क्यान इन्फोटेक मेला आजदेखि सुरु
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ गतेसम्म चल्ने छ । क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनि राखिएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।
फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि आह्वान गरिएको बताउँदै मन्त्री गुरुङले नआएको खण्डमा चल्न नदिने चेतावनी दिएका हुन् । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने उनको भनाइ छ । टिकटक मात्र नेपालमा दर्ता भएको र नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गरिरहेको गुरुङको भनाइ छ । सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताए । आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने उनले बताए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको उनले बताए । केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको उनको भनाइ छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए । देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने उनले बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनले बताए । जनताको अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको गुरुङले बताए । अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरुको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उनको भनाइ छ ।
दीर्घसेवा पदकमा ८६ तोला सुन र ४०२ तोला चाँदी, दोब्बर दिन मन्त्रीको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले दीर्घ सेवा पदक पाएका कर्मचारीहरूका लागि ८६ तोला बढी सुन खर्च गरेको छ । २१औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घसेवा पदक पाएका कर्मचारीहरूलाई ८६.१६ तोला सुन र ४०२ तोला चाँदी जडित पदक प्रदान गरेको हो । कुनै पनि कम्पनीमा २० वर्ष अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक दिने अभ्यास छ । सोहीअनुसार नेपाल टेलिकमको २१औं वार्षिकोत्सवका अवसरमा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीले दीर्घसेवा पदक पाएका हुन् । टेलिकमले दीर्घसेवा पदकसँगै ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदकसमेत प्रदान गरेको हो । पदक पाएका २०१ कर्मचारीलाई ५ ग्राम सुनले गणना गर्दा १ हजार ५ ग्राम सुन हुन आउँछ । एक तोला सुनकाे ११.६६३८ ग्राम सुन हुन्छ । यस आधारमा टेलिकमले २०१ पदकका लागि ८६.१६ तोला सुन खर्च गरेको हो । दीर्घसेवा पदक पाउनेहरूमा प्रबन्धक पददेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरू छन् । उनीहरूलाई एक महिना बराबरको तलबसमेत थपेर दिइएको छ । २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरूलाई दीर्घसेवा पदक वितरण गरिएको नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले बताए । उनका अनुसार पदकमा ५ ग्राम सुन र २ तोला चाँदी मिसिएको तक्मा र खाइपाइ आएको एक महिनाको तलब प्रदान गरिएको हो । ‘टेलिकमले २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई दीर्घसेवा पदकमा सुन र चाँदी जडित गरिएको हुन्छ । यो अभ्यास विगतदेखि नै हो । छुट्टै सुन र चाँदी दिइएको होइन,’ उनले भने, ‘पदक पाउनेमा १३३ जना काठमाडौंमा कार्यरत छन् भने बाँकी कर्मचारी जिल्लामा कार्यरत हुनुहुन्छ ।’ सञ्चार तथा सूचना प्रविमिन्त्री पृथ्वीसुब्बा गुरूङले राम्रो काम गर्ने कर्मचारीको पदकमा १० ग्राम सुन जडित गर्न थप निर्देशन दिए । ‘किन ५ ग्राम मात्रै सुन जडित गरेको ? राम्रो काम गर्ने कर्मचारीलाई अझै १० ग्राम सुन दिँदा पनि हुन्छ,’ मन्त्री गुरूङले कार्यक्रममा भने ।