कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा १३ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकलाई विभिन्न पर्यटन सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले प्रदान गर्दै आएका केबलकार टिकट, स्काइ साइकलिङ, जिपलाइन टिकट तथा डाइभ–इन रेष्ट्रो सेवामा अधिकतम १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र बन्दिपुर केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका छन् । २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ३१७ एटिएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि सेवा विस्तार, सहकार्य र ग्राहक सुविधा थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ।

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाइने, डीपीआरका लागि ४० लाख रुपैयाँ

काठमाडौं । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ३ हजार २ सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू-आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ । टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिक स्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए । उनका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर-हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताए । हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्राडा जगन्नाथ रेग्मीले बताए ।  उनका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिक ग्रन्थहरूमा बताइएको छ । पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।  बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिमुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पक्षी अवलोकन गर्न पाइन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ ।

वालनटमा बिल तिर्दा नौलो अभ्यास सुरू, ६ नम्बर ल्याए २ हजारसम्मको खाना नि:शुल्क

काठमाडौं । वालनट बिस्ट्रो रेष्टुरेण्टमा खाजा वा खाना खाएर बील धेरै उठेको छ? अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ । अझ भनौँ २ हजार मात्र बील उठेको छ भने त सित्तैमा खान पाइनेछ । तर कसरी ? बील तिर्न काउण्टरमा जाँदा लक्की नम्बर छक्का (६) निकाल्नुहोस् । २ हजार रूपैयाँसम्मको भारी छुट पाउनु हुनेछ । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेण्टले सेवाग्राहीलाई लक्षित गरेर नौलो र रमाइलो खेल सुरूवात गरेको छ । खाना,खाजा तथा विभिन्न परिकारका खाना खाएको बिल तिर्न काउण्टरमा पुग्दा लक्की नम्बर छक्का निकालेमा २ हजारसम्मको छुट पाउने रेष्टुरेण्टका निर्देशक आकाश पौडेलले जानकारी दिए । ‘यो अफर दिउँसो २ बजेदेखि ६ बजेसम्म लागू हुन्छ। सामान्यतया यसलाई शान्त समयको रूपमा लिइन्छ,’ उनले भने,’ त्यसैले बिस्ट्रोले यो अफर ल्याएको हो, ताकि त्यतिखेर पनि ग्राहकको आवागमन बढोस भनेर हो।’ यो अफर २ हजार भन्दा कम बिल उठे पनि लागू हुने उनले जानकारी दिए । डाइस घोल्दा ६ नम्बर निस्केमा २ हजार भन्दा कमको बिल छ भने नि:शूल्क सेवा लिन पाइने उनको भनाइ छ । बिल तिर्दा ग्राहकलाई सम्झनलायक बनाउन, फरक अनुभव दिलाउन तथा रमाइलो खेल बनाउने उद्देश्यले यो नयाँ ट्रेण्ड चलाएको पौडेलले बताए । ‘रोल, इट, रीपीट, लक इज जस्ट अ रोल अवे’ स्लोगनसहित बिस्ट्रोले यो नौलो अभियान सुरू गरेको हो । बिस्ट्रोले आफ्ना ग्राहकहरूलाई जीवन्त बनाउन, रमाइलो र दोहोर्‍याएर आउन मन लागोस भनेर यो व्यवस्था सुरूवात गरेको उनले बताए । विशेष ह्यासट्याग प्रयोग गरेर, बिस्ट्रोले ग्राहकहरूलाई आफ्नो अनुभव सामाजिक सञ्जालमा शेयर गर्न प्रोत्साहनसेत गरेको छ । कसैले डाइस रोल गरेर निःशुल्क भोजन जित्यो भने रोचक अनुभव बन्ने उनले सुनाए । जसले गर्दा सामाजिक सञ्जालमा अनलाइनमा राम्रो चर्चा बटुल्छ र नयाँ ग्राहकहरूलाई पनि आकर्षित गर्ने उनको विश्वास छ । बिस्ट्रोले केहीसमय अघि ‘लिटल फ्री लाइब्रेरी’ अभियान पनि सुरु गरिसकेको छ । स्वादसँगै ज्ञान लिनेदिने नौलो अभ्यास सुरू गरिसकेको छ ।