आईटी उद्योग प्रवर्धनमा सरकारको दूरगामी कदमले उद्योगलाई अझै सशक्त बनाउने नासआईटीको विश्वास

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानुन संशोधन तथा सहजीकरणप्रति आभार व्यक्त गरेको छ । नासआईटीले आफ्नो पहल र नीतिगत वकालतको परिणामस्वरूप हालै सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको सुरुवात गरेको जनाएको छ । यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै ससक्त तथा विश्वव्यापी बनाउने विश्वास नासआईटीले लिएको छ । नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई सकारात्मक सन्देश जाने नासआईटीले जनाएकाे छ । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आईटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा सावित हुने विश्वास नासआईटीको छ । नासआईटीले सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जनाएकाे छ । नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानुन संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षासमेत गरेको छ । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्ने संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरूसँग सम्बन्धित कानुनी, नीतिगत र अन्य सामूहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । यस संस्थाले सूचना प्रविधि उद्योगको विकास र यसका माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत रहँदै आएको छ ।

चीन र एआई संघर्षको रिपोर्टपश्चात एप्पलको स्टक घट्यो

काठमाडौं । एप्पलको स्टक बिहीबार ४ प्रतिशतले घटेको छ । सन् २०२४ को अगस्ट ५ पछिको यो सबैभन्दा खराब दिन हो । चीनमा आईफोन बिक्रीमा कमी आएसँगै स्टक घटेको हो । बजार अनुसन्धान फर्म क्यानालिसको बिहीबारको रिपोर्टपछि स्टक घटेको हो । रिपोर्ट अनुसार एप्पलले चीनमा आईफोन बिक्रीमा गिरावटको सामना गरिरहेको छ । सन् २०२४ मा यसको वार्षिक बिक्री १७ प्रतिशतले घटेर कम्पनीलाई तेस्रो स्थानमा झार्‍यो । चीनमा भीभो र हुवावे पहिलो र दोस्रो स्थानमा छन् । विशेष गरी, डिसेम्बरमा चीनमा आईफोन बिक्रीमा १०-१२ प्रतिशत कमी आएको थियो । यस गिरावटको कारणहरूमा हुवावेजस्ता स्थानीय प्रतिस्पर्धीहरूको वृद्धि र आईफोन सिक्स्टीनमा कृत्रिम बाैद्धिकता (एआई) जस्ता सुविधाहरूको अभाव समावेश छन् । हुवावेले मेट सिक्सिज सिरिजको सफलतासँगै बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ । यसको परिणामस्वरूप एप्पलको सेयर मूल्यमा पनि असर पर्‍यो । एप्पलले चीनमा बिक्री बढाउन विभिन्न छुटहरू प्रदान गरिरहेको छ, जस्तै आईफोन सिक्सटिन मोडलहरूमा ५०० युआनसम्मको छुट। तर, विश्लेषकहरूका अनुसार एआई सुविधाहरूको अभावले आईफोनकाे मागमा वृद्धि गर्न सकेको छैन ।

माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५, प्रायोजक एवं स्टल बुकिङ खुला

फाइल तस्बिर । काठमाडौं । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ-नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिनेछ । क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ । सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनले बताइन्। प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । यसैबीच क्यान महासंघले क्यान इन्फोटेक २०२५ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विद्युत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाइलगायतका प्रस्तावहरू समेत आह्वानसमेत गरेको छ ।