गाउँमा भन्दा शहरमा चर्चित छ पक्कु, ब्राण्डमा जोड्दै प्रेसिडेन्ट

शंकर भण्डारी नेपालीहरूको महान चाड विजयादशमी अर्थात् दशैं । नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व धार्मिक संस्कार मात्र होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो । दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ । गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टीका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार। गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन् । बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए । दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो । खसी–बोकासँग जोडिएको सामाजिक आयाम दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ । तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन । धेरैले दुःख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे । महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए । तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो, मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला । आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो । तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने । यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई । बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ । दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो । बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो । पक्कु मासुको परिकारमा मात्रै सीमित नभई, त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो । परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार म:म:, पिज्जा, बर्गर, केएफसी जस्ता डिश र फास्टफुडले बजार ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो । गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने । यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना गर्‍यो । सुरुमा धेरै शंका उठे । शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिज्जामा रमाउने युवाले यसलाई स्वीकार्लान ? तर हाम्रो विश्वास दृढ थियो । यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो । पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे । दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो । कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो । सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, 'यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ । मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो । मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो ।' त्यो एक वाक्यले पुष्टि गर्‍यो, हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो । त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्‍यो । पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम पहिलो अनुभवको सफलताले हिम्मत थप्यो । त्यसैले २०८२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ । करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ । यसपटक पक्कुमा विविधता थपिएको छ । जस्ताेकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत साकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ । हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ । हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो । पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन । यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ । गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् । प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्‍याउने तयारी भइरहेको छ । दीर्घकालीन लक्ष्य अझ ठूलो छ, अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने । हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून् । पक्कु : एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्‍यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं । त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो । आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो । परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो । हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ । यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो । त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु कि पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न । पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् । (लेखक टीआर भण्डारी (शंकर) पर्यटन व्यवसायी र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्) 

