आतिथ्य क्षेत्रमा २० वर्षको अनुभव बटुलेका लक्ष्मण थापा इलाको सीईओमा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मण थापा नियुक्त भएका छन्। आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ ।  उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरेका छन् । आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । सो अवधिमा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्याफे तथा भेन्यूहरूको सञ्चालन नेतृत्व गरेका थिए । त्यसअघि उनले काठमाडौंस्थित होटल याक एण्ड यति, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एण्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । त्यसैगरी, उनसँग ले मेरिडियन दुबई, द वेस्टिन लाङकावी, सेराटन माल्दिभ्स, अलोफ्ट अबुधाबी तथा रोजवुड जेद्दाह जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गरेको अनुभव पनि रहेको छ। थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ। आइएमई हस्पिटालिटी अन्तर्गत  कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैंडाकोटस्थित होटल इलालगायत विभिन्न होटल तथा रिसोर्टहरुको व्यवस्थापन हेर्ने गर्छ ।  आइएमई हस्पिटालिटी आइएमई ग्रुपको आतिथ्य क्षेत्रअन्तर्गतको इकाइ हो। नियुक्तिपछि थापाले इला होटल एण्ड रिसोर्टको सेवा स्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने, इला होटल एण्ड रिसोर्टको नेटवर्कलाई नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरूसम्म पुर्‍याउने, तथा दिगो र परिणाममुखी वृद्धि हासिल गर्ने दिशामा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई  तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी-व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।  पर्यटन क्षेत्रमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए ।  लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ  सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए । उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवर्द्धन मात्र होइन समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।  नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनको भनाइ छ ।  विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा रहेको छ । निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस् पहल गर्ने अपेक्षा गरिएको छ । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग-व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरे । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास गरिइएको छ । 

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी, होटलका कोठाहरू भरिभराउ

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपालि दोस्रो पटक आएका छन् । ‘यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्टिकको समस्या दोहरिन नदिन यसपालि पनि आएको उनले बताए ।  उनले भने, ‘तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महसुस गरेको छु ।’ धवलागिरि गाउँपालिका-३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार ६ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुँदै गएको उनले अनुभव गरे ।  चितवनको भरतपुरकी चमेली घर्ती क्षेत्री पछिल्लो १० वर्षयता नियमित रुपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छिन् । ‘खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गरेकी छु,’ उनले भनिन्, ‘तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जान-आउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत भएको छ ।’ चालिसे, पुन र घर्ती क्षेत्री जस्तै धेरै सर्वसाधारणहरूको लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरू प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।  ‘म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरे नुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बिरे नुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्टिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।’ महिला र पुरुषको लागि स्नानका लागि फरक/फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताए । एक पटकमा २५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ । छोटो समय स्नान गर्नेहरूका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरूका लागि उपल्लो बजार नजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरीरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ । हिजोआज दैनिक १ हजार २ सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताइन् ।  ‘बिहान ५:३० देखि साँझ ५:३० बजेसम्म महिला र पुरुषको ६ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएका छौ ,’ उनले भनिन्, ‘असोज-कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।’ चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरूको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरिया, पोल्याड, युक्रेन, स्कटल्याण्ड, रसीया, जापान र भारतका २० हजार ३४७ जना बिरामीहरू तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरूले त्यहाँका होटल र होमस्टे भरिएका छन् । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेले होटल र घरबासका कोठाहरू भरिभराउ भएका बताए ।  ‘साना ठूला २० वटा होटल छन् । घरको कोठा र ग्याँस भाडामा लिएर पाहुनाहरूले आफै पकाएर खाने र बस्न पनि मिल्छ,’ उनले भने । म्याग्दी नदीको असला माछा तातोपानीको विशेष परिकार हो ।