अल्टिच्यूड एयरले एक वर्षमा गर्याे ५६ करोड रुपैयाँको व्यापार
काठमाडौं । अल्टिच्यूड एयर प्रालिले एक वर्षमा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले यसअघि सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०१५ अगस्टमा स्थापित अल्टिट्यूड एयरले अक्टोबर २०१६ बाट व्यावसायिक रुपमा उडान सुरु गरेको थियो । कम्पनीका अनुसार सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । एयरबस हेलिकप्टमार्फत कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, मेडेभ्याक उडान, तीर्थयात्रा उडान, फिल्मांकन उडान, चेसिङ उडान जस्ता विभिन्न हेलिकप्टर सेवा दिइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ७ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ६३ करोड १ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । कम्पनीले यसअघि ५१ करोड ५१ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको थियो । तर, कम्पनीले दीर्घकालिन ऋण भने घटाएको छ । यसअघि ३३ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको कम्पनीले घटाएर २२ करोड ५ लाख रुपैयाँमा झारेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि डबल बि प्लस र दीर्घकालीन ऋणका लागि एफोर प्लस रेटिङ प्रदान गरेको छ । गत कात्तिक १२ गते कम्पनीको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको थियो । हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको कम्पनीले जनाएको थियो । कम्पनीको कार्यकारी अध्यक्ष निमा नुरु शेर्पा रहेकी छिन् । शेर्पासँग पर्यटन/साहसिक पर्यटन व्यवसायमा तीन दशक भन्दा बढीको अनुभव छ । उनले नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ ।
दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि आइएमटीए र एभरेष्ट अलायन्स नेपालबीच साझेदारी
काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदानका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ। तीन वर्षका लागि गरिएको सम्झौताअनुसार दुबै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन सँगै काम गर्ने भएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। नेपालमा आधारित एभरेस्ट एलायन्सले भने हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ। सम्झौताअनुसार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। पर्वतारोहणमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सीपमूलक तालिम र नेतृत्व विकासमा जोड दिने योजना पनि समझदारीमा समावेश छ। सम्झौताअन्तर्गत पर्वतारोही, प्रशिक्षक र प्राविधिक विशेषज्ञबीच आदानप्रदान हुनेछन् भने संयुक्त उद्धार प्रदर्शन, नेतृत्व तालिम तथा सुरक्षा तालिम आयोजना गरिनेछ। साथै, अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता र सम्मेलनहरूमा पनि संयुक्त सहभागिता रहनेछ। वातावरणीय संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै दुवै संस्थाले फोहोर व्यवस्थापन, पदमार्ग सरसफाइ र सचेतना अभियान सञ्चालन गर्ने सहमति गरेका छन्। जलवायु परिवर्तन, जैविक विविधता र दिगो पर्यटनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।सम्झौता हस्ताक्षर कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेल सम्मेलन २०२५ अन्तर्गत सम्पन्न भएको हो। चीनको गुइयाङ सहरमा ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरण : उच्च गुणस्तरीय जीवन’ भन्ने नारामा सम्पन्न उक्त सम्मेलनमा ३० देशका झन्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो।
वायुसेवा निगमको जीएमका लागि दरखास्त आह्वान, १५ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक (जीएम) नियुक्त गर्ने भएको छ । निगमको महाप्रबन्धक छनोट समितिले एक सूचना जारी गरी योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो । महाप्रबन्धक बन्न इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने छन् । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ । कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।