सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र पोखरा स्थित हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरूले होटेलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले छुटको सुविधा प्राप्त गर्न सक्नेछन् । यस कदमले ग्राहकहरूलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ उन्मुख गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । यस सम्झौताबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिन्छ । तथ्यांकअनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् ।  भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । दोस्रोमा चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट ५ लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा ७ लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।  बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट २ हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् । त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

तारागाउँ रिजेन्सीले सच्यायो त्रुटी, कर पछिको नाफा ४६ करोड ८५ लाख रुपैयाँ

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले आफ्नो त्रुटी सच्याएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय प्रतिवेदनमा भएको त्रुटी सच्याएको हो ।  कम्पनीको कर पछिको नाफा ४६ करोड ८५ लाख ७६ हजार ३३४ रुपैयाँ हुनुपर्ने हो । तर, यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा ५१ करोड ५४ लाख ३३ हजार ९६७ रुपैयाँ उल्लेख गरेको थियो ।  सच्याइएको तथ्याङ्क अनुसार कम्पनीको नाफा ९.५८ प्रतिशत अर्थात् ४ करोड ९६ लाख ९२ हजार रुपैयाँ घटेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ ।  यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ ।