सोलुमा जहाज टिकटको संकट : सर्वसाधारणले पावरबिना टिकट पाउन मुस्किल
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौं जानुपर्ने बाध्यता आयो । अत्यावश्यक काम परेपछि उनले फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर टिकट मागे, तर जवाफ फेरि–फेरि एउटै रह्योस् 'टिकट छैन ।' यही अनुभवले कार्की मात्र होइन, समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको विमान सेवासँगको वर्तमान अवस्था स्पष्ट गरेको छ । अन्ततः कार्की सडकमार्ग रोज्न बाध्य भए । स्थानीय सल्लेरीका रश्विन मगरले भने, 'यो व्यक्तिगत समस्या मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, पहुँचवाला व्यक्तिको नियन्त्रणमा र सर्वसाधारणविरोधी बनेको छ भन्ने यथार्थ हो ।' हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् । निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा 'छैन' भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् । सोलुकै सन्देश राईले भने, 'काठमाडौंबाट सोलु आउँदा सहज छ, तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह हो । विदेशी पर्यटकलाई प्राथमिकता दिने कारणले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।' नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पाले भने, 'विदेशी पर्यटकलाई प्राथमिकता दिनुपर्छ ।' स्थानीयहरूले भने विमान टिकट पाउन 'पावर' वा पहुँचवाला आफन्तको सहायताको आवश्यकता पर्नुलाई गम्भीर समस्या मान्छन् । यसबारे गुनासो काठमाडौंको ट्राभल्स एजेन्सीमा समेत आइरहेको छ । सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।
हुम्लाबाट हुने प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
अदानचुली । हुम्लाबाट सञ्चालन हुने तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने माग राखेर तालाबन्दी गरिएको थियो । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शिता नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा समस्या आएको भन्दै तालाबन्दी गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय बैठकपछि ताला खोलिएको छ । बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको छ । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागु हुनेछ । रासस
मधेश प्रदेशका होटलमा कार्यरत कर्मचारीहरूको संख्या २० प्रतिशतले घट्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको नमुना छनोटमा परेका होटलहरूमा कार्यरत कर्मचारीहरूको संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ । मधेश प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार कर्मचारीको संख्या घटेपनि उक्त वर्षमा पर्यटक आगमनमा भने १८.२५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा मधेश प्रदेशमा निर्माणधिन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । प्रतिवेदनअनुसार आव २०८१/८२ मा मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ९ सय २ रहेको छ ।