प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

सन्तोष गौतम काठमाडौं । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन् । आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ,’ उनले भने । तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका-२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए ।  तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए ।  ‘चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ । शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो,’ उनले भने । विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार  गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब ३ लाख रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिका-५ देउरालीदेखि तीनचुले जोड्ने ७ किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै २ घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ ।  दुई जिल्लाको सम्बन्धको सेतु  तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् ।  ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल) ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनको भनाइ छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । ‘तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ । पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ,’ उनले भने ।  रासस

होटलमा लगानी थप्दै भीआईपी व्यवसायी, यी हुन् काठमाडौंमा बन्दै गरेका पाँचतारे होटल

काठमाडौं । काठमाडौं उपत्यकाको दृश्य पछिल्लो समय क्रेन र कंक्रिटको हलचलले बदलिएको छ । उपत्यकामा दर्जनभन्दा बढी पाँचतारे होटलहरू एकपछि अर्को निर्माण भइरहेका छन् । नयाँ परियोजनाहरू नक्सा पासको तयारीमा छन् भने केहीले २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएका छन् । तीव्र रूपमा बढ्दै गएको निर्माणले उपत्यकाको होटल बजारमा नयाँ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ ।  लगानीकर्ताको उत्साह ठूलो छ, तर बजार भने त्यति सहज छैन । कोभिड-१९ महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा उठ्न सकेको छैन । राजनीतिक तथा नीतिगत अस्थिरता र आर्थिक सुस्तताले सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्रको चुनौतीलाई सामना गर्दै ठूला व्यवसायीहरू होटल क्षेत्रमै लगानी बढाइरहेका छन् ।  अहिले पनि राम्रै होटल सञ्चालन गरिरहेका अधिकांश व्यवसायीहरुले थप नयाँ परियोजना सुरु गरिरहेका छन् । उनीहरूले चुनौतीमै बलियो सम्भावना देखेर एकपछि अर्को नयाँ होटल परियोजना सुरु गरिरहेका छन् । विदेशबाट फर्किएर स्वदेशै केही गर्छु भनेर एकपछि अर्को नयाँ परियोजनामा हात हालिरहेका कर्मा तेञ्जिङ हुन् वा लामो समय होटल क्षेत्रमै क्रियाशील रहेर बन्द भइसकेको अन्नपूर्ण होटलको सेयर बिक्री गरेर नयाँ सेयरधनी भित्र्याएकी सिर्जना राणाहरू नै किन नहुन् सबैले होटल क्षेत्रमा नयाँ अवसर र सम्भावना देखेका छन् ।  नेपाली व्यवसायीमाझ आकर्षक छवि बनाएका सिद्धार्थ राणा, होटल मेरियट सञ्चालन गरेर सफल व्यवसायीको परिचय बनाएका शशिकान्त अग्रवाल र आफूलाई अर्बपति भनेर चिनाउन मन पराउने विनोद चौधरीहरूले एकपछि अर्को नयाँ होटलमा लगानी थप्दा यो क्षेत्रमा थुप्रै अवसर रहेको बुझाइ अधिकांश व्यवसायीको छ ।  उपत्यकामा पाँचतारे होटलहरूको संख्या बढेसँगै प्रत्यक्ष रूपमा सेवा प्रतिस्पर्धा, रोजगारी र सहायक व्यवसायहरू विस्तार हुने अपेक्षा छ । चुनौती धेरै भए पनि लगानीकर्ताले उपत्यकाको भविष्यमा विश्वास गर्दै ‘फाइभ–स्टार रेस’लाई तीव्र बनाइरहेका छन् । त्यसैले त सुपरमार्केट व्यवसायमै व्यस्त मीनबहादुर गुरुङ र शिक्षाक्षेत्रमै सक्रिय उमेश श्रेष्ठहरू पनि हस्पिटालिटीमा छिरेका छन् । उसो त व्यवसायी शेष घलेले सुविधा सम्पन्न होटल शेराटन निर्माण गर्छु भनेर तम्सिएको वर्षौं बित्यो । उनले हालसम्म होटल शेराटनको निर्माण सम्पन्न गरिसकेका छैनन् । उनी सो परियोजनामा समयमै सफल हुन नसके पनि व्यवसायीको लगानीका लागि आकर्षणको क्षेत्र भने हस्पिटालिटी नै देखिएको छ । होटल विभागका अनुसार काठमाडौंमा एक दर्जन बढी पाँचतारे होटलहरू निर्माणाधीन अवस्थामा छन् । आज हामीले काठमाडौंमा निर्माणाीधीन अवस्थामा रहेका पाँचतारे होटलको बारेमा सामग्री तयार गरेका छौं ।  ‘द ओबरोय काठमाडौं’ काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ बढी लगानीमा सुविधा सम्पन्न पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ । होटलको निर्माण कार्य सुरु भइसकेको छ ।  सिप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लम्जरियस होटल ‘द ओबरोय काठमाडौं’ होटल निर्माण गर्न लागेको हो । उक्त होटल सन् २०२९ को जुनसम्ममा निर्माण सम्पन्न गरी व्यावसायिक कारोबार गर्ने योजना बनाएको छ ।  कम्पनीअनुसार यो होटल निर्माण सम्पन्न सन् २०२६ को डिसेम्बरसम्ममा सम्पन्न हुनेछ । व्यवसायिक कारोबार भने सन् २०२९ बाट गर्ने कम्पनीले लक्ष्य लिएको छ । कम्पनीले ७५ वटा लक्जरियस कोठाको सुविधासहित होटल निर्माण गर्ने भएको छ । कम्पनीले प्रतिकोठाको लागत ९ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । कम्पनीमा सिद्धार्थ राणाको सबैभन्दा बढी स्वामित्व रहेको छ । कम्पनीमा राणाको ६० प्रतिशत र एम/एस सूर्य इन्टरप्राइजेज प्रालि र एम/एस एसआर होल्डिङको २०/२० प्रतिशत स्वामित्व छ । होटल निर्माणका लागि कम्पनीले ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराइसकेको छ । समिट होटल ललितपुरको कुपण्डोल हाइटमा चौधरी समूह, एनई समूह र समिट समूहको संयुक्त लगानीमा आधुनिक पाँचतारे समिट होटलसहितको अपार्टमेन्ट निर्माणाधीन अवस्थामा छ । यो होटल व्यवस्थापन मेरियट इन्टरनेशनलको पाँचतारे लक्जरी ब्रान्ड ‘सेन्ट रिजिस’ले गरेको छ ।  यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी रहेको छ ।  होटलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन् । २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ ।  अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाको रहनेछ । विश्वका शौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको कम्पनीले जनाएको छ । ‘फोर प्वाइन्ट्स बाई शेराटन’  काठमाडौंको ठमेलमा मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’  ब्रान्डअन्तर्गत पाँचतारे होटल पुनःनिर्माण गर्न लागेको छ । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुनःनिर्माण गरी पाँचतारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । यो होटलमा सबैभन्दा धेरै सेयर मनाङ हस्पिटालिटीका अध्यक्ष कर्मा तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुनःनिर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ । कम्पनीले होटलको पुनःनिर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले बैंकबाट दीर्घकालीन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराइसकेको छ । हाल यो योजना पुनःनिर्माणको प्रारम्भिक चरणमा रहेको छ। ले मेरेडिएन काठमाडौंको महाराजगञ्जमा ‘ले मेरिडिएन’ निर्माणाधीन छ । शैक्षिक, पदयात्रा तथा आरोहणजस्ता पर्यटनसम्बन्धी व्यवसायहरूमा संलग्न कर्मा तेञ्जिङले ४ अर्ब २ करोड रुपैयाँ लागतमा ‘ले मेरिडियन’ होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । होटलको व्यवस्थापनमा लक्जरी होटल म्यानेजमेन्ट (बीभीआई) रहेको छ । होटल २ तलाको बेसमेन्टसहित १२ तला र १७० कोठा हुनेछन् । होटलमा क्यासिनो, ठूलो ब्यांक्वेट हल, मिटिङ हल, स्वीमिङ पुल, जीम, साउना, स्पा, रेष्टुरेन्ट तथा बारलगायत आधुनिक सुविधा हुनेछन् । कर्मा ग्रुपले सन् २०२६ को अन्त्यसम्म होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ ।  होटलसँगै कर्मा ग्रुपले २ अर्ब रुपैयाँको लगानीमा अपार्टमेन्ट पनि बनाउँदैछ । उक्त ग्रुपले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने भएको हो । अपार्टमेन्टमा पनि होटलमा जस्तै सुविधा उपलब्ध हुनेछन् । जीम, साउना, स्वीमिङ पुल, कम्युनिटी हल, खुला ठाउँलगायत सुविधा अपार्टमेन्टमा बस्नेले उपभोग गर्न पाउनेछन् । अन्नपूर्ण होटल  पाँच दशक पुरानो नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्ण पुनःनिर्माणको कार्य भइरहेको छ । यो होटल कोरोना भाइरसको महामारी सुरु भएपछि २०७६ चैतमा भएको लकडाउनपछि नै होटेल व्यावसायिक सञ्चालनमा छैन । काठमाडौंको दरवारमार्गमा अवस्थित यो  होटलकोे सञ्चालक सिर्जना राणा हुन् । दरवारमार्गमा करिब ४४ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा अहिले मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ पनि लगानीकर्ता थपिएका छन् ।  