अब आन्तरिक उडानमा पनि रात्रिकालीन सेवा, अनलाइन भिसाको व्यवस्था गरिँदै
काठमाडौं । सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन नीति, २०६५ लाई विस्थापित गरेर सरकारले नयाँ नीति जारी गरेको हो । पर्यटन व्यवसायीहरूले लामो समयदेखि नयाँ पर्यटन नीति लागू हुनुपर्ने माग राख्दै आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयनका लागि सार्वजनिक गरेको पर्यटन नीतिमा पर्यटन क्षेत्रसँग सम्बन्धित विविध विषयहरू समेटिएका छन् । पर्यटन नीति, २०८२ मार्फत सरकारले राजधानी बाहिरका सम्भावित विमानस्थलहरूलाई क्षेत्रीय हबको रूपमा विकास गरी अन्तरदेशीय तथा अन्तरक्षेत्रीय हवाई सेवा सञ्चालन गर्ने भएको छ । त्यस्तै, राजधानी बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रोत्साहित गरिने विषय नीतिमा समेटिएको छ । सरकारले पर्यटन प्रवर्द्धन गर्न विदेशी चेन होटलसँग सहकार्य गर्ने भएको छ । त्यसैगरी, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण र सञ्चालन गर्न निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने भएको छ । पर्यटन सेवामा पहुँच वृद्धि गर्न हवाई सेवालाई थप सुरक्षित, व्यवस्थित र नियमित बनाइ पर्यटन स्रोतबजारमा सेवा विस्तार गरिने पर्यटन नीति, २०८२ मा उल्लेख छ । नियमित यातायातका साधन उपलब्ध नहुने स्थानमा पर्यटकको तत्काल खोज तथा उद्धार गर्न पर्यटक सहायता केन्द्रको स्थापना गरिने समेत नीतिमा समेटिएको छ । नयाँ नीतिमा संरक्षित क्षेत्र र निषेधित क्षेत्रको भ्रमण तथा पदयात्रालाई सहज बनाउन विद्यमान कानुनी व्यवस्थामा पुनरावलोकन गरिनेछ । पद मार्ग तथा ग्रामीण क्षेत्रका सम्भाव्य वस्तीमा घरबास (होमस्टे) सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ । पदयात्राका लागि खुला भएका मार्गहरूको स्तरोन्नति गरिनुका साथै नयाँ तथा वैकल्पिक पद मार्गको पहिचान र विकास गरिनेछ । पर्यटन सेवा क्षेत्रलाई प्रवर्द्धन गर्न कानुनबमोजिम आवश्यक छुट, सहुलियत, प्रोत्साहन तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । त्यसैगरी, बुढ्यौली पर्यटन प्रवर्द्धनका लागि समेत विशेष सहुलियतसहितका स्किमहरू ल्याउने भएको छ । सभा–सम्मेलन–गोष्ठी र सेमिनार (माइस) पर्यटन प्रवर्द्धन गर्न पनि विशेष सहुलियतहितको स्किम सञ्चालन गर्ने नीतिमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकार, निजी क्षेत्र, समुदाय, सरोकारवालाको समन्वय र सहकार्यमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । यसका प्रमुख आन्तरिक पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार गर्ने, यात्रा उत्प्रेरणा बिदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणलाई विशेष सहुलियत सहितका स्किमहरू कार्यान्वयन गर्ने भएको छ । आन्तरिक पर्यटनको प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिसहित रैथाने खानाको प्रवर्द्धन गर्ने नीति पनि सरकारले लिएको छ । पर्यटन क्षेत्र प्रवर्द्धनका लागि आवश्यक छुट र सहुलियतको व्यवस्था गर्ने पनि पर्यटन नीति, २०८२ मा उल्लेख गरिएको छ । अनलाइन भिसा प्रदान गर्ने व्यवस्था मिलाइने पर्यटक आवागमनलाई सहज बनाउन भिसा प्रक्रियालाई सरलीकरण गर्ने र अनलाइन भिसा प्रदान गर्ने व्यवस्था मिलाइने नीतिमा व्यवस्था गरिएको छ । सरकारले स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकहरूको आवागमन