विमानस्थलको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइँदै, उखु र मकै लगाउन नपाइने

काठमाडौं । विमानस्थलको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमरा नागरिक उड्डयन कार्यालय बाराले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिने भएको हो ।  सिमरा कार्यालयको क्षेत्रभित्र रहेको धावन मार्गको पश्चिमपट्टिको प्लट नम्बर १ को जग्गा ५ वर्षका लागि भाडामा दिने भएको हो । कार्यालयका अनुसार प्लट नं १ को ४ विघा ३ कट्ठा ३ धुरको खाली जग्गा कृषि प्रयोजनका लागि पुस १ गतेदेखि २०८७ मंसिर मसान्तसम्म ५ वर्षका लागि ठेक्का भाडामा दिने भएको हो ।  उक्त खाली जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा लिन इच्छुक सङ्घ संस्था वा व्यक्तिले मंसिर २४ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम शुल्क ३ हजार ३९० रुपैयाँ तोकिएको छ ।  उक्त प्लट न. १ को कवोल रकम न्यूनतम् वार्षिक १ लाख २५ हजार ५ सय रुपैयाँका दरले ५ वर्षमा कुल ६ लाख २७ हजार ५ सय रुपैयाँ हुन आउने कार्यालयले जनाएको छ । ठेकेदारले उक्त जग्गामा उखु, मकै जस्ता अग्ला अग्ला बोटबिरुवा हुने बाली तथा गाँजा जस्ता कानुनद्वारा निषेधित तथा जङ्गली जनावर तथा चराचुरुङ्गी आकर्षित गर्ने खालका बाली लगाउन पाइने छैन ।

पहाडकी रानी हेर्न पर्यटकको ओइरो, होटल भरिभराउले व्यवसायी उत्साहित

काठमाडौं । बन्दिपुरमा ७ महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । वैशाखदेखि कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए ।  ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । ७ महिनामा ५ हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्ने गरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन्,’ उनले भने ।  उनका अनुसार वैशाखमा ३ हजार २९७, जेठमा ३ हजार ३४२, असारमा २ हजार ७६६, साउनमा २ हजार ७५, भदौमा १ हजार ८३२, असोजमा ३ हजार ७८६ र कात्तिकमा ४ हजार ६२७ जनाले भ्रमण गरेका छन् । त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा १ हजार ८९८, जेठमा २ हजार १३५, असारमा २ हजार ११५, साउनमा २ हजार ४५१, भदौमा १ हजार ९८२, असोजमा ५ हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् ।  कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।  विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।  ‘यतिबेला बन्दिपुरमा रहेका चारवटा घरवास र ७० होटल भरिभराउ छन्, पर्यटकको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्,’ उनले भने ।  

एउटा कर्मचारीको भरमा विमानस्थल

काठमाडौं । बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आएकी छिन् ।  १२ वर्षयता विमानस्थलको रेखदेख गर्दै आएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि सरसफाइसम्मको जिम्मेवारी छ । सुनसान विमानस्थलमा एक्ली कर्मचारीका रूपमा उनी कार्यरत छिन् । बागलुङको बलेवा विमानस्थलमा २०४८ सालसम्म धुलो उडाउँदै नियमित विमान अवतरण र उडान भए पनि त्यसयता नियमित सञ्चालनमा आउन सकेको छैन । बागलुङ पोखरा राजमार्ग विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भयो । स्थानीयले जग्गा खनेर २०२२ सालमा निर्माण गरेको  विमानस्थल  चलाउन पहल भने नभएको होइन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल अहिले सुनसान छ ।  बन्द भएको विमानस्थलमा समय समयमा चाटर्ड उडान भने भइरहन्थे । करिब २६ वर्षपछि बागलुङ नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउने प्रयास थालेसँगै नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे धावनमार्गमा उडानसमेत भरेका थिए । त्यसपछि विमानस्थल बन्द भयो र धावन मार्ग कालोपत्रे थालियो । तर धावन मार्ग कालोपत्रे भएको चार वर्ष बित्नै लागे पनि कालोपत्रे धावनमार्गमा एकपटक समेत जहाज आउन सकेको छैन । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालनमा ल्याउन हप्तामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको विमानस्थल धावन मार्ग पक्की बनेपछि ठप्प बनेको हो ।  कालोपत्रे भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडानसमेत नभएको बागलुङ नगरपालिका-१४ नारायणस्थानका वडाध्यक्ष एवं बागलुङ नगरपालिकाका प्रवक्ता चक्र बहादुर खत्रीले बताए । बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेको बताउँदै पटकपटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उनले उल्लेख गरे । ‘पूर्व पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेलाई विमानस्थल अवलोकनसमेत गराइयो, धुलो उडाउँदै उड्ने जहाज कालोपत्र हुँदा आएनन्, विमानस्थलमा उपकरण चुस्त र सुरक्षित छन्,’ खत्रीले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल चल्न सक्छ, नगरपालिकाले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता शाहसिक उडानका लागि पहल गरिरहेको छ ।’ पूर्व पर्यटन तथा नागरिक उडड्यनमन्त्री पाण्डेले विमानस्थल चलाउन पहल गर्ने भनिए पनि निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेको बताउनुभएको खत्रीले जानकारी दिए । धावनमार्ग कालोपत्र, तारबार, टावर मर्मत तथा विमान पार्किङ लगायतको काम सम्पन्न भएको चार वर्ष बित्दा परीक्षण उडान हुन नसक्नु दुःखद भएको बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘हाम्रो पालामा कालोपत्र भएको विमानस्थल चलाउन अहिलेको जनप्रतिनिधिले पल गर्न आवश्यक छ । तत्कालीन अवस्थामा आफूले नगरपालिकाको रु १० लाख धरौटी राखेर विमानस्थल चलाइएको हो । धावन मार्ग कालोपत्रपछि अहिलेको जनप्रतिनिधिले विमानस्थल चलाउन पहल गरेका छैन,’ उनले भने । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलको पर्यटकीय रूपमा पनि सम्भावना भए पनि विमानस्थल चलाउन नसकिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गरे । उनले नगरपालिकाको पहलले मात्रै विमानस्थल चलाउन समस्या हुने बताउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा मात्रै विमानस्थल सञ्चालन गर्न सकिने धारणा राखे । विमानस्थलको ७०० मिटर लामो धावन मार्ग कालोपत्र गरेर चिटिक्क पारे पनि अहिलेसम्म जहाज आउन नसकेको उनको भनाइ छ । २४ मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थल हवाइजहाजको पर्खाइम चार वर्ष बितिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले ८ करोड रुपैयाँ खर्चेर ४ वर्षअघि मात्रै विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताए । १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन हुन सक्छन् । बागलुङ नगरपालिका-१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक पर्दछ । उक्त सडक कालोपत्रको चरणमा छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र सम्पन्न भएपश्चात् विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला निकाय बताउँछ ।