इसेवाको ब्राण्ड प्रर्वद्धकको रूपमा रोहितकुमार पौडेलको निरन्तरता

काठमाडौं । इसेवाले आफ्नो ब्राण्ड प्रर्वद्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रर्वद्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । इसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रर्वद्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।  

डीआईटी सोलुसन र आदिम कलेजबीच सहकार्य हुने, विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउने

काठमाडौं । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डीआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच समझदारी भएको छ । दुईबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इन्टर्नशीप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारी भएको हो । शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले सहकार्य हुने भएको हो । दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् । डीआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन् । डीआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। समझदारीका मुख्य विशेषताहरू इन्टर्नशीप कार्यक्रम: विद्यार्थीहरूलाई संरचित इन्टर्नशीप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ । रोजगारीका अवसरहरू: योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ । विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ । सीप विकास: उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन् । ज्ञान साझेदारी: नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ । यो सहकार्यले विद्यार्थीहरूलाई के-के फाइदा ? प्रत्यक्ष परियोजनामा अनुभव उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर रोजगारीका लागि तयार हुने व्यावसायिक सीप

रिचार्ज कार्ड अभावको समस्या सुल्झिएको टेलिकमको दाबी

काठमाडौं । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा उक्त समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । हाल पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भईसकेको उल्लेख गरेको  छ । कम्पनीले केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको भन्दै उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत जिकिर गरेको छ । रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकहरुले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ते पे, ईसेवा, खल्ती र आइएमईपे लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको बताएको छ । रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।