सहजीकरणका लागि प्रदेशसँगको सहकार्यमा मुख्य नाकाहरूमा एकीकृत पर्यटन सेवा केन्द्रको स्थापना र सञ्चालन गर्ने भएको छ । त्यस्तै, पर्यटन व्यवसायको दर्ता, नवीकरण, खारेजीजस्ता प्रशासनिक सेवाको वर्गीकरण गरी प्रदेश तथा स्थानीय तहसँग समन्वय एवं सहकार्य गरिने भएको छ । पर्यटकका लागि उपलब्ध गराइने सेवा सुविधालाई गुणस्तरीय बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार एवं स्थानीय तहसँग समन्वय गरिने नीतिमा उल्लेख छ । नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी तथा चलचित्रमा अभिनय गर्ने कलाकारका लागि भिसा शुल्क नलाग्ने व्यवस्था गरिने भएको छ । आन्तरिक विमानस्थलहरूमा रात्रिकालीन उडान गरिने सरकारले पर्यटन नीतिमार्फत सम्भाव्यता र आवश्यकताको आधारमा आन्तरिक विमानस्थलहरूमा रात्रिकालीन उडान गर्ने भएको छ । विमानस्थल, सडक र पदमार्ग तथा केबलकारको विस्तार र स्तरोन्नति गरिने नीतिमा उल्लेख छ । सार्वजनिक र निजी क्षेत्रबाट पर्यटकीय स्थलमा निर्माण हुने पूर्वाधारको गुणस्तर र सुरक्षा मापदण्ड निर्धारण गरी सोको अनिवार्य पालना गर्ने व्यवस्था गरिने भएको छ । नियमित यातायातका साधन उपलब्ध नहुने स्थानमा पर्यटकको तत्काल खोज तथा उद्धार गर्न पर्यटक सहायता केन्द्रको स्थापना गरिने नीति सरकारले लिएको छ । पदयात्राका लागि खुला भएका मार्गहरूको स्तरोन्नति गरिनुका साथै नयाँ तथा वैकल्पिक पदमार्गको पहिचान र विकास गरिने पनि नीतिमा उल्लेख छ । चौबीसै घण्टा हेल्पलाइन सेवा सुरु गरिने पर्यटक प्रहरीको प्रभावकारी परिचालन गरी चौबीसै घण्टा हेल्पलाइन सेवा सुरु गरिने नीतिमा व्यवस्था छ । पदयात्रा अनुमति प्रणालीलाई सूचना प्रविधिमा आधारित एकद्वार प्रणालीमा आवद्ध गरिने उल्लेख छ । विमानस्थल, सडक र पदमार्ग तथा केबलकारको विस्तार र स्तरोन्नति गरिने भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट पर्यटकीय स्थलमा निर्माण हुने पूर्वाधारको गुणस्तर र सुरक्षा मापदण्ड निर्धारण गरी सोको अनिवार्य पालना गर्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ । प्रदेश तथा स्थानीय तहमा खेल पर्यटन प्रवर्द्धन गर्न सार्वजनिक-निजी साझेदारीमा खेलकुद पूर्वाधारमा लगानी आकर्षित गरिने नीतिमा समावेश छ । एक वर्षभित्र टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने आगामी एक वर्षमै सरकारले टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने भएको छ । पर्यटन नीति, २०८२ ले पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्यांक तथा सूचना अद्यावधिक गर्ने र पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने भएको हो । उक्त कार्यका लागि अध्यागमन विभाग, भन्सार विभाग र पर्यटन सम्बद्ध निजी क्षेत्रसँग समन्वय गर्ने भएको छ । पर्यटकीय गन्तव्यहरूमा हुने जोखिम न्यूनीकरण गर्ने जलवायु परिवर्तनबाट पर्यटकीय सम्पदामा पर्न सक्ने जोखिम र प्रभाव न्यूनीकरणका बारेमा व्यापक प्रचारप्रसार गरिने विषय सरकारले नीतिमा समेटेको छ । स्थानीय तहसँगको समन्वयमा पर्यटकीय क्षेत्रमा वातावरण अनुकूलनका क्रियाकलाप सञ्चालन गरिने भएको छ । पर्यटकहरूका साथमा जाने पथ प्रदर्शक र सहयोगीलाई वातावरण संरक्षणसम्बन्धी तालिम तथा अभिमुखीकरण प्रदान गरिने नीतिमा उल्लेख छ । पर्यटन क्षेत्रबाट प्राप्त लाभमा स्थानीय समुदायको समन्यायिक सहभागिताको व्यवस्था गरिने नीतिमा समेटिएको छ । त्यस्तै, पर्यटकीय गतिविधिमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै रोजगारी र आयआर्जनका कार्यक्रममा सहभागी गराइने भएको छ । एकीकृत विद्युतीय प्रणालीको विकास गरी सञ्चालनमा ल्याइने सार्वजनिक निकायबाट प्रदान गरिने पर्यटन सेवालाई विद्युतीय माध्यमबाट प्रदान गरिने व्यवस्था मिलाइने भएको छ । सम्बन्धित मन्त्रालय/निकायको समन्वयमा विद्यालय तथा उच्चशिक्षाको पाठ्यक्रममा आन्तरिक पर्यटनसम्बन्धी विषय समावेश गरिनेछ। विद्यालय तथा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई शैक्षिक पर्यटकको रूपमा आन्तरिक भ्रमण गराउन प्रोत्साहन गरिने भएको छ । पर्यटकीय वस्तु र सेवाको गुणस्तरीयता कायम गर्न तथा जनशक्तिको विकास गर्न सम्बद्ध विज्ञ तथा जानकारहरूलाई परिचालन गरिने भएको छ । पर्यटनसम्बन्धी सम्पूर्ण सूचना सहज रूपमा उपलब्ध गराउन एकीकृत विद्युतीय प्रणालीको विकास गरी सञ्चालनमा ल्याइने भएको छ । पर्यटन उद्योगलाई उद्योग सरह सेवा सुविधा उपलब्ध गराउने पर्यटन नीतिमार्फत पर्यटन उद्योगलाई अन्य प्राथमिकता प्राप्त उद्योगसरह सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरिने भएको छ । यसअघि सरकारले बजेटमा पनि यो व्यवस्था समेटिएको थियो । यसबाहेक पर्यटन नीति २०८२ मा अन्य विविध विषयहरू पनि समेटिएका छन् । जसमध्ये नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रणाली र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, पर्यटन क्षेत्रको जनशक्ति उत्पादन गर्ने उत्कृष्ट संस्थाको रूपमा विकास गरिनेछ भएको छ । फन पार्क, मनोरञ्जन क्षेत्र, टाकुरा जस्ता पर्यटकीय वस्तुहरूको विकासमा निजी क्षेत्रलाई आकर्षित गरिने नीतिमा उल्लेख छ । त्यस्तै, पर्यटन व्यवसायलाई विविधीकरण गरी कृषि पर्यटन, ग्रामीण पर्यटन, खेल पर्यटन, पर्यटकीय गतिविधिको विस्तार गरी रोजगारीका अवसरहरू सिर्जना गरिने नीतिमा व्यवस्था गरिएको छ । नव प्रवर्तनमा आधारित पर्यटन क्षेत्रमा युवा व्यवसायी आकर्षण गर्न सुरुवाती पुँजी मार्फत स्वरोजगारी सिर्जनामा जोड दिइने लगायत व्यवस्थाहरू नीतिमा समेटिएको छ।
बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले आज साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेसन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
सडकको अवस्था नराम्रो हुनाले चितवन निकुञ्जमा घुम्ने पर्यटक घटे
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए। त्यसमध्ये एक लाख १७ हजार दुई सय छ जना स्वदेशी थिए । निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्क बाहेकका देशबाट ८९ हजार तीन सय २३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् । यो महिनामा ३२ हजार दुई सय ५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउन सात हजार तीन सय नौ जनाले निकुञ्ज घुमेका छन् । सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा कमी आएको थापामगरले बताए । उनले यस आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताए । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए । उनले अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमि आएको बताए । उनले विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन सकिने धारणा राखे । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । रासस