सूचना प्रविधि शिक्षामा सहकार्यका लागि क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटियु) बीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ। क्यान महासंघ नेपालको आईसीटी क्षेत्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय गैर(नाफामूलक संस्था हो भने लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालको बाँके जिल्ला, नेपालगञ्जमा अवस्थित एक सार्वजनिक प्राविधिक विश्वविद्यालय हो । दुवै संस्थाबीच भएको यो सम्झौता आईसीटी शिक्षामा नवप्रवर्तन, सीप विकास तथा उद्योग–शिक्षा सहकार्यलाई बल दिन साझा दृष्टिकोणमा आधारित छ । सहकार्यका प्रमुख क्षेत्रहरू : संयुक्त कार्यक्रम तथा कार्यक्रमहरूको आयोजना अन्तःशिक्षा (इन्टर्नसिप) र उद्योगसँगको सहकार्य अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य सूचना प्रविधि क्षेत्रमा नीतिगत पैरवी क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, 'एलटियुसँगको यो सहकार्य जरा तहमै सूचना प्रविधि प्रतिभाको विकास गर्न र नेपालमा एक सबल नवप्रवर्तन प्रणाली निर्माण गर्नको लागि महत्त्वपूर्ण चरण हो ।' यो समझदारीले शैक्षिक संस्था र उद्योगबीचको दूरी हटाउँदै आईसीटी क्षेत्रमा आवद्ध विद्यार्थी तथा स्नातकहरूलाई आवश्यक सीप र व्यावहारिक अनुभव प्रदान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। यसले नेपालको डिजिटल रुपान्तरण यात्रालाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सफाइमा नवप्रवर्तन : नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथनबाट उत्कृष्ट तीन टोली पुरस्कृत
काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथन काठमाडौंमा सम्पन्न भएको छ । एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । तीन उत्कृष्ट नवप्रवर्तन टोलीलाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको हो । फोहोर व्यवस्थापनमा प्रविधिमैत्री समाधान प्रस्तुत गर्ने युवाहरूको सृजनशीलता एकै थलोमा आएको थियो । ४०० भन्दा बढी आवेदनमध्येबाट छनौट गरिएका १३ उत्कृष्ट टोलीहरूले स्मार्ट सोलुसन्समार्फत फोहोरसँग जोडिएका सामाजिक, वातावरणीय र आर्थिक चुनौतीहरूको समाधान पेस गरे । ह्याकाथनको मुख्य उद्देश्य सर्कुलर इनोभेसनलाई प्रवद्र्धन गर्नु र स्थानीय समस्यामा आधारित व्यवहारिक समाधान पहिचान गर्नु थियो । प्रथम स्थान थापाथली क्याम्पसको टिम ‘ईकोलुप’ ले ओगट्न सफल भएको छ भने दोस्रो स्थान किङ्स कलेजको ‘फुलस्ट्याकजिरोवेस्ट’ले ओगट्यो । यसैगरी, तेस्रो स्थानमा काठमाडौं विश्वविद्यालयको टिम ‘सोर्स कोड’ रह्यो । ‍वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले समापन समारोहमा ह्याकाथनप्रति प्रशंसा गर्दै फोहोर व्यवस्थापन अब केवल वातावरणीय विषय नभई सामाजिक र आर्थिक अवसर पनि रहेको बताए । ह्याकाथनमा सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण, सामुदायिक कम्पोस्टिङ, पुनःप्रयोग प्रविधि र डेटा(ड्राइभन ट्र्याकिङ प्रणालीजस्ता विषयमा सशक्त प्रोटोटाइप प्रस्तुत गरेका थिए । विजेता तीन टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने एनसेलले जनाएको छ । साथै खालीसिसि, बुढानीलकण्ठ नगरपालिका र पाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा पाइलट योजनाहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ । गोल्यान समूहको सह–आयोजनामा सम्पन्न कार्यक्रममा प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, लगायतका संस्थाहरूले साथ दिएका थिए । एनसेल फाउन्डेसनले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै १ करोड ३० लाखभन्दा बढी नेपालीको जीवनमा प्रभाव पारेको छ।
स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफल गर्दै मेटा
काठमाडौं । मेटा प्लेटफर्म कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफलमा रहेको ब्लूमबर्ग न्यूजले आइतबार जनाएको छ । प्रतिवेदनअनुसार सम्झौताको सर्तहरूलाई अझै अन्तिम रूप दिइएको छैन र ती परिवर्तन हुनसक्ने सम्भावना छ । २०१६ मा स्थापना गरिएको स्केल एआई एउटा डेटा लेबलिङ स्टार्टअप हो, जसलाई एनभीडीया, अमेजन र मेटाजस्ता प्रविधि कम्पनीहरूले समर्थन गरेका छन् । करिब १४ अर्ब डलर मूल्यांकन गरिएको स्केल एआईले एआईसम्बन्धी जानकारी आदानप्रदान गर्न शोधकर्ताहरूका लागि प्लेटफर्म पनि प्रदान गर्छ, जसमा ९ हजारभन्दा बढी सहर र बस्तीका योगदानकर्ताहरू छन् ।