त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्नेबारे स्पष्ट नभएको विमानस्थल कार्यालयले जनाएको छ । विषम परिस्थितिका कारण अनिश्चितकालीन रूपमा सञ्चालन रोकिएको कार्यालयले जानकारी दिएको हो । यस सम्बन्धमा जारी सूचनामा अर्को सूचना नआएसम्म विमानस्थल बन्द नै रहने उल्लेख गरिएको छ । विमानस्थल बन्द भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन् । यात्रुहरूलाई आवश्यक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

‘अलपत्र विदेशीलाई सहयोग गरौँ’

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ ।  विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो ।  विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न सेनाले एक सूचना जारी गरेर अनुरोध गरेको हो ।

पर्यटक आवागमन सहज बनाउन होटल संघ नेपालको आह्वान

काठमाडौं । होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्द भएपछि अनिश्चित बनेको पर्यटक यात्रुलाई सहज बनाउन सम्बन्धित निकायलाई प्राथमिकताका साथ पहल गर्न आह्वान गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले युवाहरुको बलिदानबाट सुरु भएको नयाँ भविष्यको संक्रमणकालमा देश र जनताको हितमा हुने सबै प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमै निषेधाज्ञा र अन्य अवरोधका कारण नेपाल आउने पर्यटकबाट अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन भइरहेको छ । यस्तो अवस्थामा आवागमनको समस्या छिटो व्यवस्थापन गर्न सकेमा पर्यटन क्षेत्रलाई केही हदसम्म सहज बनाउन सकिने संघको भनाइ छ । संघले होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्ति विनाशको रूपमा व्याख्या गर्दै थप क्षति हुन नदिन सबैलाई अपिल गरेको छ । त्यस्तै, हाल प्रभावित पर्यटकको व्यवस्थापन तथा सहजीकरणका लागि होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा पहल गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवश्यक आवास सुविधा चाहिएको खण्डमा होटल संघ नेपालको हटलाइन नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।