आरजु नामको अफवाहले अर्बौंको निजी सम्पत्ति खरानी, यी हुन् आगजनी भएका संरचना

काठमाडौं । नेपालको राजनीतिमा परिचित पात्र हुन् आरजु देउवा राणा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी राणाकै वरिपरि कांग्रेसको राजनीति चल्ने गरेको कांग्रेसीहरू बताउँछन् । विभिन्न नियुक्ति तथा लेनदेनमा देउवाभन्दा आरजुको भूमिका बढी हुने गरेको नेपाली कांग्रेसभित्र चर्चा हुन्छ । अन्तरिम सरकार आउनुअघि परराष्ट्र मन्त्रीका जिम्मेवारीमा रहेकी आरजुले विभिन्न निजी कम्पनी तथा कलेजहरूमा लगानी गरेको बेखाबखत चर्चा हुन्छ । ठूला राजनीतिक दलप्रतिको युवाहरूको वितृष्णाको सिकार बन्दै तिनै देउवा दम्पत्ति जेनजीको आन्दोलनमा कुटिए ।  देउवा दम्पत्तिले बुढानीलकण्ठको निवासमात्रै गुमाएनन्, करोडौंमा खरिद गरेको धनगढीमा रहेको निवास पनि आगजनी भएर पूर्णरुपमा ध्वस्त भयो । अहिले तिनै निवासहरुमा ठूलो परिमाणको पैसा जलेको भन्दै युटुबहरूमा चर्चा पनि भइरहेको छ । त्यही वितृष्णाले कांग्रेसले आफ्नो पार्टी कार्यालय पनि गुमायो ।  देशका ठूल्ठूला संरचना ध्वस्त भए । संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत ठूल्ठूला सार्वजनिक भवनहरू जेनजीको टार्गेटमा पर्दै ध्वस्त भए । अर्बौंको क्षति राज्यले भोग्यो ।  आरजु देउवा राणाकै कारण केही निजी सम्पत्ति र व्यवसायमा पनि आगजनी भयो । यसअघि विभिन्न समयमा आरजु देउवा राणाको लगानी रहेको भनेर चर्चा हुने युलेन्स स्कुल जलेर नष्ट भयो ।  पुस्तक, पोसाक र परीक्षाबिना उत्कृष्ट शिक्षा दिँदै आइरहेको युलेन्स स्कुलका सबै संरचनामा आगजनी भयो । करिब १९ वर्षअघि सञ्चालनमा आएको यो स्कुलले प्रगतिशिल शिक्षालाई जोड दिइरहेको थियो ।  आन्दोलनकारीले विद्यालयका बसदेखि भौतिक संरचना डेस्क बेन्च, कागजात  लगायत कुनै पनि चिज बाँकी राखेनन् । प्रदर्शनकारीले आगो लगाउनु अगाडि तोडफोड गरी कम्प्युटर, ल्यापटपसमेत बोकेर लिएको र आगजनी गरेको स्कुलमा सुरक्षार्थ खटिएकाहरूले जानकारी दिएका छन् ।  नाफा वितरण नगर्ने कम्पनीले यस विद्यालयको अहिले कुनै पनि संरचना बाँकी छैन । विद्यार्थीका प्रमाणपत्र, परिचयपत्रदेखि ल्याब, डेक्स बेन्च सबै खरानी भएका छन् । पार्किङमा राखिएका चिटिक्क परेका गाडी दनदनी जलिरहेको कारुणिक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  यो स्कुलमा आरजुको लगानी रहेको चर्चा हुँदै आएको थियो । उनको नाम जोडिनु नै यो स्कुलका लागि ठूलो क्षति बन्यो । आरजुको नाम र विद्यार्थीबाट लिने शुल्क यो स्कुल जल्नुको प्रमुख कारण रहेको शिक्षाका जानकारहरू बताउँछन् । आगजनीबाट कति क्षति भयो भन्ने विवरण आउन सकेको छैन । ललितपुरको खुमलटार रहेको यो स्कुल ‘युलेन्स एजुकेशन फाउण्डेशन ट्रस्ट’ ले सञ्चालन गरेको हो ।  युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछाने यो स्कुल आरजु राणाको निजी विद्यालय नभएको दाबी गर्छन् । ‘विद्यालयमा विद्यालय व्यवस्थापन समिति आवश्यक पर्छ, राजनीतिक र शैक्षिक दुवै हिसाबले सक्षम एउटा महिलालाई विद्यालयले अध्यक्ष बनाएको मात्रै हो, त्योभन्दा बाहेक उहाँको यो स्कुलमा कुनै लगानी र कारोबार छैन,’ प्राचार्य लामिछानेले विकासन्युजसँग भनेका थिए ।  उनका अनुसार यो स्कूल युलेन्स एजुकेशन फाउण्डेशन कम्पनीको हो । यसमा गाइ र मेरियमले आर्थिक रूपमा युलेन्स फाउण्डेशनलाई सहयोग गरेपछि विद्यालय निर्माण भएको हो । यो फाउण्डेशनमा ५ जनाको समिति छ । फाउण्डेशनले विद्यालय सुरुवात गरेपछि विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाअनुसार आरजुलाई अध्यक्ष बनाइएको हो । आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले धेरैले उनको मात्रै स्कुल भनेर गलत बुझेको उनको भनाइ छ । हरेक अभिभावक अध्यक्ष बन्न पाउने र सक्ने भएकाले विद्यालयलाई मात्र अध्यक्षको रुपमा राखिएको उनको भनाइ छ ।  आरजुकै नाम जोडिएर ध्वस्त भएको अर्को विद्यालय हो नामी इन्टरनेसनल स्कूल । जोरपाटीमा रहेको यो स्कुल पनि जलेर नष्ट भएको छ । विद्यालयको  पार्किङमा राखिएका गाडीसहित विद्यालयका कागजात सबै जलेर नष्ट भएका छन् ।  विद्यालयका अनुसार क्षतिको विवरण भने आएको छैन । विद्यालयका एक कर्मचारी भन्छन्, ‘विद्यालयको संरचना पुरै जलेको छ,  कति क्षति भयो भन्ने आइसकेको छैन, बोर्डले काम गरिरहेको छ ।’ ती कर्मचारीका अनुसार नामी पनि जलेर नष्ट भएका छ । अब पुन: निर्माण गर्न लामो समय लाग्नेछ ।  आरजु नाम जोडिर नष्ट भएको अर्को संरचना हो हिल्टन होटल । नक्सालमा रहेको हिल्टन होटल सञ्चालनमा आएको एक वर्षमै आगजनी भयो । आगजनीबाट हिल्टन पूर्णरुपमा क्षति भएको छ । होटलमा रहेका विदेशी पाहुनालाई सकुशल बाहिर निकाल्न सफल भए पनि होटल भने पुरै नष्ट भएको छ । हिल्टनमा पनि आरजुपुत्र जयवीर देउवाको लगानी रहेको अफवाह फैलिएपछि आन्दोलनकारीको निशानामा त्यो होटल पर्‍यो । केही युट्युबरहरूले हिल्टन होटलमा आरजुको छोराको लगानी रहेको भन्दै प्रचार गरेपछि आन्दोलनकारीले सो होटलमा आगजनी गरेको हुन सक्ने विश्लेषण अहिले भइरहेको छ ।  युट्युबहरूले बिनाप्रमाण हिल्टन होटलमा आरजुको छोराका लगानी रहेको भनेर समाचार सामग्री बनाउँदा अर्बौंको लगानी रहेको हिल्टन जलेर नष्ट भएको छ । हिल्टनका प्रमुख लगानीकर्ताहरूले हिल्टनमा देउवा परिवारको लगानी नरहेको दावी गर्दै आएका छन् ।  यो होटलमा आगजनी गर्दा अर्बौंको क्षति मात्रै भएको छैन, विदेशी लगानीकर्तामा पनि यसले ठूलो प्रभाव पारेको छ । यसको छवि अन्तर्राष्ट्रियस्तरमा राम्रो नपरेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।   शिक्षाविद् प्रा. डा विद्यानाथ कोइराला गलत समाचार सम्प्रेषणले यो नोक्सान बेहोर्नुपरेको टिप्पणी गर्छन् । प्रदर्शनकारीले आगजनी गर्दा आरजुको नाम लिँदै जलाएको भिडियो देखिएको बताउँदै सञ्चारकर्मी, राजनीतिज्ञ र विज्ञहरूले फैलाएका गलत समाचारको प्रभाव भएको उनको टिप्पणी छ ।  उनले युलेन्स र नामीलाई आरजुको नाममा र हिल्टन होटेललाई उनकै छोराको नाममा छापिएका, लेखिएका प्रमाणबिनाका समाचारले अर्बौंका व्यवसाय खरानी बनेको बताए ।  शिक्षा पत्रकार सुदर्शन घिमिरेले पनि हिल्टन मात्र नभई युलेन्स स्कुलको मामिलामा पनि गतल समाचार सम्प्रेषण हुँदा अर्बौंको लगानी ध्वस्त भएको टिप्पणी गरेका छन् । आरजु राणा युलेन्सको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको तर उनको लगानी भन्दै प्रचार भएकोले अहिले अर्बौंको लगानी गुमाउनु परेको धारणा राखेका छन्।

आजदेखि पुन: सञ्चालनमा आयो मनकामना केबलकार

काठमाडौं । मनकामना केबलकारले बुधबार (आज) देखि पुन: सञ्चालनमा आएको छ।  जेनजी प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको केबलकार सेवा एक सातापछि नियमित रूपमा सञ्चालन हुन थालेको हो ।  मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बीचको समयमा केबलकारको मर्मतसम्भार गरिएको थियो ।  २०५५ सालदेखि मनकामना केबलकार सञ्चालनमा आएको थियो । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका– ४ चेरेसमा छ ।