फ्युचरामा २०२५ सम्पन्न : तीन दिनमा ३५ सय भन्दा बढी युवाको प्रविधि यात्रामा सहभागिता

काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा आयोजना गरेको तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ साउन २१ देखि २३ गतेसम्म कलेज परिसरमा सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधन मोडल, रोबोटिक सहायक, कृषक तथा विभिन्न एनिमेशन अनुभवहरूले दर्शकको विशेष ध्यान खिचे । साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला पनि आयोजना गरिएको थियो । मुख्य समन्वयकर्ता अनिशा आचार्यका अनुसार, फ्युचरामाले प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दै आत्मविश्वास, नवीनता र उद्यमशीलताको सोच विकास गर्न मद्दत पुर्‍याएको छ । कार्यक्रमको अन्तिम दिनमा ‘कफी रेभ’ आयोजना गरिएको थियो । तीन दिनको अवधिमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार, फ्युचरामा २०२५ अन्य प्रमुख शहरहरूमा पनि आयोजना गरिनेछ, जसले देशभरका युवामा प्रविधिप्रतिको सहभागिता र नवीनताको चेतना फैलाउने लक्ष्य राखेको छ ।

४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने कम्पनी एनभीडीयाले दिनदिनै नयाँ इतिहास बनाउँदै छ । ४ ट्रिलियन डलरको बजार पूँजीकरण (मार्केट क्याप) बनाई विश्वको पहिलो कम्पनी बनेपछि यस कम्पनीले अर्को नयाँ रेकर्ड कायम गरेको हो ।  अमेरिकाको एसएन्डपी ५०० इन्डेक्समा एनभीडीयाको हिस्सेदारी ८ प्रतिशत पुगेको छ । अमेरिकामा सन् १९८१ मा यस किसिमको रेकर्ड राख्न सुरु भएको थियो यद्यपि अहिलेसम्म कुनै कम्पनी यो स्तरमा पुग्न सकेको थिएनन् ।  जसरी एनभीडीयाको सेयर बढिरहेको छ त्यसले देखाउँछ कि आगामी दिनहरूमा यो कम्पनीले धेरै नयाँ रेकर्डहरू बनाउन सक्छ । एनभीडीयाको बजार पूँजीकरण अहिले ४.४५५ ट्रिलियन डलर पुगेको छ ।  अमेरिकाको इतिहासमा यसअघि केवल एक कम्पनी मात्र एसएन्डपी ५०० इन्डेक्समा ७ प्रतिशतभन्दा माथि पुगेको थियो । आइफोन बनाउने कम्पनी एप्पलले सन् २०२३ मा यो उपलब्धि हासिल गरेको थियो ।  २००० को डट-कम बबलको समयमा समेत कुनै कम्पनीले यसरी एसएन्डपी ५०० इन्डेक्समा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । सन् १९९९ मा माइक्रोसफ्टको र सन् २००० मा जनरल इलेक्ट्रिकको हिस्सेदारी ४ प्रतिशत थियो भने सन् १९८४ मा आईबीएमको हिस्सेदारी ६ प्रतिशत थियो । विशेषज्ञहरूका अनुसार अहिले विश्वमा एआई क्रान्तिको सुरुवात मात्र भएको छ । आगामी दिनहरूमा जसरी विश्वमा एआईको प्रयोग बढ्नेछ, त्यसैगरी एनभीडीया र चिप निर्माण गर्ने अन्य कम्पनीहरूको सेयरमा पनि तीव्र वृद्धि हुनेछ ।  विज्ञहरू आगामी दुई वर्षमा एनभीडीयाको सेयर ३०० डलरसम्म पुग्न सक्ने बताउँछन् । केही महिनामै कम्पनीको सेयरमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर थियो भने अहिले यो करिब १८३ डलरसम्म पुगेको छ । एनभीडीया सन् १९९३ मा अमेरिकामा स्थापना भएको एक प्रख्यात टेक कम्पनी हो जसको सुरुवाती उद्देश्य कम्प्युटर ग्राफिक्सका लागि उच्च प्रदर्शनका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गर्नु थियो ।  समयसँगै यसको प्रविधि केवल गेमिङ र ग्राफिक्ससम्म सीमित रहेन बरु वैज्ञानिक अनुसन्धान, डेटा सेन्टर, स्वचालित सवारीसाधन र हालको एआई क्रान्तिको मेरुदण्ड बन्न पुग्यो । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ हुन् । उनी कम्पनीका सह-संस्थापक पनि हुन् । उनले प्राविधिक क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् । सन् १९६३ मा ताइवानको ताइनानमा जन्मिएका हुआङ ९ वर्षको उमेरमा अमेरिका पुगेका थिए । बाल्यकालमा होटलमा वेटर र विद्यालयमा क्लीनरको काम गर्दै उनले पढाइ जारी राखे । उनले ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युत इन्जिनियरिङमा स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । सन् १९९३ मा क्रिस मलाचोव्स्की र कर्टिस प्राइमसँग मिलेर हुआङले एनभीडीया स्थापना गरेका थिए ।  प्रारम्भिक संघर्षपछि कम्पनीले सन् १९९९ मा ‘जिफोर्स २५६’  बजारमा ल्याउँदै जीपीयू प्रविधिमा क्रान्ति ल्याएको थियो । कालो लेदरको ज्याकेट लगाइ सार्वजनिक कार्यक्रममा उपस्थित हुने हुआङलाई उद्योग विश्लेषकहरूले ‘एआई युगको प्रमुख पात्र’ का रूपमा व्याख्या गर्छन् ।

मलेसियामा ५८ प्रतिशतले एआई प्रयोग गर्छन् किनमेलमा

काठमाडौं । मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धि मत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धि मत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो । आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा राम्रो निर्णय गर्न कृत्रिम बुद्धि मत्ताको प्रयोग गर्दै आएका छन् ।  सर्वेक्षणले  मलेसियामा ७१ प्रतिशत व्यक्तिहरूले भोजन, लुगा तथा अन्य सामानको विचार लिन कृत्रिम बुद्धि मत्ताले सहयोग गरेको देखाएको छ । यस्तै, ६९ प्रतिशतले आफूले नचिनेका नयाँ सामग्री र ब्रान्ड चिन्न यसले मद्दत गरेको बताएका छन् । त्यस्तै, १८ प्रतिशतले आफूले कल्पना गरेको उत्कृष्ट वस्तुको विचार कृत्रिम बुद्धि मत्ताबाट पाएको बताएका छन्। साथै, ६० प्रतिशतले भविष्यमा यस्ता उपकरणमार्फत सिधै सामान खरिद गर्न इच्छुक रहेको बताएका छन् । प्रतिवेदनमा भनिएको छ,“हामी अहिले सहज प्रविधिबाट बुद्धिमान प्रविधितर्फ जाँदैछौ । अबको समयमा कृत्रिम बुद्धिमत्ता व्यक्तिगत किनमेल सहायकका रूपमा कार्य गर्नेछ- जसले लुगा मिलाउने, नयाँ सामग्री देखाउने र व्यक्तिगत रूपमा सुझाव दिने कार्य गर्नेछ ।’