पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् । अमेरिका-इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो । सोही कारण नेपालबाट जाने केही अन्तरराष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू युएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए । प्रवक्ता बस्नेतले पश्चिम एसियाको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए । 'उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्', उनले भने, 'आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।' त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।
प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथ, न्यूनतम २ हजार ९९९ रुपैयाँ
काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिलमापारीको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । ‘हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ । पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुश्मा बजार, बाग्लुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी पोखरा फर्कन्छन्,’ उनले भने । प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम् २ हजार ९९९ रुपैयाँदेखि ३ हजार ९९९ रुपैयाँ, ४ हजार ९९९ रुपैयाँ र ५ हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनको भनाइ छ । पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्व अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगत गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।
५० यात्रु बोकेको श्री एयरको जहाजको टायर कसरी पड्कियो ?
काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९ एन-एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ । टायर किन र कसरी पड्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।