णाली र सुदूरपश्चिमको कायापलट हुनेछ ।’ सांसद शक्ति बहादुर बस्नेतले आवश्यक पूर्वाधार र नीतिगत सहयोगका लागि पूर्ण समर्थन जनाए ।
तारे होटलमा तात्तातो कोदोको सेल
काठमाडौं । नेपाली तारे होटलमा नास्तासँगै बारा, अम्लेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानिलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ । पाँच तारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौं परिकारमध्ये कोदोको सेल रोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासना दार सेल रोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेल रोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेल रोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी-थपी खाए । रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेल रोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ-किचन रहेको स्टलमा कोदोको सेल रोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यान केक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो । नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मान बहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए । विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् । ‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ,.’ अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्युमा आवश्यक छ ।’ अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ । नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । ‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो,’ संयोजक सापकोटाले भने । सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँच तारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए । ‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर विस्तारै कोदो फापर सिस्नो जस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसके सबै होटल रेष्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ,’ उनले भने । अभियानले यसअघि विभिन्न रेस्टुराँ मार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच सँस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए ।
जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना, कालीदास बाबाले गरे उद्घाटन
काठमाडौं । काठमाडौंको सोर्हखुट्टेमा सञ्चालित जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना भएको छ । हनुमानको मूर्तिको उद्घाटन भारतका प्रसिद्ध धर्मगुरु कालिदास बाबाले गरेको होटलका अध्यक्ष उमेश गुप्ताले जानकारी दिए । उनका अनुसार मूर्ति उद्घाटनको लागि कालिदास बाबा आइतबार बिहानै होटल आइपुगेका थिए । उनलाई अध्यक्ष गुप्ता र होटलकै सञ्चालक साजन शाक्यले स्वागत गरेको थिए । नेपालमा कालिदास बाबाको आगमनले भारतमा पर्यटनको राम्रो प्रचारप्रसार हुने र नेपालको पर्यटनमा टेवा पुग्ने शाक्यले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेको छ । शाक्यले भने, ‘उहाँले नेपालको हस्पिटालिटी, स्थानीय खानाको बारेमा राम्राे प्रतिक्रिया दिनु भएको छ । यसले भारतका अन्य पर्यटकहरू नेपाल आउन थप प्रोत्साहित हुने विश्वास लिएको छौं ।’