२७औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्को : नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा आसियान मुलुकलाई नेपालको लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका छन् । सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने जानकारी दिएका छन् । कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ थिए । जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान प्रस्तुत गर्दै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन् । उनीले जेन्जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, र पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी दिएका छन् । एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ । शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने छ। जोशीले आगामी २०२६–२०३५ को रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्र र सरकारसँग समन्वय गरी कार्यक्रमहरू केन्द्रित गरिएको जानकारी दिए भने कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावलीमा सुधार र कर्मचारी पदपूर्तिमा ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । यस अवसरमा बोर्डको वार्षिक प्रकाशन ‘इन(फोकस)’ पनि विमोचन गरिएको छ ।

दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको हायात प्लेस बुटवलको दावी

काठमाडौं । बुटवलस्थित हायात प्लेसले सञ्चालनको केवल दुई महिनामै पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ ।  प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनुपम संगम रहेको यस लोकेसनले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई विशेष रूपमा आकर्षित गरेको होटलको भनाइ छ।  छोटो हवाई दुरीका कारण काठमाडौंबाट सहज पहुँचका साथै पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख गन्तव्यहरूसँगको नजिक हुनुले पनि हायात प्लेस बुटवल यात्रुहरूको ‘ट्रान्जिट हब’ का रूपमा स्थापित हुँदै गइरहेको जनरल म्यानेजर तुषार नगरले दावी गरे । उनका अनुसार हायात प्लेस बुटवल अब आराम, गुणस्तरीय सेवा र स्मरणीय अनुभवको खोजीमा रहेका यात्रुहरूका लागि संधै पहिलो रोजाइ बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ। पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने लक्ष्यअनुसार हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको थियो । हायातको ‘पाहुनाको सत्कारमा कुनै कमी नराख्ने’ मूलमन्त्रलाई आत्मसात गर्दै हायात प्लेस बुटवलले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सेवाहरूको संयोजनमार्फत आधुनिक तथा व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । होटेलमा किंग र ट्विन कोठासहित फरेस्ट भ्यू तथा हिल भ्यूका विकल्पहरू उपलब्ध छन् । ३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला गेष्ट–रुम र सुइटहरू रहेको यस होटलको मुख्य आकर्षण १ हजार ५६० वर्गफिट क्षेत्रफलमा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो । साथै १५० जनासम्म अटाउने ग्रान्ड बलरुमसहित विविध कार्यक्रम तथा मिटिङका लागि आवश्यक संरचना पनि उपलब्ध गराइएको छ । होटेलले प्रदान गर्ने सुविधाहरूमा १०९ फराकिला गेष्ट–रुम, काम, विश्राम र रमाइलो गर्ने छुट्टाछुट्टै स्थानसहितका ‘कोजी कर्नर’ सोफा–स्लिपर बेड, तातो तथा चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट, दिनरात जुनसुकै बेला खाना पाउन सकिने ‘द मार्केट’, प्रिमियम बियर, वाइन, कफी तथा ककटेल पाइने ‘जिङ बार’ प्रमुख छन् ।  साथै पाहुनाले बिर्सिएका आवश्यक सामग्री किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम, निःशुल्क वाइफाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा किड्स प्ले एरियाजस्ता पारिवारिक सुविधा पनि उपलब्ध गराइएको छ । होटेलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ बेनर्जीले सम्हालेका छन् । नगरले दैनिक सञ्चालन, कर्मचारी व्यवस्थापन तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्छन् । त्यस्तै, बेनर्जीले बुटवल क्षेत्रमा आउने यात्रु तथा मिटिङ आयोजकहरूलाई आवश्यक सेल्स सहयोग तथा सेवा प्रदान गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्  । 

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

नारायण ढुङ्गाना काठमाडौं । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’ का रुपमा विकास भएको छ । सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरू भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छे बीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।’ भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तर्राष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ । ‘यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो,’ क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्छन् । उनले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौराहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उनले भने । अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटन विज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ । सौराहामा रहेका हात्ती चितवनकै सान हो । यहाँ टाँगा, घोडाहरू लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्ती विज्ञ डा कमल गैरे बताउँछन् ।  उनी भन्छन्, ‘वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिस्क्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।’ यसरी सुरु भएको थियो हात्ती महोत्सव क्रिसमसका समयमा सौराहामा पर्यटक शून्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सुरुवात गर्ने मध्येका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गरेका थिए । पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उनले सो प्रस्ताव गरेका थिए । त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उनीहरूसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान (लस्कर) र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाए । सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँग सम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यवसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरू पुगे । त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यावसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरूलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तर्राष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो । त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगर टप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई वृहत् बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपालि हात्तीको पूजा पनि गरिएको छ । हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीबानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरू यहाँ लालायित हुन्छन् । पर्यटकहरू चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो । महोत्सव हात्तीमैत्री  अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरुले हात्ती दौडको विरोध हुन थालेका थिए । त्यसपछि हात्तीहरुलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु गरिएको थियो । हात्तीका छावाबीचको फुटबल सुरु गरियो । छावा बीचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजंगको हात्तीले मान्छेले झैँ गोलपोष्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरू लालायित भए । दर्शकले भरपूर मनोरञ्जन लिए । त्यसपछि ब्राण्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज सुरु भयो र अहिले पनि जारी छ । विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरूले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरूसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो । थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्छन् । अनुगमन समिति नै बनाएर काम गरिएको उनले बताए । विस्तारै यसपालि हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रम आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रुप पनि प्रस्तुत गरिएको थियो । अहिले हात्ती वनभोज पेनाल्टी सुट आउटको विरोध भइरहनुले गलत नियत जोडिएको दावी गर्नुहुन्छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल ।  उनी भन्छन्, ‘अधिकारकर्मीहरूले वास्तविकता के हो, हात्तीको दिनचर्या के हो रु हात्तीको खाना के हो रु भनेर बुझ्नुपर्छ, उसलाई चलायमान पनि गराउनुपर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।’ कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरूको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउँछन् । ‘कुनै पनि क्रियाकलाप हात्ती मैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौं लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन,’ उनले भने, ‘आएका पर्यटकहरू हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।’ हात्ती महोत्सवको विरोध गर्दै आएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारको लागि आवाज उठाएको बताउँछन् । उनले भने, ‘हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्व पनि ठूलो छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।’ उनीहरूकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष दीपक भट्टराई बताउँछन् । ३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्ती विज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, बिहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरुको स्वास्थ्यका लागि राम्रै भएको प्रतिक्रिया दिन्छन् ।  उनले भने, ‘यातना दिनुहुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरुको काम हो ।’ रासस