४ दिनको बिदाले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए
काठमाडौं । लगातार ४ दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनु समेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाट ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौंको सङ्ख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरवास (होमस्टे) छन् । पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक/दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उनको भनाइ छ । ‘एकै पटक लामो बिदा भएर होला पाहुन थामि नसक्नु आउनुभएको छ, वरपरका खाली घरहरू पनि भएका छन्, होटल, होमस्टे कुनै पनि खाली छैनन्,’ अध्यक्ष पुनले भने, ‘मेरो सम्पर्कमा आएकै करिब १ सय जना पर्यटकले बास नपाएर फर्किनुभयो, अरू व्यवसायी साथीहरूको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु पर्यो, अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौं ।’ ढोरपाटनमा १ रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताए । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उनको भनाइ छ । आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको बताए । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उनको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउँछन् । पछिल्लो समय बुर्तिबाङ-ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दुरावस्था थियो । गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुग्नुभएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाए । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गरे । बिहीबार ढोरपाटन पुगेकाहरूले मात्रै होटल पाएको खड्काले बताए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताए । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गरे ।
पर्यटन क्षेत्रमा १० अर्ब बढी बजेट, यी हुन् सरकारको प्राथमिकतामा परेका विमानस्थल
काठमाडौं । सरकारले मुलुकका प्रमुख विमानस्थलहरूको स्तरोन्नति, विस्तार तथा सञ्चालन सुधारका लागि ठूलो बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्र टुंगो लगाइने घोषणा गरिएको छ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिएको छ । भरतपुर विमानस्थललाई विस्तार गरी रात्रीकालीन उडान सेवा सञ्चालन गर्ने योजना रहेको छ भने प्रदेश सरकारको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिनेछ । यसैगरी मुगुको ताल्चा र दाङ विमानस्थलको स्तरोन्नति गरिने पनि बजेटमा उल्लेख छ । संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड रुपैयाँ र नागरिक उड्डयन क्षेत्रका लागि २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेधारीको उपयुक्त विधि पहिचान गर्ने भएको । शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत सरकारले निगमलाई कम्पनीमा रुपान्तरण गर्ने निर्णय अघि सारेको हो ।