गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएको छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)ले हरेक वर्ष सञ्चालन गर्ने गिद्ध गुँड अनुगमनअनुसार यस वर्ष सक्रिय गुँडको सङ्ख्या एक सय ५५ पुगेको छ, जुन गत वर्षको तुलनामा वृद्धि हो । बिसिएनका अनुसार गत वर्ष एक सय ४३ वटा सक्रिय गुँड भेटिएका थिए भने यस वर्ष बढेर एक सय ५५ पुगेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी एक सय २६ गुँड फेला परेका छन् । त्यस्तै बैतडीमा १२, डडेलधुरामा १० र कैलालीमा सात गुँड भेटिएका छन् । यस वर्ष कञ्चनपुर र डडेल्धुरामा गुँड सङ्ख्या बढेको भए पनि कैलाली र बैतडीमा भने केही घटेको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये अति सङ्कटापन्नमा पर्ने डङ्गर, सानो खैरो, लामो ठुँडे, सुन गिद्ध, सङ्कटापन्न सेतो गिद्ध र सङ्कटको नजिक रहेका हिमाली, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । कञ्चनपुरमा आठ प्रजाति र कैलालीमा सात प्रजातिका गिद्ध फेलापरेका छन् । यसले सुदूरपश्चिमलाई गिद्धका लागि महत्त्वपूर्ण आवास क्षेत्रका रूपमा चिनाएको छ । राष्ट्रिय गिद्ध गणना सेप्टेम्बर ५, ६ र ७ तारिखमा गरिएको थियो । सोही क्रममा गिद्ध र गुँडको सङ्ख्या एकिन गएिको नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराले बताए । उनका अनुसार गणनाको उद्देश्य गिद्धको आधारभूत ‘डाटाबेस’ निर्माण गर्नु, राष्ट्रिय गिद्ध डाटाबेसलाई व्यवस्थित गर्नु र संरक्षणका लागि तथ्याङ्कीय आधार तयार गर्नु रहेको थियो । गणनामा ४८ स्वयंसेवक सुदूरपश्चिमका विभिन्न जिल्लामा खटिएका थिए । 'टोलीले अवलोकन गरिएको स्थलको जिपीएस स्थानसमेत अभिलेख राखेको छ', उनले भने, 'गिद्धबाहेक अन्य चराचुरुङ्गी र स्तनधारी जनावरको पनि विवरण सङ्कलन गरिएको छ ।' यस वर्षको गणनामा सुदूरपश्चिम प्रदेशमा जम्मा पाँच सय ७३ गिद्ध भेटिएका छन् । चराविज्ञ डगौराका अनुसार गणनाका क्रममा सानो खैरो गिद्ध नौ, डङ्गर गिद्ध चार सय ४२, सुन गिद्ध १४, गोव्रे गिद्ध नौ, हिमाली गिद्ध ९४ र हाडफोर गिद्ध पाँचवटा देखापरेका छन् । लामो ठुँडे गिद्ध, राजगिद्ध र सानो खैरो गिद्ध हिउँदमा मात्र देखापर्ने भएकाले गणनमा समावेश गरिएको छैन । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बाजुरा र दार्चुलामा गणना गरिएको थियो । सबभन्दा बढी कञ्चनपुर र कम दार्चुलामा भेटिएका छन् । गिद्ध आफैँ सिकार नगर्ने तर मरेका जनावरको सिनो खाने चराका रूपमा चिनिन्छ । गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ । गिद्धले वातावरणलाई दुर्गन्धित र प्रदूषित हुनबाट जोगाउनुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, क्षयरोग, एनथ्राक्सजस्ता रोग फैलिनबाट नियन्त्रण गर्ने भूमिका निर्वाह गर्ने उनी बताउँछन् । संरक्षणकर्मीका अनुसार गिद्ध वातावरणीय चक्रको अभिन्न हिस्सा हुन् । खाद्य शृङ्खलामा सन्तुलन कायम राख्न गिद्धको उपस्थिति अपरिहार्य हुन्छ । यदि गिद्ध नहुने हो भने वातावरणीय प्रदूषणमात्र होइन, महामारीको जोखिम पनि बढ्ने खतरा रहन्छ । गिद्ध सङ्ख्या बढ्नु उत्साहजनक भए पनि संरक्षणकर्मीहरूले अझै पनि गिद्ध संवेदनशील अवस्थामा रहेको बताएका छन् । पशु उपचारमा प्रयोग हुने केही रासायनिक औषधि, गुँड नष्ट हुने गतिविधि, बासस्थान अतिक्रमण र वातावरणीय असन्तुलन गिद्ध संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरी बताउँछन् । 'विशेषगरी डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगले गिद्ध मृत्युदर बढाउने गरेको छ', उनले भने, 'यसका विकल्पलाई प्रोत्साहन गर्ने, पशुपालकलाई सचेत गर्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने आवश्यकता देखिन्छ, समुदायमा गिद्धसम्बन्धी चेतना फैलाउने कार्यमा सक्रिय भएर लागेका पनि छौँ ।' गिद्धको बढ्दो सङ्ख्या सकारात्मक सङ्केत भए पनि दीर्घकालीन संरक्षण रणनीति अपरिहार्य छ । गुँड संरक्षण, औषधि नियन्त्रण, बासस्थान व्यवस्थापन र स्थानीयस्तरमा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेमात्र गिद्धको दीर्घकालीन रूपमा अस्तित्व सुनिश्चित गर्न सकिन्छ ।
चन्द्रागिरी केबलकार सेवा छिट्टै सुचारु हुने
काठमाडौं । भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरी हिल्समा तोडफोड तथा आगजनी हुँदा केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ र सेवामा पुनः उठ्ने दृढता व्यक्त गरेको छ । 'पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, विचलित भएका छैनौँ । अठोट अझ दृढ छ, तपाईं–हामी सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौँ,' विज्ञप्तिमा उल्लेख छ । चन्द्रागिरी हिल्स लिमिटेडले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र आर्थिक समृद्धिका मुद्दाप्रति सम्मान जनाउँदै आन्दोलनकै क्रममा अकल्पनीय घटनाले पर्यटन प्रवर्द्धनमा ठूलो असर पुगेको जनाएको छ । कम्पनीका अनुसार लाखौँ सेयरधनीको लगानीमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकार राष्ट्रिय सम्पत्ति हो, जसले रोजगारी सिर्जना, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । घटनाबाट सेवामा असुविधा पुगे पनि गुणस्तरीय सेवा मार्फत छिट्टै पुनः सुचारु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । साथै, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय समुदाय र अन्य सरोकारवालाले दिएको सहयोगप्रति आभार व्यक्त गरिएको छ । कम्पनीले पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा प्रार्थना गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा र थप लगानीमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गर्ने संकल्प व्यक्त गरेको छ ।
होटल जलाउँदा अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर
काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो । आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ । पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । 'पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ', पूर्वसचिव खनालले भने, 'विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।' खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । अर्थशास्त्री डा. समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, 'अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।' अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । 'विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए। सिइओ जोशीले भने, 'पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।' उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन् भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 'पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ', उनले भने, 'विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।' नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, 'देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।' प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, 'पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।' नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् । होटलमा करिब २५ अर्बको नोक्सानी जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ । काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । रासस