विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए । उनले भने, 'विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ । अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।' नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ ।
दसैँमा पर्यटक भिसा खुला रहने
काठमाडौं । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।
पहिरो र सडक अवरुद्धले हवाई उडानमा चाप बढ्यो, दैनिक ३४० भन्दा बढी उडान सञ्चालन
काठमाडौं । बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ । प्रवक्ता शेर्पाले बिहीबारका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् । बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् । आज बिहानैदेखि मौसम अनुकूल रहेकाले धमाधम उडान भइरहेको उनले उल्लेख गरे । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ । उनका अनुसार बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्द गरिएको थियो । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो । निर्देशक जोशीले दशैंमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको जानकारी दिए । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताए । उनका अनुसार सडक आवागमन अवरुद्ध हुँदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ । हाल काठमाडौंबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौं फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ । श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी १ सय १० भन्दा बढी उडान भइरहेको छ । अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दशैं-तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने उल्लेख गरे । उनले हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यकातर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । काठमाडौंबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडककण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरोध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन/चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ । हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।