इन्टरकन्टिनेन्टल काठमाडौं  लाजिम्पाटस्थित होटल सांग्रिलालाई इन्टरकन्टिनेन्टल काठमाडौंको रूपमा पुनस्र्थापना गर्न लागिएको छ । लामो समयदेखि बन्द रहेको यो होटलको व्यवस्थापन बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले गरेको छ । २२४ कोठा क्षमता भएको यो होटल अलडे डाइनिङ, स्वीमिङ पुल, बिजनेस सेन्टर, इन्डोर आउटडोरको सुविधा रहेको छ । होटल लालचन काठमाडौंको बाँसबारीमा होटल लालचान निर्माणाधीन अवस्थामा रहेको छ । कम्पनीका अनुसार निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । ५ रोपनी जग्गामा निर्माण भइरहेको यो होटलको १४ तला रहने छ ।  लालचन समूहले निर्माण गर्न लागेको यो होटल तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको छ । कम्पनीले २ अर्ब ३४ करोड ऋणको रेटिङ गरिसकेको छ । ग्रुपको नेतृत्व सोमबहादुर लालचनले गर्दै  आएका छन् ।  कम्पनीका अनुसार होटलको पहिलो तल्लामा किचन र मिटिङ हल रहनेछ । यसैगरी, होटलको दोस्रो तल्लामा स्पा, स्विमिङ पुल, मिटिङ हल र जिम हल बन्नेछ । तेह्रौँ तलामा रेष्टुराँ र लाउन्ज रहने छ ।  मोक्सी मेरियट  काठमाडौंको कमलादीमा निर्माण भएको मोक्सी मेरियट सञ्चालनमा आउने तयारीमा छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् ।  इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मेरियट मोक्सी ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा एक सय वटा कोठाहरु छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पहुना लक्षित हो ।  ‘मन्नत’ बुटिक  सेक्योर हस्पिटालिटीले होटल मन्नत ब्राण्डमा सञ्चालन गर्ने भएको हो । कोभिड महामारीलगायत विभिन्न कारणले गर्दा समयमै होटल निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । होटल दिलकुमार श्रेष्ठले निर्माण थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल २.२ किलोमिटर दुरीमा रहेको छ । कम्पनीका अनुसार हालसम्म हालसम्म ८५ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तीय प्रगति भएको छ । होटल आगामी जनवरीमा सफ्ट लञ्च गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ । आगामी २०२६ को जुनदेखि होटल पूर्ण क्षमतामा सञ्चालनमा आउने व्यवस्थापनले जनाएको छ । कोभिड महामारीपछि समय लम्बिँदा लागत पनि बढेको सेक्योर हस्पिटालिटीले जनाएको छ । ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ । सेक्योर्डले ९९ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराइसकेको छ । होटलमा सुविधाजनक बैठक हल, सम्मेलन हललगायत अन्य सुविधाहरू समावेश छन् ।

म्यानमारमा ठगिएका ३७ नेपालीको उद्धार, थाइल्याण्डबाट स्वदेश फर्काइयो

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार पुगेका ३७ नेपाली नागरिकलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय र सहयोग गर्दै उद्धार गरी नेपाल एयरलाइन्सको उडान नं आरए–४०२ मार्फत उनीहरूलाई काठमाडौं ल्याएको हो । यी नेपाली नागरिकहरू म्यानमारमा अवैधरूपमा सञ्चालन भएका ‘अनलाइन ठगी’ केन्द्रहरूमा अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता काममा संलग्न थिए । म्यानमार सुरक्षाकर्मीले स्क्यामिङ केन्द्रमा छापा मार्दा उनीहरू भागेर थाइल्याण्ड प्रवेश गरेका थिए । त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ जना नेपाली नागरिकलाई पनि यथाशीघ्र नेपाल फर्काउने प्रयास भइरहेको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसार मात्र वैदेशिक रोजगारीमा जानुपर्ने राजदूतावास बताएकाे छ। राजदूतावासका अनुसार छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहाना गरेर वैदेशिक रोजगारीमा नजाने र वैधानिक प्रक्रिया अनुसार मात्र रोजगार लिनु अनिवार्य छ ।