काभ्रेका होटलहरूको गरियो स्तरीकरण, यी हुन तीन र दुइ तारे होटल

काठमाडौं । काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेण्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो । कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची-१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।  टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्‍लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो । अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ । ९० भन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अति उत्तम (तीन तारे हरियो लोगो), ८०-८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५-७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो), ५०-६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका-बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् । यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो । चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेण्टको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ । 

पर्यटन बोर्डको स्वागत कार्यक्रममा मन्त्री पौडेलले दिए परिणाममुखी काम गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए ।   मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । नेपालको विकासका लागि पर्यटन नै प्रमुख आधार भएकाले सोहीअनुसार योजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमा परिणाम दिनेगरी काम गर्नुपर्ने र त्यसका लागि नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले भने, ‘म राम्रो काम गर्नेलाई सम्मान गर्छु, तर नराम्रो का गरेर , आवश्यक परे कठोर निर्णय लिन तयार छु ।’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे जानकारी दिनएका थिए । उनले पर्यटन बोर्डले सार्वजनिक-निजी साझेदारी मोडेलमार्फत अन्तरराष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारेको बताए ।  ‘सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजनाअनुसार अघि बढिरहेका छौं’ , सीइओ जोशीले भने । 

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण  गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् ।  धौलागिरि आरोहणका लागि दुई समुहका आठ  महिलासहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार  समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन् ।  धौलागिरि आरोहण अनुमतिबापत रु ७५ लाख ६४ हजार ६५० र अन्नपूर्णको आरोहण अनुमतिबाट रु एक करोड २० लाख ४९ हजार १७५ रोयल्टी प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिए । उनका अनुसार वसन्तयाममा अन्नपूर्ण धौलागिरिसहित हालसम्म १२ हिमाल आरोहण गर्न २४ समूहका १७० जनाले अनुमति लिँदा १० करोड ८७ लाख ३० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । दैनिकजसो आरोहण अनुमति लिनेहरुको सङ्ख्या थपिँदै गएको छ ।  गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन् । गत वर्षको वसन्त याममा धौलागिरि आरोहण गर्न दुई समूहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए । अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोहीको टोली पुगेर आरोहणको तयारी थालेको छ ।