वीरगञ्जमा सोल्टी होटलले ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने

काठमाडौं । नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड  रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड  रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ।  होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड  रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतानले औपचारिक हस्ताक्षर गरे । चापागाईंले वीरगञ्जमा वेस्टेण्ड ब्राण्डको प्रवेशले आधुनिक आतिथ्यता, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवलाई संयोजन गरी अतिथिलाई अद्वितीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेर सोल्टीको सुप्रसिद्ध वेस्टेण्ड ब्राण्ड अन्तर्गत डिसेम्बर २०२५ बाट सञ्चालनमा आउन लागेको हो । वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित यो होटल राष्ट्रिय राजमार्गसँगै जोडिएको छ र भारतसँगको अन्तर्राष्ट्रिय सीमा नाकाको नजिक भएकाले रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण गन्तव्य मानिएको छ ।  स्वदेशी र विदेशी दुवै पाहुनाका लागि यो क्षेत्र आकर्षक पर्यटन तथा व्यावसायिक केन्द्रको रूपमा चिनिन्छ । होटलमा आधुनिक शैलीमा डिजाइन गरिएका कोठा, विभिन्न भोजन तथा व्यञ्जनका विकल्पहरू, फिटनेस क्लब, स्वीमिङ पुल, स्पाका साथै क्यासिनो भवन लगायतका सुविधा रहनेछन् ।  समकालीन सुविधा, गुणस्तरीय सेवा र सोल्टी ब्राण्डको विशिष्ट पहिचानमार्फत यो होटल व्यवसायिक पाहुना, अवकाश मनाउन आउने परिवारदेखि आधुनिक यात्रुहरू सबैका लागि रोजाइको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

२ करोड रुपैयाँले बढ्यो हनुमानढोका दरबारको आम्दानी

काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब २ करोड रुपैयाँले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्र गोपाल प्रधानले जानकारी दिए । प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा १७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेकोमा गत आव २०८१/८२ मा १९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या सार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या १ लाख ५३ हजार २६२ जना रहेका थिए ।  त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकोमा अन्य देशका १ लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ । सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि १ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ । उक्त स्थान अवलोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ बजेदेखि १२ः३० सम्म र साँझ ५ बजेदेखि ८ बजेको समय तोकिएको छ ।  हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७ सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ । यस वर्ष पनि ऐतिहासिक इन्द्र जात्रा नजिकिदै गर्दा आशाअनुरुप पर्यटक आउने विश्वास रहेको बताइएको छ । उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्र जात्रा अवलोकन गर्न काठमाडौं महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्र जात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।

ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा भदौ १८ गते प्रभु बैंकतर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टतर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा विपणन कॉर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि चितवन, पोखरा, काठमाडौं, तनहुँ र भैरहवासहितका शाखामार्फत प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटेल तथा रिसोर्टका सेवा–सुविधा विशेष छुटसहित प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटेल तथा रिसोर्टको सेवा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य इलेक्ट्रोनिक भुक्तानी प्रणाली प्रयोग गर्नुपर्नेछ । यसमार्फत आवास सेवामा विशेष संस्थागत छुट प्राप्त गर्न सकिनेछ भने खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।