बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी दिए । हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाइ छ । उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए । उनका अनुसार शुक्रबार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए । उनले भने, ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरु प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साइडबाट हेर्दा हामीले मौसमहरु हेर्ने हो । मोसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ ।’ काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिव ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानियहरुले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए । दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भईरहेको छ ।
म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुंदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्र्याक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरी गाउँपालिकाको बा १ झ ७०७ नम्बरको गाडी पहिलो पटक शुक्रबार ढोरपाटन पुगेको हो । धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुककोको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको हो । 'बेनीदेखि ७५ किमीको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रुपमा लिएका छौ,' उनले भने 'बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधा भन्दा धेरै छोटो यो सडक पुर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ ।' मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किमी छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले बिनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजना मार्फत म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनीदेखि देखि ढोरपाटनको जलजला सम्म सडकको ट्र्याक खुलेको छ । मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ किमी सडक हालै मर्मत गरेर सवारीसाधन सञ्चालन गर्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकमा पर्ने तीन हजार मिटर भन्दा बढी उचाईको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जिप, ट्याक्टर र मोटरसाइकल सञ्चाल नगर्न सकिने उपाध्यक्ष पुनले बताए । मुनादेखि तल्लो जलजलाको दुरी १४ किमी छ । ढोरपाटनबाट जलजला जोड्ने १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो । मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलाहरुमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न समस्या छ । बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरीया–मरेनी हुँदै जलजला करिब ६४ किमी सडकको मार्ग खुलेको हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किमी दूरी छोटिने जानकारी दिए । उनका अनुसार पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ । धवलागिरी–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किमीको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनी देखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तब्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरुको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् । रासस
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन् । घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए । उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो । रासस